close

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमा लागेका सबै प्रतिबन्ध फुकुवा

टेकपाना टेकपाना

असार ३०, २०८१ १४:१८

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमा लागेका सबै प्रतिबन्ध फुकुवा

काठमाडौं । मेटाले अमेरिकाका  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक इन्स्टाग्राम अकाउन्टमाथि लगाएको सबै प्रतिबन्ध हटाएको छ । शुक्रबार ब्लग लेख्दै मेटाले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको दौडमा रहेका ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमा लागेका सबै प्रतिबन्ध हटाएको जानकारी दिएको हो ।

यससँगै ट्रम्पको अकाउन्टमा थप निगरानी नहुने मेटाले उल्लेख गरेको छ । 

ट्रम्पका पोस्टहरूले हिंसा भड्काउन सहयोग गरेको र सन् २०२० मा सम्पन्न अमेरिकी राष्ट्रपति चुनावको बारेमा गलत जानकारी फैलाएको भन्दै फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमाथि उनीमाथि प्रतिबन्ध लगाएका थिए ।

तर जनताले राजनीतिज्ञको कुरा सुन्न पाउने अधिकार हुनुपर्छ भन्दै मेटाले ट्रम्पमाथिको प्रतिबन्ध २०२३ मै हटाएको थियो । यद्यपि मेटाले उनका अकाउन्टमाथि निगरानी गरिरहेको थियो । 

मेटाको सामाजिक सञ्जालमा प्रतिबन्ध फुकुवा भएसँगै ट्रम्पले आफ्नो अकाउन्टमार्फत आफ्नो क्याम्पेनको सूचना, बाइडेन सरकारको आलोचना र मिम शेयर गर्दै आएका छन् ।

त्यस्तै मेटाबाहेक एक्स (साविकको ट्वीटर), स्न्यापच्याट र युट्युबमा समेत ट्रम्प प्रतिबन्धमा परेका थिए । अहिले युट्युब र एक्समा प्रतिबन्ध फुकुवा भइसकेको छ भने स्न्यापच्याटमा अझै कायम छ ।

ट्रम्पले आफैं ट्रुथ नामको सामाजिक सञ्जाल पनि चलाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८१ १५:५