close

आईओई निमित्त डिनको जिम्मेवारी अप्राविधिकलाई दिने निर्णय सच्याउन विद्यार्थी सङ्गठनको माग

टेकपाना टेकपाना

साउन २४, २०८१ १९:०

आईओई निमित्त डिनको जिम्मेवारी अप्राविधिकलाई दिने निर्णय सच्याउन विद्यार्थी सङ्गठनको माग

काठमाडौं । अप्राविधिकलाई त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको डिनको जिम्मेवारी दिएको भन्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठनले आपत्ति जनाएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले प्राविधिक क्षेत्रकै वरिष्ठ सहायक डिन हुँदाहुँदै पनि गैरप्राविधिक कनिष्ठ व्यक्तिलाई सहायक डिन नियुक्त गरिएको भन्दै निर्णय सच्याउन माग गरेको हो । 

प्रा. डा. शशीधरराम जोशीको चार वर्षे कार्यकाल सकिएसँगै त्रिवि कार्यकारीले मङ्गलबार प्रा. डा. विनोद भट्टराईलाई निमित्त डिनको जिम्मेवारी सुम्पिएको थियो । जोशी पनि सोही दिन डिनबाट बिदा भएका थिए । 

चार जना सहायक डिनमध्ये प्रा. डा. सुशील बज्राचार्य सबैभन्दा वरिष्ठ हुन् । यसअघि जोशीको अनुपस्थितिमा उनैले निमित्तको जिम्मेवारी सम्हाल्ने गरेका थिए । 

तर त्रिविका उपकुलपति प्राडा. केशरजङ्ग बरालले भने अहिले सबैभन्दा कान्छा सहायक डिन भट्टराईलाई निमित्तको जिम्मेवारी दिएका छन् । सामान्य प्रशासन हेर्ने सहायक डिन प्रा.डा. चिन्तामणि पोखरेल र परीक्षाका सहायक डिन प्रा.डा. सुरज लामिछाने समेत उनीभन्दा सिनियर हुन् । भट्टराई भने शैक्षिक प्रशासनको सहायक डिनको जिम्मेवारीमा थिए । 

अन्य तीनै जना इन्जिनियरिङ (प्राविधिक) सहायक डिनलाई पन्छाएर गैर इन्जिनियरिङ पृष्ठभूमि समेत भएका कनिष्ठ सहायक डिनलाई निमित्तको जिम्मेवारी दिने कार्यले आईओईलाई प्रतिगमनतर्फ धकेल्ने विद्यार्थी सङ्गठनको तर्क छ । 

“यस लापरबाहीको क्षतिपूरण गर्दै ४८ घण्टाभित्र नै प्राविधिक क्षेत्रको डिन नियुक्त गर्न जोडदार माग गर्दछौं,” अनेरास्ववियु अन्तर्गतको प्राविधिक विद्यार्थी सङ्घले आफ्नो विज्ञप्तिमा भनेको छ, “अन्यथा जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी पनि दिन चाहन्छौं ।”

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० मा सम्बन्धित क्षेत्रका शैक्षिक विशिष्टत प्राप्त प्राध्यापक वा सहप्राध्यापक मध्येबाट अध्ययन संस्थानको डिन नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८१ १९:०