close

यस्ता छन्, च्याटजीपीटी बनाउने अल्टम्यानले कम्पनी र समूह व्यवस्थापन गर्न दिएका सुझाव

टेकपाना टेकपाना

असार २२, २०८१ २१:४०

यस्ता छन्, च्याटजीपीटी बनाउने अल्टम्यानले कम्पनी र समूह व्यवस्थापन गर्न दिएका सुझाव

काठमाडौं । आर्टिफिसियल (एआई)को क्षेत्रमा अहिले सबैभन्दा चर्चित व्यक्ति हुन्, साम अल्टम्यान । उनी च्याटजीपीटी निर्माता ओपनएआईका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । कम्पनीबाट बोर्ड सदस्य समेत नरहने गरी निष्कासनमा परेका उनी पुन: सीईओको भूमिका फिर्ता भएका छन् । एउटा स्टार्टअप कम्पनीले जसरी विश्वमा तरङ्ग उत्पन्न ल्यायो, त्यसको भूमिकामा अल्टम्यान कतै न कतै थिए । उसले कम्पनी चलाउने तथा समूह व्यवस्थापनबारे केही सुझाव दिएका छन् । जुन यस्तो छ:

व्यक्ति व्यवस्थापन गर्दा सन्तुलन खोज्ने

अल्टम्यान सोच्छन् कि, मानिसहरूलाई उनीहरूले अपेक्षा गरेभन्दा बढी हासिल गर्न चुनौती दिनुपर्छ । तर उनीहरूलाई त्यति पनि चुनौती दिनुहुन्न ताकि उनीहरू कम्पनीबाट निस्किऊन् । त्यस्तै कर्मचारीहरूलाई राम्रोसँग काम गर्नबाट रोक्न कम्पनीको संरचना बाधक हुनुहुन्न भन्ने उनको विश्वास छ ।

आवश्यकता भन्दा बढी बैठक नगर्ने

आफूले बैठक वा सम्मेलनहरूमा बिताउने समय सीमित गर्ने गरेको अल्ट्म्यानले आफ्नो ब्लगमा लेखेका छन् । तर उनी नयाँ व्यक्ति अथवा विचारहरूसँग घुलमिल हुन पनि ठाउँ दिनु पर्ने बताउँछन् । उनका अनुसार एक घण्टाको बैठक सबैभन्दा नराम्रो समय हो । त्यसको साटो १५-२० मिनेटमा सकिने छोटो मीठो बैठक राम्रो हुने अथवा दुई घण्टा बढीको लामो गहिरो कुराकानी हुने बैठक राम्रो हुने बताएका थिए ।

छोटो र सारमा कुरा गर्ने

अल्टम्यान स्पष्ट र सङ्क्षिप्त कुराकानीमा जोड दिन्छन् । पाँच मिनेट लम्बेतान कुराकानी गर्नुको सट्टा ३० सेकेन्डमा सोही कुरा बुझाउनु ठूलो कुरा हुने उनको विश्वास छ । उनी आफूले ईमेल पनि छोटो तर स्पष्ट लेख्ने बताउँछन् ।

कामहरू सोच विचार गरेर सुम्पने

अरू कसैलाई कुनै पनि कामहरू चलाखीपूर्वक प्रत्यायोजन  गर्न अल्टम्यान सुझाउँछन् । आफूलाई मन नपर्ने कुरामा 'प्रोडक्टिभ' हुन नसक्ने कुरालाई सम्झाउँदै उनी अरूहरूलाई पनि त्यस्तै हुन सक्ने सतर्कता गराउँछन् । त्यस्तै रमाइलो लाग्ने काममा सबैले राम्रोसँग काम गर्ने बताउँदै अरूलाई काम दिँदा सोच विचार गरेर सुम्पनु पर्ने उनको सुझाव छ ।

महत्त्व अनुसार कामहरूलाई प्राथमिकता दिने

प्रभावकारी रूपमा काम गर्न प्राथमिकतामा जोड दिनुपर्ने अल्टम्यान बताउँछन् । उनी आफैं यसका लागि तीनवटा मुख्य विचार प्रयोग गर्ने गर्छन् । ती हुन्, १. महत्त्वपूर्ण काममा केन्द्रित हुने, २. कम महत्त्वका काममा समय बर्बाद नगर्ने र ३. कामको धेरै सूची बनाउने । यसरी काममा केन्द्रित भइरहन दैनिक, मासिक र वार्षिक कार्य सूची बनाउने उनको भनाइ छ । 

योग्य व्यक्ति छान्नुमा बढी समय खर्चने

अल्टम्यानका अनुसार कम्पनीले कर्मचारी नियुक्तिमा समय बिताउँदा लगानी सरह हुन्छ । क्षमतावान् र तीव्र सिक्ने इच्छाशक्ति भएका प्रतिभाशाली व्यक्तिहरू खोज्न समय खर्चनु पर्ने उनको सल्लाह छ । सीप भएर पनि खासै अवसर नपाएका व्यक्तिको खोजीमा आफू सधैं भइरहने उनको भनाइ छ ।

-बिजनेस इन्साडइरबाट

पछिल्लो अध्यावधिक: असार २३, २०८१ ९:२०