close

अब गुगल मेसेजबाटै एचडी फोटो पठाउन सकिने !

टेकपाना टेकपाना

साउन ३, २०८१ १४:५७

अब गुगल मेसेजबाटै एचडी फोटो पठाउन सकिने !

काठमाडौं । एप्पलले आईओएस १८ सँगै मेसेज एपमा आरसीएस (रिच कम्युनिकेसन सर्भिस) लागु गर्ने भएपछि ढिलोचाँडो एसएमएस विस्थापित हुने निश्चित छ । आरसीएसमा अन्य मेसेजिङ एप जस्तै ग्रुप च्याट गर्ने, मेसेज रियाक्ट गर्न मिल्ने, लोकेसन शेयर तथा मिडिया फाइल पठाउन सकिने फिचरहरू छन् ।

अहिले आरसीएसबाट फोटो पठाउँदा कम्प्रेस भएर जाने हुँदा त्यसको क्वालिटी घट्छ । यो समस्यालाई गुगलले छिट्टै समाधान गर्ने भएको छ । यसबाट खासरी २०४८ पिक्सेलभन्दा बढी लम्बाइको फोटो पठाउन सकिंदैन । पठाइसकेको फोटो पनि पछि घटेर १६०० पिक्सेल हुन्छ । त्यसबाहेक फोटोको डिटेल पनि हराइरहेको हुन्छ ।

एन्ड्रोइड अथोरिटीका अनुसार मेसेजिङ अनुभवलाई बढावा दिन कम्पनीले इमेज कम्प्रेसनलाई स्तरीय बनाउन काम गरिरहेको छ । एन्ड्रोइड अथोरिटीलाई प्राप्त गुगल मेसेजको एपीके भर्सनमा यो विषय उल्लेख छ ।

यसअन्तर्गत प्रयोगकर्ताले ८१९२ पिक्सेल लम्बाइ भएको फोटो पठाउन सक्नेछन् । यसरी फोटो पठाउँदा त्यसको कुनै क्वालिटी नघट्ने बताइएको छ । त्यसबाहेक अपडेटेड मेसेजिङ एपमा फोटो छिटो पठाउने अप्सन पनि उपलब्ध हुने बताइएको छ ।

त्यस्तै यसैमा आफूले पठाउन खोजेको फोटो २०४८ पिक्सेलमा कम्प्रेस गरेर पठाउन सकिने फिचर पनि उपलब्ध हुनेछ । यसले फोटोको क्वालिटी १० प्रतिशत जति घटाएर पठाउने बताइएको छ । यो फिचर आगामी अपडेटमा उपलब्ध हुने चर्चा छ । अहिले परीक्षणकै चरणमा भएकाले कहिले आउँछ भन्ने स्पष्ट छैन ।

 

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८१ १५:१