काठमाडौं । साइबर आक्रमणका कारण बेलायती अस्पतालहरूमा रगतको चरम अभाव उत्पन्न भएको छ । बेलायती स्वास्थ्यकर्मीहरूका अनुसार गत जुनमा लण्डनका प्याथोलोजी सेवा प्रदायकहरूमाथि साइबर आक्रमण हुँदा रगतको आपूर्ति शृङ्खलामा अवरोध पुगेको बीबीसीले जनाएको छ ।
सामान्यतया, अस्पतालहरूले बिरामीहरूको रगतको समूह जाँच गर्ने गर्छन् । तर, साइबर आक्रमणपछि लण्डनका धेरैजसो प्रमुख अस्पतालहरूले ती जाँच चाँडो गर्न सकेका छैनन्, जसले गर्दा विशेषगरी युनिभर्सल रगत समूह ‘ओ’ नेगेटिभको अभाव हुन पुगेको हो ।
हाल बेलायतसँग मात्र दुई दिनलाई पुग्ने युनिभर्सल रगत भण्डार रहेको बताइएको छ, जुन सबै प्रकारका रगत समूह भएकालाई बिना स्वास्थ्य परीक्षण दिन सकिन्छ ।
सामान्य अवस्थामा युनिभर्सल रगतको कम्तीमा पनि छ दिनको भण्डार हुनु पर्ने बताइन्छ । अन्य रगत समूहहरूको पनि कम्तीमा तीनदेखि पाँच दिनसम्मको भण्डार हुनु पर्ने हो, तर ती पनि क्रमिक रूपमा घट्दै गइरहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
यसकारण बेलायतले अस्पतालहरूलाई आकस्मिक अवस्थामा बाहेक अन्य समयमा युनिभर्सल रगत प्रयोग नगर्न निर्देशन दिएको छ । साथै, नागरिकहरूलाई अझ बढी रगत दान गर्न आह्वान गरेको छ ।
विशेषगरी साइबर आक्रमणपछि रगत दान गर्न तयार भएका मानिसहरूले दिन सकिरहेका छन् । साथै, गर्मी मौसमका कारण रगत दिने अन्य दाताहरू पाउन हम्मे भएको, छुट्टी मनाउन मानिसहरू टाढा जाने लगायतका कारणले पनि रगत अभाव भएको बेलायती अस्पतालहरूले जनाएका छन् ।