काठमाडौं । मान्छेकै जस्तो शैलीमा बोलेर कुरा गर्न सकिने च्याटजीपीटीको भ्वाइस फिचरमा प्रयोगकर्ता भावनात्मक रूपमा नजिकिन थालेको खुलेको छ । भ्वाइस फिचरमा भावनात्मक रूपमा नजिकिन थालेको भन्दै च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले प्रयोगकर्तालाई सचेत गराएको छ ।
कम्पनीले जुलाईमा जीपीटी फोरओ सार्वजनिक गरेको थियो । त्यसअघि च्याटजीपीटीमा भएको भ्वाइस फिचरले रोबोटको जस्तो शैलीमा कुरा गर्थ्यो । जुन त्यति अन्तर्क्रियात्मक थिएन । तर, नयाँ अपडेटमा कम्पनीले च्याटजीपीटीले बोल्दा आवाजमा भावना झुल्किने बनायो । अर्थात् त्यससँग भ्वाइसमा कुरा गर्दा वास्तविक मान्छेसँगै कुरा गरेको अनुभव दिन थाल्यो ।
नयाँ भ्वाइस फिचरले कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय पहिचान गर्न कम्पनीले ‘सिस्टम कार्ड’ को परीक्षण गरेको थियो । यसबाट थुप्रै जोखिम र सम्भावित खतराका सङ्केत बाहिर आएका छन् । खासगरी मनोवैज्ञानिक रूपमा प्रयोगकर्ता यसमा बढी नै निर्भर हुने जोखिम भएको कम्पनीले उल्लेख गरेको छ ।
च्याटजीपीटीका थुप्रै जोखिम छन् । विशेषगरी यो सामाजिक विषयवस्तुका सन्दर्भमा कुनै एउटा पक्षप्रति पूर्वाग्रही हुनसक्ने कम्पनीले उल्लेख गरेको छ । त्यस्तै कहिलेकाहीं भ्रामक वा गलत सूचना समेत दिन सक्ने जोखिम च्याटजीपीटीमा छ । कतिपय अवस्थामा एआईले रासायनिक र जैविक हतियारका रूपमा काम गर्नसक्ने भन्दै त्यतातिर पनि उत्तिकै जोखिम भएको कम्पनीले उल्लेख गरेको छ ।
उक्त डकुमेन्टमा कम्पनीले एआई मोडेललाई मान्छेलाई भ्रममा नपार्न वा नियमभन्दा बाहिर नजान कसरी काम गरिरहेको छ भन्ने पनि उल्लेख गरिएको छ । यस परीक्षणले एआईले सुरक्षित र इमानदार व्यवहार देखाएको सुनिश्चित गर्ने बताइएको छ ।
हगिङ फेस (कुनै व्यक्तिको तस्बिर साङ्केतिक रूपमा देखाउने प्रविधि) की नीति अनुसन्धानकर्ता लिसी एमी क्यापीले ओपनएआईको पारदर्शीताको तारिफ गरेकी छन् । कम्पनीले एआई मोडेललाई कसरी तालिम दिन्छ र त्यसको स्वामित्त्व कोसँग छ भन्ने विषयमा स्पष्ट जानकारी दिए अझ राम्रो हुने उनको भनाइ छ ।
च्याटजीपीटीमा भ्वाइस असिस्टेन्ट फिचर आएपछि प्रयोगकर्ताको सक्रियता बढ्दै गएको बताइएको छ । कम्पनीले भ्वाइस फिचरको डेमोका क्रममा नायिका स्कार्लेट जोहनसनको आवाज क्लोन गरेको भन्दै त्यसको चर्को आलोचना भएको थियो ।
ओपनएआईका प्रिपेडनेस हेड जोआकिन क्विनोनेरो क्यान्डेलाका अनुसार च्याटजीपीटीको भ्वाइसका थुप्रै फाइदाहरू छन् । उनका अनुसार अहिले कम्पनीले मानिसले एआईलाई मानिस जस्तै व्यवहार (एन्थ्रोपोमोर्फिजम) कसरी गरिरहेका छन् र भावनात्मक रूपमा कसरी नजिकिएका छन् भन्ने विषयमा गहिरो अध्ययन भइरहेको छ ।
अहिले बेटा टेस्टरमाझ यो मोडेल उपलब्ध भएको छ । कम्पनीले बेटा टेस्टरले भ्वाइस मोडसँग कसरी अन्तर्क्रिया गरिरहेका छन् र त्यसलाई अझ स्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषय अवलोकन गरिरहेका छ । प्रयोगकर्ताले भ्वाइस मोडले गलत व्यवहार गरोस् भन्नका लागि प्रयोगकर्ताले नयाँ तरिका (जेलब्रेकिङ) पत्ता लगाउन सक्ने जोखिम उत्तिकै भएको कम्पनीले उल्लेख गरेको छ ।