close

विकट र दुर्गम ठाउँमा स्याटलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै नेपाल टेलिकम

टेकपाना टेकपाना

साउन ५, २०८१ १८:२३

विकट र दुर्गम ठाउँमा स्याटलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न विकट तथा दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो ।

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन-चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय बासिन्दा सोनाम लामाले बताए । यो भन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५५ सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिब ६०० बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए ।

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो । यहाँ ६ महिनाभन्दा बढी समय हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब ३६०० मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपछी त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने टेलिकमले जनाएको छ ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुऱ्याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । 

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाइँकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।

कम्पनीले दार्चुलाको टिंकरमा गत २०८० असोज १६ गते देखि भीस्याट मार्फत जीएसएम सेवा सञ्चालन गरेको थियो । उत्तर पश्चिमको अन्तिम बस्ती मानिने व्यास गाउँपालिकामा रहेको टिंकर करिब ३७०० मिटर उचाइमा नेपाल, भारत र चीनको सीमानामा पर्छ ।

त्यसैगरी रसुवा जिल्लाको धार्मिक स्थल गोसाइँकुण्डमा २०८० भदौ १० देखि भीस्याट प्रविधि प्रयोग गरी स्याटलाइट लिंकमार्फत सेवा सञ्चालन गरिएको थियो । गोसाइँकुण्डमा जाने धार्मिक तीर्थालुहरुलाई लक्षित गरी सो सेवा सञ्चालन गरिएको हो । त्यसैगरी सङ्खुवासभाको किमाथांकामा २०६० साउन ५ देखि सेवा सञ्चालन गरिएको छ । ​भोटखोला गाउँपालिकामा सञ्चालित उक्त सेवावाट धेरै जनता लाभान्वित भएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले गत २०८० कात्तिक १७ पश्चात भूकम्प गएको समयमा जाजरकोटका भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै स्याटलाइट उपकरणमार्फत दुई टेलिसेन्टर स्थापना गरेको थियो । कम्पनीले हाल देशभरका विभिन्न दुर्गम र विकट स्थानमा भीस्याट टेलिसेन्टर साइट र जीएसएम भीस्याट व्याकहल साइट सञ्चालन गरिरहेको छ ।

अप्टिकल फाइबर र माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालन गर्न कठिन यी स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको हो । हाल देशका विभिन्न २४ स्थानमा भीस्याट टेलिसेन्टर सञ्चालित छन् भने विभिन्न ४९ स्थानमा भीस्याट व्याकहल मार्फत मोबाइल सेवा सञ्चालित छन् । भीस्याट टेलिसेन्टरमा टेलिफोन (भ्वाइस कल) गर्न र २५६ केबीपीएस गति सम्मको इन्टरनेट डेटा सेवा चलाउन सकिन्छ ।

स्रोत: नेपाल टेलिकम

हाल सोलुखुम्बुको बुलुङ, सिन्धुपाल्चोकको भोटेकोशी, दोलखाको गौरीशंकर, रसुवाको गोसाईकुण्ड, गोर्खाको चुमनुत्री, मनाङको टंकी मनाङ, नेस्याङ र धारापानी, म्याग्दीको अन्नपूर्ण, प्युठानको झिमरुक, हुम्लाको नाम्खा, डोल्पाको छाको ताङसोड र शे फोक्सुण्डो, दार्चुलाको अपि हिमाल र व्यासका विभिन्न २२ स्थानमा भीस्याटबाट सेवा सञ्चालनमा रहेका छन् । त्यसैगरी जाजरकोटमा इमर्जेन्सी अवस्थामा प्रयोग गर्न सकिने गरी दुई साइट स्थापना गरिएको छ ।

कम प्रतिफल आउने र तुलनात्मक रुपमा बढी लागत पर्ने स्थानमा नेपाल टेलिकमले नेपाली जनताको हितका लागि भीस्याट प्रविधिमार्फत दुरसञ्चार सेवा उपलब्ध गराइरहेको छ। भौगोलिक रुपमा कठिन स्थानमा अप्टिकल फाइबर र माइक्रोवेभ रेडियोबाट लिंक स्थापित गर्न समेत अप्ठेरो हुने यस्ता स्थानमा स्याटलाइट प्रविधिबाट नेपाल टेलिकमले सेवा उपलब्ध गराइरहेको छ।

पहिले धेरै स्थानमा भीस्याट मार्फत सेवा उपलब्ध भइरहेकोमा पछिल्लो समयमा ती साइटलाई सम्भव भए सम्म माइक्रोवेभ र अप्टिकल फाइबर मार्फत उच्च क्षमताको सेवा उपलव्ध गराएकाले साइटको संख्या घट्दै गएको हो ।

यसले गर्दा कतिपय स्वानमा भएका भीस्याट साइट समेत हाल माइक्रोवेभ र अप्टिकल फाइबरमार्फत प्रतिस्थापन भइसकेका छन् । आगामी दिनमा समेत क्रमशः यस्ता साइटलाई उच्च क्षमताको माइक्रोवेभ र अप्टिकल फाइबरमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिने कम्पनीको योजना छ ।

-नेपाल टेलिकमको न्युजलेटरबाट ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८१ १८:३५