काठमाडौं । ललितपुर जिल्लाका प्रहरी परिसर तथा मातहत कार्यालयहरूमा रहेका क्विक रेस्पोन्स टिम (क्यूआरटी) अब 'बडी वर्न क्यामेरा' सहित परिचालन हुने भएका छन् । क्यूआरटीलाई थप प्रविधिमैत्री बनाउने उद्देश्यसहित साउन २१ गतेदेखि यस किसिमको क्यामेरा प्रयोगमा ल्याइएको हो ।
बडी वर्न क्यामेरा प्रहरीको बर्दी वा हेलमेटमा राख्न मिल्ने सानाे क्यामेरा हो, जसले भिडिओ र अडिओ दुवै रेकर्ड गर्न सक्छ । यस्तो क्यामेराले घटनाहरूको तत्काल र पारदर्शी प्रमाण संकलन गर्ने ललितपुर परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।
सुवेदीका अनुसार घटनाको यथार्थ चित्रण गर्न बडी वर्न क्यामेरा प्रयोगमा ल्याइएको हो । यसबाहेक क्यूआरटीमा संलग्न प्रहरीहरू पक्राउका लागि आवश्यक पर्ने उपकरण तथा प्राथमिक उपचारका सामग्री सहितको परिचालित हुने उनले जनाए ।
यस पहलले ललितपुर प्रहरीलाई अत्याधुनिक उपकरणहरूसँग समायोजित गर्दै सुरक्षामा सुधार ल्याउने र नागरिकका आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे ।