काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (न्यास-आईटी) बिच दिगो साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र न्यास-आईटीको तर्फबाट कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र न्यास-आईटीका अध्यक्ष रिचन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
राज्यको प्राथमिकतामा रहेको यो क्षेत्र अर्थतन्त्रको संवाहकको रूपमा रहेको र ग्लोबल आईएमई बैंक पनि राज्य प्रति उत्तरदायी संस्थाको रूपमा रहेकाले यो सम्झौता अघि बढेको उल्लेख छ ।
दुई संस्थाबिच भएको यो दिगो साझेदारी अन्तर्गत ग्लोबल आइएमई बैंकले न्यास-आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने छ ।
साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरू आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरू पनि अगाडि बढाइने उल्लेख छ ।
ग्लोबल आइएमई बैंक न्यास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार समेत बनेको छ ।
बैंक र न्यास-आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअप तथा साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकास प्रवर्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गरिने बताइएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले त्यसै अनुरूप बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा चर्चा गरे ।
यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गो साबित हुने पोखरेलको विश्वास छ ।
७७ जिल्लाका ३५४ ओटा शाखा कार्यालयबाट भौतिक रूपमा बैंकिङ सुविधा दिंदै आएको ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल युनिभर्स जस्ता प्लेटफर्मले आफ्नो पहुँच थप विस्तार गरेको छ ।
यो बैंकमा प्रत्यक्ष रूपमा ४८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सुविधा प्राप्त गर्दै आएका छन् । त्यसलाई बैंकले सूचना र प्रविधि क्षेत्रमा गरेको लगानी, नवीनतम प्रविधिमा आधारित सेवा तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रूपमा समेत लिन सकिन्छ ।