close

टिकटकले किन हटायो दुई करोड बढी पाकिस्तानी भिडिओ ?

टेकपाना टेकपाना

असार २५, २०८१ १२:५७

टिकटकले किन हटायो दुई करोड बढी पाकिस्तानी भिडिओ ?

काठमाडौं । कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेको भन्दै टिकटकले पाकिस्तानका दुई करोडभन्दा बढी भिडिओ क्लिप हटाएको छ । कम्पनीको सन् २०२४ को पहिलो त्रैमासिक (जनवरी-मार्च) प्रतिवेदन अनुसार टिकटकले दुई करोड दुई लाख पाकिस्तानी भिडिओ सामग्री हटाएको हो ।

कम्पनीका अनुसार यो अवधिमा विश्वभर छ करोड ६९ लाख ९७ हजार ३०७ भिडिओ हटाइएको छ । एआरवाई न्युजका अनुसार टिकटकले स्वचालित पहिचान प्रविधि प्रयोग गरी अधिकांश भिडिओ हटाएको थियो । 

टिकटकले पहिलो पटक आफ्ना सुरक्षा टुलद्वारा हटाइएका र फिल्टर गरिएका कमेन्टहरूको सङ्ख्या पनि खुलासा गरेको छ । जसमा २०२४ को पहिलो त्रैमासिकमा नौ अर्ब ७६ करोड बढी कमेन्टहरू हटाइएको वा फिल्टर गरिएको उल्लेख छ ।

यसका अलावा टिकटकले स्वचालित स्पाम कन्टेन्ट रोक्न विभिन्न कदम पनि चालेको छ । यस अन्तर्गत नियमन उल्लङ्घन गर्ने ९४ प्रतिशत भिडिओ सामग्री एक दिनभित्रै हटाइने कम्पनीले जनाएको छ । यसका साथै, टिकटकले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको अकाउन्ट हटाउने नीति ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८१ १३:९