काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो लगानीमा देशभर ६२ ओटा चार्जिङ स्टेसन स्थापना गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे जानकारी दिएका हुन् ।
विद्युत खपत बढाउन, विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफ्नै लगानीमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको उनले बताए । त्यस्तै निजी क्षेत्रले सञ्चालन गरिरहेको चार्जिङ स्टेसनको संख्या ४०० भन्दा बढी रहेको पनि उनले उल्लेख गरे ।
उनले देशमा पर्याप्त विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भइरहेको भनाइ राखे । साथै, भान्सामा विद्युतीय चुलोको प्रयोग बढ्दा पेट्रोलियम पदार्थको खपत घट्न र कार्बन उत्सर्जन कम गर्न सहयोग पुगेकाे उनले बताए ।