काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजमा बीई आईटी (इन्फर्मेसन टेक्नोलोजी) अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले ब्लकचेनमा आधारित नो योर कस्टमर (केवाईसी) प्रमाणीकरण गर्ने प्रणाली तयार पारेका छन् ।
विद्यार्थीहरू प्रणव आचार्य, सरिता विष्ट र युनिल राज पौडेल ‘डिसेन्ट्रलाइज केवाईसी भेरिफिकेसन युजिङ ब्लकचेन’ नामको प्रविधि तयार पारेका हुन् । यस प्रणालीले संस्था अनुसार पालैपिच्छे केवाईसी प्रमाणित गर्नु पर्ने बाध्यता अन्त्य गर्ने उनीहरूको भनाइ छ ।
जसमा सफ्टवेयर विकास गर्ने जिम्मा प्रणवले लिएका छन् । युनिलले सर्भर र नेटवर्किङ तथा सरितालेब्लकचेनको पाटोबाट सम्हालिरहेकी छिन् ।
अहिले बैंक तथा वित्तीय संस्थामा कारोबारका लागि केवाईसी अनिवार्य छ । तर एक पटक एक ठाउँमा केवाईसी प्रमाणीकरण गरेपनि अर्को ठाउँमा काम लाग्दैन । यो परियोजनाको विचार पनि सोही समस्याबाट आएको उनीहरू बताउँछन् ।
उनीहरू तीनै जना चार वर्षे स्नातक तहको अन्तिम चरणमा छन् । अनि समस्या पहिचान भएपछि राम्रै परियोजनामा काम गरौं भनेर आफूहरू यस प्रणाली तयार पार्न लागिरहेको उनीहरूको भनाइ छ । हाल कलेज परियाेजनाका रूपमा अगाडि बढेपनि यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना रहेको प्रणवले सुनाए ।
केवाईसीका लागि सबैजसो डेटा एउटै हुन्छन् । तर हरेक वित्तीय संस्थासँग कारोबार गर्दा पुन: केवाईसी प्रमाणीकरण गरिरहनु पर्छ । अर्कोतर्फ वित्तीय संस्थाहरूले पनि उही डेटा लिएर म्यानुअल्ली प्रमाणित गर्नुपर्ने बाध्यता छ । त्यसमाथि केवाईसी प्रमाणीकरण गर्न हरेक संस्थाले आ-आफ्नै मापदण्ड बनाउँदा ग्राहक मर्कामा पर्छन् । यही समस्याको समाधान आफूहरूको परियोजना भएको प्रणव बताउँछन् ।
कसरी काम गर्छ यस प्रणालीले ?
यसका लागि विद्यार्थीहरूले ग्राहक र बैंकलाई छुट्टाछुट्टै प्रणाली तयार गरिदिएका छन् । ग्राहकका लागि केवाईसी भर्न लगइन पेज हुन्छ ।
त्यसमा ग्राहकले आवश्यक विवरण भर्छ । त्यसपछि फारामको अन्तिममा कुन बैंकलाई विवरण पठाउने भन्ने विकल्प हुन्छ । त्यसमा बैंक छनोट गरेपछि प्रयोगकर्ताले विवरण सेभ गरेर पठाइदिन्छ ।
उसै गरी बैंकको पनि उस्तै प्रकारको पोर्टल हुन्छ । जसमा ग्राहकले केवाईसी भरेर फाराम पठाउनासाथ देखा पर्छ । त्यहाँ बैंक प्रतिनिधिले फारामको अवस्था हेर्न, त्यसलाई प्रमाणीकरण गर्न र स्वीकृत गर्न सक्छन् ।
केवाईसी प्रमाणीकरण गर्न हरेक बैंकले आ-आफ्नै तरिका अपनाउन सक्छन् । सामान्यत: ग्राहकले उपलब्ध गराएको फोटो, नागरिकतामा भएको फोटो र फाराम भएको फोटोसँग मिल्छ मिल्दैन भन्ने कुरालाई आधार मानेर बैंकले केवाईसी प्रमाणीकरण गर्ने गर्छन् ।
यसरी बैंकको तर्फबाट ग्राहकको केवाईसी प्रमाणीकरण भइसकेपछि उक्त फाराम प्राइभेट रूपमा होस्ट गरिएको ब्लकचेन सर्भरमा जान्छ ।
त्यसक्रममा इन्टरप्रानेरी फाइल सिस्टम (आईपीएफएस) टेक्नोलोजी मार्फत ती डेटा डट जेसन फाइल बनेर ब्लकचेनमा भण्डारण हुन्छन् । यसरी ब्लकचेनको धेरै नोड्समा डेटा बसेपछि ग्राहकले ब्लकचेनको एउटा न्युमेरिक भ्यालु (ह्यास भ्यालु र आईपी एड्रेस) प्राप्त गर्छ ।
अब अर्को पटक कुनै बैंकमा पुन: केवाईसीको डेटा पठाउनु परे ग्राहकले उक्त न्युमेरिक भ्यालु पठाए पुग्छ ।
प्रणालीका फाइदा
यदि यो प्रणालीलाई वास्तविक रूपमा लागु गरे ग्राहक र बैंक दुवैको समय बचत हुने विद्यार्थीहरूको तर्क छ । आफ्नो डेटामाथि ग्राहकको नियन्त्रण हुने र उसले आफ्नो सिस्टममार्फत कुन संस्थालाई डेटा दिने/नदिने भन्ने निर्णय गर्न सक्ने प्रणवको भनाइ छ ।
त्यस्तै सबैभन्दा महत्त्वपूर्ण फाइदा सुरक्षा हुने उनी बताउँछन् । यसैका लागि ब्लकचेन प्रविधि प्रयोग गरिएको उनको भनाइ छ । यसका साथै केवाईसी भर्न, प्रमाणीकरण गर्न सहज र सरल हुने उनी सुनाउँछन् ।
चुनौती
अहिले उनीहरूले तयार पारेको यस पूरै प्रणालीको प्रोटोटाइप हो । सरल भाषामा भन्दा यो प्रणालीले कसरी केके काम गर्न सक्छ भनेर खेस्रा प्रणाली तयार पारेका हुन् ।
तर अबको चुनौती यो प्रणाली नेपाली बजारमा कतिको सुहाउँदो छ, बजारमा लान केके गर्नु पर्छ भन्ने विषय अध्ययनको विषय रहेको सरिता बताउँछिन् । यसका साथै प्रणाली वास्तविक रूपमा लागु गरिए चलाउन आर्थिक भार र प्राविधिक सीप चुनौती हुन सक्ने उनको भनाइ छ ।
“ब्लकचेन एक प्रकारको सर्भर नै हो । नयाँ प्रविधि पनि हो । यसैले कति लगानी गर्नु पर्छ, कति स्टोरेज चाहिन्छ भन्ने कुरा थाहा पाएपछि बल्ल यो प्रणालीलाई वास्तविक रूपमा चलाउन सकिन्छ,” उनी भन्छिन् ।