close

व्यापार व्यवसाय बढाइदिने भन्दै तपाईंमाथि हुनसक्छ ईमेल स्क्याम, थाहा पाइराख्नुहोस् जोगिने उपाय

टेकपाना टेकपाना

असार ३१, २०८१ १९:१७

व्यापार व्यवसाय बढाइदिने भन्दै तपाईंमाथि हुनसक्छ ईमेल स्क्याम, थाहा पाइराख्नुहोस् जोगिने उपाय

काठमाडौं । सामाजिक सञ्जाल अकाउन्ट होस् अथवा ईमेल एड्रेस, यदि तपाईंले व्यापार व्यवसाय गर्ने सोचिरहनु भएको छ भने प्रशस्तै स्क्याम लिङ्क आउन सक्छन् । अझ त्यस्ता मेसेज बढी जसो ईमेलमा आउने गर्छन् । यो प्रक्रियालाई ‘बिजनेस ह्याक' गर्ने पनि भन्ने गरिन्छ ।  

अझैं पनि औपचारिक सन्देश पठाउने प्रमुख माध्यमको रूपमा ईमेललाई नै लिइन्छ । यसले गर्दा ह्याकरहरूले त्यस्ता स्क्याम लिङ्क सामाजिक सञ्जालको मेसेजमा भन्दा पनि मेलमा नै पठाउने गर्छन् । जसको शिकार सामान्य व्यापार व्यवसाय गरिरहेका व्यक्तिदेखि स्थापित कम्पनीसम्म हुने गरेका छन् ।

विशेष गरी पैसा लुट्न, महत्त्वपूर्ण सूचना तथा डेटा हात पार्न ह्याकरहरूले त्यस्ता स्क्याम लिङ्क पठाउने गर्छन् । यसका लागि ह्याकरहरूले विभिन्न जाल थाप्ने गर्छन् । जसलाई फिशिङ ईमेल पनि भन्न सकिन्छ । 

पछिल्लो समय ह्याकरहरूले फिशिङ लिङ्क पठाउने शैली पनि परिवर्तन गरेका छन् । यसका लागि व्यापार बढाउन सहकार्य गर्ने, लगानी गर्ने, कुनै वस्तु तथा सेवा खरिद गर्ने लगायतका बहाना बनाएका हुन्छन् । 

आज हामी स्क्याम ईमेल थाहा पाउने केही तरिका र अपनाउनु पर्ने सावधानी बारे चर्चा गर्दै छौं:

सङ्केतहरू हेर्ने  

अहिले साइबर अपराधीहरू निकै चलाख भइसकेका छन् । त्यसैले यो ईमेल साइबर अपराधीले नै पठाएको हो भनेर ठम्याउन हम्मे हम्मे नै पर्छ । यद्यपि कुनै ईमेल साइबर अपराधीले नै पठाएको हो भन्ने कुराको केही सङ्केत भने अनुमान गर्न सकिन्छ । बिजनेस आवर (१०-५) भन्दा अघि पछि ईमेल आउनु, अक्षरहरू अशुद्ध हुनु, पठाउनेको ईमेल एड्रेस र उत्तर दिने एड्रेस फरक हुनु, ईमेलमा शङ्कास्पद लिङ्क अथवा फाइल अट्याच हुनु त्यस्ता केही सङ्केतहरू हुन् ।

प्रत्यक्ष सम्पर्क गर्नु  

स्क्यामरहरूले फसाउन तपाईंले चिनेका व्यक्ति तथा ईमेल एड्रेसबाट तपाईंलाई ईमेल पठाउन सक्छन् । तर, त्यस पछाडि स्क्याम लिङ्क छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । यसैले गर्दा विश्वासिलो स्रोतबाट आएका ईमेलमा समेत आशङ्का गर्नुपर्ने हुन्छ । 

यदि तपाईंले त्यस्ता स्रोतबाट आएका ईमेलमा शङ्का गर्नु भयो भने अन्य माध्यमबाट सोझै सम्पर्क गर्नु उत्तम हुन्छ । तर आशङ्का लागेका ईमेलमा उत्तर फर्काउने अथवा उपलब्ध फोन नम्बरमा सम्पर्क गर्ने प्रयास नगर्नुहोस् । बरु त्यस्ता विश्वासिलो पात्रबाट आएका ईमेलसँग सम्बन्धित चिनेका व्यक्तिलाई सोझै सम्पर्क गर्नुहोस् । 

