close

वायरलेस चार्जिङ प्रविधिले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

असार २४, २०८१ १०:३३

वायरलेस चार्जिङ प्रविधिले कसरी काम गर्छ ?

 

काठमाडौं । वायरलेस चार्ज अर्थात् तार नजोडी चार्ज गर्ने सुविधा । यसले डिभाइस अर्थात् उपकरणलाई पावर दिने पद्धतिलाई नै बदलिदिएको छ । घरमा होस् वा कारमा रहँदा नै किन नहोस्, तपाईंले केबुलबिनै विभिन्न ग्याजेट चार्ज गर्न सक्नुहुन्छ । पछिल्लो समय बजारमा आएका फ्ल्यागशिप फोन तथा स्मार्टवाचमा यस्तो सुविधा पाइन्छ । आज हामी वायरलेस चार्जिङले कसरी काम गर्छ भन्ने बारेमा बताउँदै छौं । 

 

वायरलेस चार्जिङले कसरी काम गर्छ ?

वायरलेस चार्जिङ दैनिक प्रयोगमा आउन थालेको दशक बढी भइसक्यो । तर पछिल्लो समय बजारमा आउने अधिकांश ग्याजेटले यसको सुविधा दिएकाले वायरलेस चार्जिङ जताततै देख्न थालिएको छ । यस प्रविधिको सहायताले डिभाइस चार्ज गर्न चार्जिङ स्यान्ड वा प्याडमा राखे मात्र पुग्छ । भौतिक केबुल खोजेर फोनमा कनेक्ट गरिरहनु पर्दैन । 

यो प्रविधिमा कपर क्वाइल (तामाको क्वाइल) प्रयोग गरिएको हुन्छ । चार्जिङ स्यान्ड वा प्याडमा ट्रान्समिटिङ क्वाइल (विद्युत् प्रसारण गर्न सक्ने क्वाइल) राखिएको हुन्छ भने डिभाइसमा उक्त चार्जलाई प्राप्त गर्न सक्ने क्वाइल राखिएको हुन्छ ।

जब चार्जिङ प्याड वा स्यान्डलाई विद्युत्‌को स्रोतमा जोडिन्छ, तब त्यहाँ ट्रान्समिटिङ फिल्ड (प्रसारण क्षेत्र) मार्फत इलेक्ट्रोम्याग्नेटिक फिल्ड  (विद्युत् चुम्बकीय क्षेत्र) उत्पन्न हुन्छ । सामान्य अर्थमा भन्नुपर्दा जब तपाईंले चार्जिङ स्यान्ड वा प्याड प्लगमा राख्नुहुन्छ त्यतिबेला त्यहाँ एक किसिमको अदृश्य शक्तिको क्षेत्र तयार हुन्छ । 

त्यो क्षेत्र भनेको एउटा पुल जस्तै हो । जसले विद्युत्‌को मुख्य स्रोतबाट ऊर्जा प्राप्त गर्छ र त्यहाँ वरिपरि विद्युत् चुम्बकीय क्षेत्र तयार पार्छ । उक्त विद्युत् चुम्बकीय क्षेत्रले तपाईंको डिभाइसमा हुने क्वाइलमा इलेक्ट्रिक करेन्ट  उत्पन्न गर्छ । यसैबाट फोनमा भएको ब्याट्री चार्ज हुन्छ ।

डिभाइस अनुसार त्यसभित्र राखिने क्वाइल फरक फरक हुन सक्छन् । स्मार्टफोनको सन्दर्भमा भने क्वाइल पछाडिपट्टि बीच भागमा राखिएको हुन्छ । स्मार्टवाचमा वाचफेसको पछाडि क्वाइल राखिएको हुन्छ । इयरबडमा भने तलपट्टि क्वाइल राखिएको हुन्छ । 

 

वायरलेस चार्जिङ प्रविधिका प्रकार

सामान्यतः इन्डक्टिभ (Inductive) र रेसोनेन्ट (Resonant) गरी दुई किसिमका वायेरलेस चार्जिङ प्रविधि प्रचलनमा छन् । इन्डक्टिभ चार्जिङका लागि चार्जर र डिभाइसलाई छुवाउनु पर्ने हुन्छ । अधिकांश वायेरलेस चार्जरले यही प्रविधि प्रयोग गरिरहेका छन् । त्यसैले तपाईंले यसका लागि डिभाइस चार्जिङ प्याड वा स्यान्डमा राख्नुपर्ने हुन्छ । 

रेसोनेन्ट चार्जिङ वायरलेस चार्जिङको अर्को प्रविधि हो, जहाँ चार्ज गर्नुपर्ने डिभाइस र चार्जरलाई एक आपसमा जोडिरहनु वा छुवाईरहनु पर्दैन । तर यसले निकै कम दूरीमा मात्र काम गर्छ । कोठाको एउटा कुनामा चार्जर राखेर अर्को कुनामा फोन कतै नजोडी जादुमय तरिकाले चार्ज भने हुँदैन । यसले केही सेन्टिमिटरको दूरीमा मात्र काम गर्न सक्छ ।

 

