close

एलन मस्कको स्टारलिंकलाई टक्कर दिन चीनले सार्वजनिक गर्‍यो आफ्नै स्याटलाइट इन्टरनेट

टेकपाना टेकपाना

साउन २२, २०८१ २०:३६

एलन मस्कको स्टारलिंकलाई टक्कर दिन चीनले सार्वजनिक गर्‍यो आफ्नै स्याटलाइट इन्टरनेट

काठमाडौं । चीनले स्पेस एक्सको स्टारलिंकलाई टक्कर दिन मङ्गलबार आफ्नो स्याटलाइट नेटवर्कको पहिलो ब्याच सार्वजनिक गरेको छ । 'थाउजेन्ड सेल्ज' नाम दिइएको स्याटलाइटहरूको पुञ्ज अन्तर्गत लो-अर्थ अर्बिट (पृथ्वीको तल्लो कक्ष) का लागि १५ हजार भन्दा बढी स्याटलाइट रहने चीनले बताएको छ ।

जसले विश्वव्यापी इन्टरनेट पहुँच स्थापित गर्नेछन् । चाइनिज एकेडेमी अफ साइन्सका अनुसार लङ मार्च सिक्स ए क्यारियर रकेटले चीनको शाङ्सी प्रान्तको उत्तरमा रहेको ताइयुयान प्रक्षेपण केन्द्रबाट पहिलो चरणमा १८ ओटा स्याटलाइट लिएर अन्तरिक्षका लागि उडेको छ, जुन मिसन पूर्ण रूपमा सफल भएको बताइएको छ ।

चीनको सरकारी सञ्चार संस्था सीसीटीभीका अनुसार विश्वव्यापी इन्टरनेट नेटवर्क कभरेजको उद्देश्य अनुरूप सन् २०२५ सम्म पुञ्जको पहिलो चरणको काम सम्पन्न गर्न ६४८ स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गर्ने चीनको लक्ष्य छ । चीनको स्याटलाइट पुञ्ज लो-अर्थ अर्बिट अर्थात् लिओ (LEO) स्याटलाइटको समूहको नामले चिनिन्छ, जसको उद्देश्य इन्टरनेट पहुँच उपलब्ध गराउनु हो ।

अन्तरिक्षका लागि दुई ओटा चर्चित नाम हुन्; एलन मस्कको स्पेसएक्सले तैनाथ गरेको स्टारलिंक र युरोपियन फर्म ईयूटेलस्याटको स्वामित्वमा रहेको वनवेब । इन्टरनेटको पुञ्ज प्रक्षेपणबाट अन्तरिक्षमा चीनको ठूलो महत्त्वाकाङ्क्षालाई दर्साउँछ । प्रविधिमा रहेको दुई देशबीचको होड अनुरूप बेइजिङले यो क्षेत्रमा रहेको अमेरिकी दबदबालाई चुनौती दिएको छ ।

सन् २०२० मा चीनले अमेरिकी सरकारको स्वामित्वमा रहेको ग्लोबल पोजिसनिङ सिस्टम-जीपीएस (जुन विश्वव्यापी रूपमा धेरै मात्रामा प्रयोगमा छ) को प्रतिस्पर्धीको रूपमा स्याटलाइटको एउटा समूहको रूपमा बेइडु नेटवर्क तयार पारेको थियो । यसै वर्षको चीनले पठाएको चाङ ई-सिक्स चन्द्रमाको सुदूर भागबाट अन्वेषणका लागि पहिलो पटक नमुनाहरू लिन मङ्गलबार मात्रै पृथ्वीमा फर्कियो । बेइजिङले सन् २०३३ सम्म मङ्गल ग्रहमा चालक दल सहितको मिसन पठाउने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ २०:३६