काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका प्रमुख नदीमा बाढी आएको छ भने नदी किनारका बस्तीहरूमा भेल पसेको छ । त्यसमाथि व्यवस्थित ढल नहुँदा सडकमा पनि पानी जमेको छ ।
यस्तोमा विद्युतीय सवारी साधन (ईभी) मालिकहरूलाई चिन्ता लाग्न सक्छ । किनकि सुरक्षा र गाडीबाट पाउने सुविधाका लागि वर्षा बाधक बन्न सक्छ । अझ सजिलो भाषामा भन्दा वर्षायाम ईभीलाई ख्याल गर्ने समय पनि हो । आज हामी वर्षाको समयमा ईभीको हेरचाह गर्ने केही तरिकाबारे जानकारी दिने छौं:
चार्जिङका सामग्रीलाई सुरक्षा गर्ने
वर्षाको समयमा चार्जिङ सामग्रीलाई सुक्खा राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । यदि तपाईंको घरमा आउटडोर अथवा वाल माउन्टेड चार्जिङ बक्स छ भने पानीबाट बचाउन प्लास्टिक लगायतका सामानले राम्ररी ढाक्नुहोस् । यदि पोर्टेबल चार्जर बोक्नुहुन्छ भने सकेसम्म त्यसलाई भिजाउनु हुन्न ।
ब्याट्रीको सुरक्षामा ध्यान दिने
ईभीको महत्त्वपूर्ण भाग हो, ब्याट्री । वर्षामा यसको विशेष सुरक्षा गर्नुपर्ने हुन्छ । तपाईं बाहिर कतै हुनुहुन्छ भने ब्याट्री प्याक र अन्य इलेक्ट्रिकल कनेक्सन सिल भए/नभएको निश्चित गर्नुहोस् । यदि गाडीमा कतै पानी चुहिएको वा समस्या देखिए तत्काल सर्भिस सेन्टरमा जानुपर्छ ।
गाडी सफा राख्ने
यो समयमा नचाहेर पनि गाडी चाँडै फोहोर हुन्छ । बाटोमा भएको हिलो लाग्ने, दाग लाग्ने हुन्छ । जसले तपाईंको गाडीलाई नराम्रो देखाउँछ । यसका साथै लामो समय सफा नगर्दा गाडीका अन्य भागमा समेत क्षति पुग्न सक्छ । यसकारण नियमित रूपमा गाडी सफा गर्नुहोस् ।
भित्री भाग जोगाउने
कहिलेकाहीँ सावधानी नअपनाउँदा पनि गाडी भित्र पानी छिर्न सक्छ । चाहे त्यो झ्यालको सिसा खुलेर होस्, अथवा सनरुफ खुलेर । यसले गाडी भित्रका इलेक्ट्रिक पार्टमा क्षति पुर्याउन सक्छ । यसकारण पानी छिर्न सक्ने भागलाई ठीक गरिहाल्नु पर्छ ।
सडकमा लानुअघि जाँच गर्ने
नेपालको सन्दर्भमा वर्षामा राम्रो बाटो अपेक्षा गर्नु बेकार नै हो । बरु तपाईंले गाडीलाई सडकमा लानुअघि निश्चित कुरा जाँच गर्नुपर्छ । जस्तो; टायरमा पर्याप्त हावा छ/छैन, पर्याप्त चार्ज छ/छैन, ब्रेकले राम्री काम गरेको छ/छैन आदि । यस्ता सामान्य कुराले तपाईंलाई ठूलो समस्याबाट बँचाउँछ । यसका साथै गाडीमा वाटरप्रुफ लुगा, चस्मा, बुट जस्ता अन्य आवश्यक सामग्री पनि \राख्न सक्नुहुन्छ ।
पानी जमेको भागबाट नकुदाउने
ईभीमा सेन्सेटिभ इलेक्ट्रिकल सिस्टम हुने गर्छ । यसकारण खाल्डाखुल्डीमा जमेका पानीमा गाडी पर्दा क्षति हुन सक्छ । विशेष गरी ब्याट्री प्याक र अन्य इलेक्ट्रिकल पार्टमा क्षति पुग्ने हुन्छ । त्यसो हुँदा पानी जमेका खाल्डाखुल्डीमा गाडी पार्नबाट सकेसम्म बचाउनु पर्छ ।
अहिलेका अधिकांश ईभीमा पानी र धुलोमैलोबाट बँच्न सक्ने गरी ब्याट्री राखिएको हुन्छ । सायद तपाईंले आईपी रेटिङ सुन्नु भएको हुन सक्छ । यो भनेको इलेक्ट्रिक सामग्रीलाई पानी र धुँलोमैलोबाट कति बचाउन सकिने गरी बनाइएको छ भनेर मापन गर्ने एउटा इकाइ हो । यसकारण ईभी किन्दा आईपी ६६ वा सोभन्दा माथि रेटिङ भएको किन्नु वर्षाका लागि उपयुक्त हुन सक्छ ।