close

मोबाइल नम्बर सेभ नगरी ह्वाट्सएपमा मेसेज पठाउने तरिका

टेकपाना टेकपाना

असार १५, २०८१ १७:४

मोबाइल नम्बर सेभ नगरी ह्वाट्सएपमा मेसेज पठाउने तरिका

काठमाडौं । इन्टरनेटका कारण परम्परागत मोबाइल कलभन्दा पनि सामाजिक सञ्जाललाई धेरैले विकल्प बनाउने गरेका छन् । तिनैमध्येको एक चर्चित माध्यम हो, ह्वाट्सएप । यसमा तपाईंले दोस्रो प्रयोगकर्ताको मोबाइल नम्बरका आधारमा कुराकानी गर्न सक्नुहुन्छ । अर्थात् कुनै पनि नम्बर सेभ गरेर ह्वाट्सएपमा एक-अर्कासँग जोडिन सकिन्छ । 

अहिलेसम्म ह्वाट्सएपले फोन नम्बर सर्च गरेर सोझै मेसेज पठाउने विकल्प दिएको छैन । यसकारण कतिपय अवस्थामा मोबाइल नम्बर सेभ नगरी ह्वाट्सएपमा मेसेज पठाउनु झन्झटिलो लाग्न सक्छ । आज हामी फोनमा मोबाइल नम्बर सेभ नगरिकनै अन्य व्यक्तिलाई ह्वाट्सएपमा मेसेज पठाउने तरिकाबारे चर्चा गर्ने छौं:

१. क्यूआर प्रयोग गर्ने

ह्वाट्सएपले तपाईंलाई आफ्नो अकाउन्टको क्यूआर बनाउने विकल्प दिएको छ । यसकारण नम्बरमार्फत भन्दा पनि क्यूआर भए सजिलै मेसेज पठाउन सकिन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्: 

-ह्वाट्सएपमा लगइन गर्नुहोस् ।

 -आफ्नो प्रोफाइलमा जानुहोस् । त्यहाँ प्रोफाइलसँगै क्यूआरको विकल्प दिइएको हुन्छ । त्यसमा क्लिक गरेर तपाईंले आफ्नो ह्वाट्सएप अकाउन्टको क्यूआर बनाउन सक्नुहुन्छ । 

-अब तपाईंले अरु कसैको ह्वाट्सएप क्यूआर पाउनु भयो भने सँगै हुने 'स्क्यान कोड'मा ट्याप गर्न सक्नुहुन्छ । 

२. 'क्लिक टू च्याट' फिचर प्रयोग गर्ने 

मोबाइल नम्बर सेभ नगरी च्याट गर्नका लागि यो पनि निकै चर्चित विधि हो । तपाईंले कुनै व्यक्तिको नम्बर पाउनुभयो र ह्वाट्सएपमा कुरा गर्नुपर्ने भयो भने यस्तो अवस्थामा सेभ नगरी लिङ्क प्रयोग गरेर सोझै ह्वाट्सएपमार्फत कुरा गर्न सक्नुहुन्छ ।

-सबैभन्दा पहिले (wa.me/+ कन्ट्री कोड फोन नम्बर) यस्तो राखेर ब्राउजरमा सर्च गर्नुहोस् । उदाहरणका लागि (wa.me/+977974280****)

-यति गरेर ब्राउजरमा खोज्नुभयो भने ह्वाट्सएप खुल्छ र सोझै उक्त व्यक्तिसँग च्याट गर्न सकिन्छ ।

३. ह्वाट्सएप ग्रुपमा नम्बर खोज्ने 

अर्को विकल्प हो, ह्वाट्सएप ग्रुपमा उक्त नम्बर खोज्ने । यद्यपि यो फिचरले सधैंभर काम गर्दैन । तर मेसेज पठाउने व्यक्ति र तपाईं एउटै ग्रुपमा हुनुहुन्छ भने यो फिचरले काम गर्न सक्छ । 

यसका लागि कुनै ह्वाट्सएपमा ग्रुप गएर उक्त व्यक्तिको नम्बर फेला पार्नुहोस् । त्यसपछि नम्बरमा क्लिक गर्नुहोस् । यसो हुँदा पप-अप विन्डो खुल्छ । जसमा मेसेज पठाउने विकल्प दिइएको हुन्छ । 

४. थर्ड पार्टी एप प्रयोग गर्ने

थर्ड पार्टी एप प्रयोग गरेर पनि सेभ नगरेको नम्बरमा सोझै मेसेज पठाउन सकिन्छ । किनकि मोबाइलमा आउने डिफल्ट कन्ट्याक्टस् एपमा ह्वाट्सएपको विकल्प हुँदैन । 

यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

-प्ले स्टोरमा गएर ट्रु कलर एप डाउनलोड गर्नुहोस् ।

‍-डाउनलोड गरेर सबै सेटअप भइसकेपछि ह्वाट्सएपमा च्याट गर्न चाहेको व्यक्तिको नम्बर डायल गर्नुहोस् । र फोन लगाई काट्नुहोस् ।

-त्यसपछि सो नम्बरको छेउमा रहेको आइकनमा ट्याप गर्नुहोस् ।

-अनि, स्क्रोल गर्दै तल गएपछि ह्वाट्सएपको अप्सन देखिन्छ ।

-उक्त अप्सनमा ट्याप गरिसकेपछि सो कन्ट्याक्ट ह्वाट्सएपमा खुल्छ, जहाँबाट सहजै कुरा गर्न सकिन्छ ।

५. आफैंलाई मेसेज पठाउने

यो विधि अलि अनौठो सुनिएला । तर यो प्रभावकारी भने छ । आजभोलि ह्वाट्सएप आफैंलाई मेसेज पठाउन सकिन्छ । यही कुरालाई तपाईंले सदुपयोग गर्न सक्नुहुन्छ । 

-मेसेज पठाउनु पर्ने नम्बर आफैंलाई टेक्स्ट गर्नुहोस् । त्यति गरेपछि उक्त नम्बरमा क्लिक गरेर अन्य विकल्पमा जान सकिन्छ ।

-नम्बरमा क्लिक गरेपछि त्यहाँ भिडिओ कल गर्ने, अडिओ कल गर्ने र मेसेज पठाउन सकिने विकल्प आउँछ । 

-अब मेसेज पठाउने विकल्पमा ट्याप गर्नुहोस् ।

यसरी तपाईंले आफ्नो मोबाइल फोनमा सेभ नगरेका नम्बरमा पनि सजिलै ह्वाट्सएप मेसेज पठाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८१ १७:१८