प्राविधिकसँग सम्पर्क गर्नु 

प्राविधिक सहयोगको नाममा हुने स्क्यामको सङ्ख्या निरन्तर बढिरहेको छ । यसका लागि स्क्यामरहरूले कम्पनीको आधिकारिक ईमेलमा मात्र नभएर कर्मचारीको ईमेल अथवा एसएमएसमा समेत स्क्याम लिङ्क पठाउन सक्छन् । यसले गर्दा थाहा नभएका स्रोतबाट तपाईंकोमा नसोचेको मेसेज आए कम्पनीको प्राविधिक टोलीसँग सम्पर्क गर्नु बुद्धिमानी हुन्छ ।

फोन कलमा पनि सतर्क हुने 

ईमेलसँगै स्क्यामरहरूले फोन कललाई पनि ह्याकिङको माध्यम बनाएका हुन्छन् । ठगी गर्ने उद्देश्यका साथ स्क्यामरहरूले तपाईंलाई कल गर्न सक्छन् । त्यसैले नचिनेका नम्बरबाट आउने कलमा तपाईं सधैं सतर्क हुनुपर्छ । अझ त्यस्ता फोन कलमा तपाईंसँग विभिन्न विवरण मागे त्यसलाई बेवास्ता गर्नु पर्ने हुन्छ ।

मल्टी फ्क्याटर राख्ने

अकाउन्टलाई अतिरिक्त सुरक्षा दिन मल्टिफ्याक्टर अथेन्टिकेसन महत्त्वपूर्ण मानिन्छ । यसो गर्दा लगइन गर्न कोड, पिन अथवा फिङ्गरप्रिन्टको आवश्यकता पर्छ । यसले स्क्यामरलाई तपाईंको अकाउन्ट हातमा लिन अझ बढी गाह्रो बनाउँछ । अझ तपाईंले पासकी जस्तो पासवर्ड विहीन विकल्प पनि अपनाउन सक्नुहुन्छ ।   

भुक्तानीको प्रक्रियामा कडाई गर्ने

स्क्यामरहरूको अन्तिम लक्ष्य भनेकै पैसा लुट्नु हो । यसका लागि उनीहरूले अनेकन् फण्डा गरिरहेका हुन्छन् । तर, उनीहरूको जालोबाट बच्ने एउटा तरिका हो, कम्पनीको भुक्तानी प्रक्रियालाई कडा बनाउने । 

तपाईंले कम्पनीको आर्थिक पाटो हेर्ने समूहलाई प्रत्येक कारोबार राम्रोसँग जाँच गर्न अथवा सुरक्षित र भरपर्दो माध्यममार्फत मात्र कारोबार गर्न सुझाउन सक्नुहुन्छ । किनकि आर्थिक पाटोमा तपाईं अथवा तपाईंको कम्पनीले बढी सतर्कता अपनाएको खण्डमा  स्क्याममा फस्ने सम्भावना निकै कम हुन्छ । 

बेवास्ता गर्ने र स्क्यामबाट बँच्ने 

स्क्यामबाट बच्ने सबैभन्दा सजिलो र भरपर्दो तरिका हो, बेवास्ता गर्नु । सित्तैमा ५०० डलर पाउने कुरालाई तपाईंले बेवास्ता गर्न सक्नुहुन्छ । किनकि सित्तैमा दिने भनेपछि त्यहाँ अनेकन् स्वार्थ हुन सक्छन् । त्यस्तै नचिनेको नम्बरबाट आएको कलमा तपाईंलाई व्यक्तिगत विवरण मागिन्छ भने त्यसलाई पनि बेवास्ता गर्न सक्नुहुन्छ । 

किन तपाईंले अनजान व्यक्तिलाई जानकारी दिने ? यसरी तपाईंले त्यस्ता ईमेल अथवा कललाई जति बेवास्ता गर्नुहुन्छ, त्यति नै स्क्याममा फस्ने सम्भावना कम हुन्छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८१ १९:२०