काठमाडौं । हामीले दैनिक प्रयोग गर्ने अधिकांश ग्याजेटमा लिथियम आयन ब्याट्री राखिएको छ । सामान्य इयरबडदेखि विद्युतीय सवारी साधनसम्म लिथियम आयन ब्याट्रीको प्रयोग बढ्दो छ । यो ब्याट्री पुनः चार्ज गर्न सकिने र लामो समयसम्म प्रयोग गर्न मिल्ने भएकाले पनि बढी उपयोगी मानिन्छ ।
त्यही ब्याट्रीमा प्रयोग हुने रसायन भने प्रदूषित माटो र पानीको कारण बनेको एक अध्ययनले देखाएको छ । कतिपय लिथियम आयन ब्याट्रीमा पीएफएएस केमिकल वा पर-एन्ड पोलिफ्लुरोअल्कायल (Per-and polyfluoroalkyl) पदार्थ प्रयोग गरिएको हुन्छ ।
यो पदार्थले गर्दा ब्याट्री कम ज्वलनशील हुन्छ । त्यसका साथै यो पदार्थले विद्युत सही ढङ्गले प्रवाह गर्न सक्छ । फ्रान्स, बेल्जियम र अमेरिकाको ब्याट्री प्लान्ट भएका ठाउँको हावा, पानी, माटो, सेडिमेन्टको नमुनामा पीएफएस पदार्थ बढी भएको विभिन्न अध्ययनले देखाएका छन् ।
पीएफएएसलाई ‘फरेभर केमिकल’ भन्ने गरिन्छ । यो विशेषगरी वातावरण, मानिस र जनावरमा सजिलै मिसिन सक्ने र टुक्रिन हजारौं वर्ष लाग्ने भएकाले पनि यसलाई फरेभर केमिकल भनिएको हो । यो पदार्थ वातावरणमा बढी भेटिनु भनेको स्वास्थ्यमा गम्भीर किसिमका समस्या देखिनु हो । विशेषगरी कलेजो खराब हुने, कोलेस्टेरोल बढ्ने, बच्चाको तौल कम हुने र मृगौलासम्बन्धी रोगको जोखिम बढ्ने वैज्ञानिकको निष्कर्ष छ ।
जलवायु परिवर्तनसँग लड्न वैकल्पिक ऊर्जा र विद्युतीय सवारीलाई अपनाउनु धेरै महत्त्वपूर्ण विषय हो । तर त्यसका पनि आफ्ना छुट्टै चुनौती छन् । यसका चुनौतीबारे विस्तृत अध्ययन तथा अनुसन्धान हुन बाँकी नै रहेको वैज्ञानिकको तर्क छ ।
लिथियम आयनको ब्याट्री निर्माण गर्नका लागि लिथियम पदार्थ उत्खनन् गर्नुपर्ने हुन्छ । त्यसबाहेक वैकल्पिक ऊर्जाका अन्य स्रोत जस्तै सोलर प्यानल, वाइन्ड टर्बाइन आदिमा विभिन्न पदार्थ प्रयोग गरिएको हुन्छ । ती पदार्थ पनि वातावरणका लागि हानिकारक हुन्छन् ।
वैज्ञानिकको नयाँ अध्ययनले भने लिथियम आयन ब्याट्रीमा प्रयोग हुने पीएफएएस पदार्थ वातावरण प्रदूषणको मुख्य कारण बनेको देखाएको हो ।
लिथियम आयन ब्याट्रीको प्रयोग बढ्दै गएको अवस्थामा यो विश्वव्यापी चिन्ताको मुद्दा भएको अनुसन्धानकर्ताले जनाएका छन् । पछिल्लो समय युरोप र चिनियाँ पानीमा पनि पीएफएएस केही मात्रामा देखिन थालेकाले यसले निम्त्याउने प्रदूषण यकिनका साथ भन्न नसकिएको उनीहरूको भनाइ छ ।