close

मोबाइल तथा कम्प्युटरबाट कोपाइलट एआई प्रयोग गर्ने ५ स्मार्ट तरिका

टेकपाना टेकपाना

साउन १५, २०८१ १३:३४

मोबाइल तथा कम्प्युटरबाट कोपाइलट एआई प्रयोग गर्ने ५ स्मार्ट तरिका

काठमाडौं । हालका दिनमा एआई टुलले धेरै व्यक्तिलाई उत्पादनशील बनाउन भूमिका खेलेका छन् । विभिन्न कार्यका लागि विभिन्न एआई टुल उपलब्ध छन् । तिनीहरूमध्ये, माइक्रोसफ्टको स्वामित्वमा रहेको कोपाइलट एक प्रमुख टुल हो, जुन विन्डोज कम्प्युटर र मोबाइलमा सजिलै प्रयोग गर्न सकिन्छ ।

ओपनएआईको च्याटजीपीटीमा आधारित भए पनि कोपाइलटमा केही विशिष्ट फिचरहरू छन् । यहाँ कोपाइलटलाई स्मार्ट तरिकाले प्रयोग गर्न सकिने केही उपाय प्रस्तुत गरिएको छ:

१. कोपाइलट नोटबुक

यदि तपाईं लामो आकारको प्रोम्प्ट लेख्नुहुन्छ भने कोपाइलट नोटबुक नामक फिचर उपयोगी हुन्छ । किनकि यसले १८ हजार क्यारेक्टरसम्म सपोर्ट गर्छ । विशेषगरी लामो आकारका टेक्स्ट अथवा कोडहरू सिर्जना गर्नका लागि तपाईंले यसलाई प्रयोग गर्न सक्नुहुन्छ । यसको इन्टरफेस पनि निकै सामान्य छ ।

अहिलेलाई जम्मा दुई ओटा बक्स दिइएका छन् । एउटा प्रोम्प्टका लागि र अर्को जेनेरेट हुने कन्टेन्टका लागि । यसमा पहुँच पाउन तपाईंले कम्प्युटरमा कोपाइलटलाई फुल स्क्रिनमा खोल्नु पर्छ । त्यसपछि माथि दायाँ भागमा कोपाइलटसँगै नोटबुकको विकल्प देखिन्छ ।

२. रोयल्टी मुक्त तस्बिर बनाउने

माइक्रोसफ्ट कोपाइलटले टेक्स्ट र कोड सँगसँगै तस्बिर पनि तयार पार्न सक्छ । जुन ओपनएआईको ड्यालईबाट सञ्चालित छ । यसका लागि तपाईंले छुट्टै वेबसाइट खोलिरहनु पनि पर्दैन । 

कोपाइलटभित्रै सामान्य रूपमा प्रोम्प्ट लेखेर तपाईंले तस्विर तयार पार्न सक्नुहुन्छ । त्यसलाई केही सम्पादन गर्न आवश्यक ठान्नु भयो भने त्यसका लागि पनि विकल्प  दिइएको छ, जुन काम माइक्रोसफ्ट डिजाइनरबाट गर्न सकिन्छ । कोपाइलटले तयार पारेको तस्बिरमा क्लिक गर्नु भयो भने तपाईं सोझै माइक्रोसफ्ट डिजानइरमा पुग्नु हुनेछ ।

जसबाट कुनै फिल्टर राख्ने, कलर टोन मिलाउने, ब्याकग्राउन्ड हटाउने जस्ता काम गर्न सकिन्छ ।

३. प्लगइन प्रयोग गर्ने

माइक्रोसफ्टले कोपाइलटमा हालै थपेको फिचर हो, प्लगइन । यो भनेको अन्य एआई टुलहरूमा कोपाइलटबाटै पहुँच पाउनु हो । यी प्लगइन प्रयोग गर्दा नजिता सटीक पाउन सकिन्छ । 

यसका लागि तपाईंले कोपाइलटको इन्टरफेसमा  दायाँ भागतिर 'प्लगइन्स'को विकल्प देख्न सक्नुहुन्छ । जुन 'रिसेन्ट एक्टिभिटी'को छेवैमा छ ।

४. बोलेर निर्देशन दिने

​कोपाइलटमा टेक्स्ट तथा अडिओ दुवै माध्यमबाट इन्पुट दिन सकिन्छ । टाइप गरेर प्रोम्प्ट लेख्न झ्याउ लागे तपाईंले बोलेरै कोपाइटलाई निर्देशन दिन सक्नुहुन्छ । यसका लागि  प्रोम्प्ट लेख्ने बक्सको दायाँ भागमा माइक्रोफोनको चिन्ह दिइएको हुन्छ । 

त्यसमा क्लिक गरेर निर्देशन दिनु भयो भने कोपाइलटले पनि अडिओमा नै प्रतिक्रिया दिन्छ । 

५. इमेज सर्च गर्ने

सायद तपाईंलाई गुगल लेन्सबारे पक्कै थाहा छ । त्यसमा कुनै पनि फोटो राखेर इन्टरनेटमा सर्च गर्न सकिन्छ । ठ्याक्कै त्यस्तै नभए पनि माइक्रोसफ्टको कोपाइलटमा पनि तस्वीर राखेर सर्च गर्न सकिने फिचर उपलब्ध छ । 

अनि यसको सबैभन्दा राम्रो पक्ष कोपाइलटले दिने उत्तरहरूमा प्रतिप्रश्नहरू गर्न सकिने विकल्प हो । अर्को अर्थमा भन्नु पर्दा प्रयोगकर्ताले कोपाइलटलाई उस्तै प्रकारको तस्बिर बनाउने, इमेजमा भएको टेक्स्ट झिक्ने लगायत अन्य विभिन्न  काम पनि गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: साउन १५, २०८१ १३:५१