वायरलेस चार्जिङको स्ट्यान्डर्ड

तपाईं हामीले प्रयोग गर्ने वा देखिरहने इयरबडदेखि स्मार्टफोनसम्मका डिभाइसले वायरलेस चार्जिङ सपोर्ट गरिरहेका हुन्छन् । यद्यपि सबै डिभाइसले एउटै स्ट्यान्डर्ड वा मानकको वायरलेस चार्जिङ प्रयोग गर्छन् भन्ने हुँदैन । तपाईंले प्रयोग गर्ने डिभाइस कुन हो र कुन ब्रान्डको हो भन्ने विषयले चार्जरको स्ट्यान्डर्ड फरक पार्छ । यहाँ सबैभन्दा बढी प्रयोग हुने वायरलेस चार्जिङ स्ट्यान्डर्डको चर्चा गरिएको छ । 

 

१) क्यूआई वायरलेस चार्जिङ (Qi wireless Charging)

क्यूआई (जसलाई ची भनेर पनि उच्चारण गरिन्छ) वायरलेस चार्जिङ वायेलरलेस पावर कन्सोटियम (डब्लूपीसी) ले निर्माण गरेको हो । आजका दिनमा यो चार्जिङ स्ट्यान्डर्ड सबैभन्दा बढी प्रयोगमा आएको छ । विशेषगरी एप्पल, सामसङ, बेलकिन लगायतका ब्रान्डमा यही स्ट्यान्डर्ड प्रयोग हुँदै आएको छ । 

यो चार्जिङ स्ट्यान्डर्डको नयाँ पुस्तालाई कूआईटु भनिएको छ । यो सन् २०२४ मा सार्वजनिक गरिएको थियो । यस चार्जिङ प्रणालीमा विद्युत् पनि राखिएको छ । जसले गर्दा चार्जरको कार्यक्षमता बढी हुन्छ । क्यूआई र क्यूआई टु इन्डक्टिभ चार्जिङद्वारा सञ्चालित छन् । अर्थात् यस स्ट्यान्डर्डका डिभाइसलाई चार्ज गर्न स्यान्ड वा चार्जिङ प्याड चाहिन्छ । 

यी चार्जरले पाँचदेखि १५ वाटसम्म सपोर्ट गर्छन् । आजका दिनमा अनरको म्याजिक सिक्स प्रोले ६६ वाटसम्मको वायरलेस चार्जिङ सपोर्ट गर्ने बताइएको छ । पछिल्लो समय वायरलेस चार्जिङको क्षेत्रमा पनि तीब्र विकास भइरहेको छ । यसमा फास्ट चार्जिङका लागि पनि काम भइरहेका छन् ।

एप्पलले म्यागसेफ नामको क्यूआई चार्जिङको स्तरीय भर्सन ल्याएको छ । जसले क्यूआई टु जस्तै गरी काम गर्छ । एप्पलले सुरुआतमा म्याकबुक ल्यापटमा उपलब्ध गराउँदै आएको फिचर पछि आईफोनमा समेत उपलब्ध गराउन थाल्यो । वायरलेस चार्जिङको सुविधा पाउने पहिलो आईफोन आईफोन ८ हो । म्यागसेफ चार्जिङको सुविधा पाउने पहिलो आईफोन भने आईफोन १२ हो ।

 

२) पीएमए (पावरम्याट) वायरलेस चार्जिङ

पीएमए पावर म्याटर्स अलायन्सले तयार पारेको वायरलेस चार्जिङको अर्को स्ट्यान्डर्ड हो । यो पनि क्यूआई स्ट्यान्डर्ड जस्तै छ । जहाँ इन्डक्टिभ चार्जिङ प्रविधि प्रयोग भएको हुन्छ । तर यसमा प्रयोग हुने कम्युनिकेसन प्रोटोकल भने भिन्नै छ । क्यूआई चार्जिङ सपोर्ट गर्ने डिभाइस भने पावरम्याटमा चार्ज गर्न सकिंदैन । यस्तो चार्जिङ सिस्टम सार्वजनिक चार्जिङ स्टेसनमा राखिएको हुन्छ ।

 

३) एयरफ्युल वायरलेस चार्जिङ

सन् २०१५ मा पीएमए अलाइन्स फर वायरलेस पावर (A4WP) मा गाभिएर एयरफ्युल अलायन्स स्ट्यान्डर्ड बनेको थियो । यी दुई कम्पनीले रेडियो फ्रिक्वेन्सी र इलेक्ट्रोम्याग्नेटिक रेसोनेन्ट चार्जिङ प्रविधिलाई जोडेर नयाँ स्ट्यान्डर्डको चार्जिङ सिस्टम तयार पारेका थिए । यसले गर्दा प्रयोगकर्ताले फोन प्रयोग गरिरहँदा पनि वायरलेस चार्जिङ मार्फत फोन चार्ज भइरहने सुविधा पाए । 

 

वायरलेस चार्जिङका फाइदा र बेफाइदा 

वायरलेस चार्जिङ वर्षौंदेखि प्रयोमा आएको भए पनि तारयुक्त चार्जिङ प्रणालीको तुलनामा यसमा केही फाइदा र बेफाइदा छन् । जसको चर्चा तल गरिएको छ । 

