close

टुरिस्टलाई कल गर्ने भन्दै ट्याक्सी चालकको मोबाइल चोरी त्यसैको खाताको पैसाले नाइट क्लबमा मोज

टेकपाना टेकपाना

असार १८, २०८१ ११:२२

टुरिस्टलाई कल गर्ने भन्दै ट्याक्सी चालकको मोबाइल चोरी त्यसैको खाताको पैसाले नाइट क्लबमा मोज

 

काठमाडौं । ट्याक्सी चालकसँग विभिन्न बाहानमा मोबाइल मागी चोरेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुलीका नवराज सुनुवार, बाजुराका सुसन थापा, उदयपुरका प्रमेश सुन्दास र सोलुखुम्बुका दोर्जी तामाङ रहेका छन् । चारै जनाको उमेर १९ वर्ष रहेको छ ।

प्रहरीका अनुसार आरोपित नवराज सुनुवार बाँकी तीन जनालाई लिएर पार्किङ गरिएका ट्याक्सी भएको स्थानमा जान्थे र चालक खोज्थे । “मेरो विदेशी टुरिस्टको लगेज ठमेल लैजानु पर्ने । त्यो विदेशी पाहुनालाई फोन गर्नुपर्ने छ,” ट्याक्सी चालकसँग केटाहरूको हुल सहित पुगेका नवराज सुनुवार ट्याक्सी चालकलाई भन्थे, “अङ्ग्रेजीमा कुरा गर्नुपर्छ । मेरो मोबाइल स्विच अफ भयो ।”

तपाईंलाई अङ्ग्रेजी भाषामा कुरा गर्न आउँदैन होला, तपाईंंको फोन मलाई दिनु भन्दै फोन माग्थे । र, फोन लिएर फरार हुन्थे । त्यसपछि मोबाइलमा भएका विभिन्न वालेट तथा बैंक अकाउन्टमा पहुँच बनाउँथे । त्यसपछि उक्त खाताहरूमा रहेको रकम आफूले चाहेको बैंक तथा वालेटमा ट्रान्सफर गर्थे ।

गिरोहका अर्का सदस्य आरोपित सिसन थापा चोरी गरेका ती स्मार्टफोन बेच्ने काम गर्थे । प्रमेश सुन्दासको काम नवराजसँगै फोन चोरी गर्न जाने थियो । यता अर्का व्यक्ति दोर्जी तामाङ भने फोन चोरेपछि लिएर फरार हुने काममा सहयोग गर्थे । यसरी जम्मा भएको रकमबाट विभिन्न पसलमा गई शपिङ गर्थे । र, नगद पनि निकाल्थे । यसरी प्राप्त रकम लिक्वेयर शप (मदिरा पाउने पसल) र नाइट क्लबमा खर्च गर्थे । 

यसरी फोन चोरिएको भन्दै विभिन्न ट्याक्सी चालकले उजुरी दिएपछि कार्यालयले अनुसन्धान थालेको थियो । त्यसपछि उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिबाट एउटा बाइक, १२ हजार रुपैयाँ नगद, १४ थान मोबाइल र लुगा कपडा बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ ११:३०