 

सजिलो

वायरलेस चार्जिङ प्रणाली तारयुक्त चार्जरको तुलनामा निकै सहज हुन्छ । यसका लागि तपाईंले छुट्टै केबुल खोजिरहने झन्झट गर्नु पर्दैन । तपाईंले डिभाइस वायरलेस चार्जिङको स्यान्डमा राखिदिए पुग्छ । स्यान्ड वा चार्जिङ प्याडमा राख्ना साथ डिभाइस स्वतः चार्ज हुन थाल्छ । 

एउटै वायरलेस चार्जिङ स्यान्ड वा प्याडमा विभिन्न डिभाइस चार्ज गर्न सकिन्छ । उदाहरणका लागि एउटै स्यान्डमा फोन, स्मार्टवाच, इयरबड लगायतका डिभाइस सँगसँगै चार्ज गर्न सकिन्छ । यसले व्यवस्थित ढङ्गले डिभाइस चार्ज गर्न सघाउँछ । 

 

टिकाउ

वायरलेस चार्जिङमा वायर्ड चार्जिङ जस्तो केबुल लगाउने र निकाल्ने गरिरहन पर्दैन । तपाईंले स्यान्डमा डिभाइस राखिदिए मात्रै पनि चार्ज हुन थाल्छ । यसले गर्दा तपाईंको केबुल र डिभाइसको चार्जिङ पोर्ट पनि टिकाउ हुन्छ । तपाईंले वायरलेस चार्जिङको सुविधा नहुँदा तारवाला चार्जर प्रयोग गर्न सक्नुहुन्छ । दुवै सुविधा हुने भएकाले आवश्यकता अनुसार जुन उपयुक्त हुन्छ, त्यही प्रयोग गर्न सक्नुहुन्छ ।

 

तर चार्जिङ स्पिड कम

वायरलेस चार्जिङ प्रयोग गर्न निकै सजिलो हुने कुरामा कुनै दुई मत छैन । तर, यस मार्फत चार्ज गर्दा तारयुक्त चार्जरको तुलानामा बढी समय लाग्छ । अर्थात् वायरलेस चार्जको स्पिड कम हुन्छ । डिभाइसमा जति बढी क्वाइल भयो र चार्ज गर्दा स्यान्ड तथा फोनको अलाइन्मेन्ट मिल्यो, चार्ज त्यति नै फास्ट हुन्छ । तर, यसमा जति मिलाए पनि वायर्ड चार्जर जस्तो फास्ट भने हुँदैन ।

 

सहजता 

आजका दिनमा बजारमा उपलब्ध अधिकांश फ्ल्यागशिप डिभाइस वायरलेस चार्जिङ सपोर्ट गर्ने किसिमका हुन्छन् । इन्ट्री लेभलका डिभाइसमा भने परम्परागत चार्जर नै आवश्यक पर्छ । यदि तपाईंसँग सबै वायरलेस चार्जिङ सपोर्ट गर्ने डिभाइस छन् भने यो सहज नै हुन्छ । किनभने फरक फरक डिभाइका लागि फरक फरक चार्जर बोकिरहनु पर्दैन । तर, केही वायरलेस चार्जिङ सपोर्ट गर्ने र केही नगर्ने छन् भने त्यस्तोमा चाहिं बढी चार्जिङ सेटअप बोक्नुपर्ने झन्झट हुन्छ । 

 

वायरलेस चार्जर खरिद गर्दा के कुरा ध्यान दिने ?

यदि तपाईं वायरलेस चार्जर खरिद गर्दै हुनुहुन्छ भने तल उल्लेख गरिएका विषय ध्यान दिनुहोस् । 

१) चार्जिङ स्पिड

वायरलेस चार्जर फरक फटक क्षमताका हुन्छन् । जति बढी वाटको वायरलेस चार्जर प्रयोग गर्‍यो, त्यति नै चाँडो तपाईंको डिभाइस चार्ज हुन्छ । त्यसैले तपाईंले आफ्नो डिभाइसलाई उपयुक्त हुने सबैभन्दा बढी वाटको वायरलेस चार्जर खरिद गर्दा उपयुक्त हुन्छ । 

२) सबै डिभाइसलाई उपयुक्त हुने वायरलेस चार्जर खरिद गर्नुहोस्

तपाईंसँग वायरलेस चार्जिङ सपोर्ट गर्ने विभिन्न डिभाइस हुन सक्छन् । त्यसैले चार्जर खरिद गर्दा सबै डिभाइसलाई उपयुक्त हुने किसिमको चार्जर खरिद गर्ने कुरामा ध्यान दिनुहोस् । 

३) डिजाइन

केही प्राविधिक स्पेसिफिकेसन त छँदैछन् । त्यसका साथै डिजाइन पनि महत्त्वपूर्ण पक्ष हो । तपाईंले खरिद गर्ने चार्जरको डिजाइन आफूलाई उपयुक्त हुने किसिमको छ कि छैन भन्ने कुरा समेत सुनिश्चित गरेर खरिद गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असार २४, २०८१ १०:३३