close

लामो नङ हुनेहरूलाई टाइपिङ गर्न सजिलो बनाउने टिप्पी टाइप

टेकपाना टेकपाना

साउन २८, २०८१ १७:३९

लामो नङ हुनेहरूलाई टाइपिङ गर्न सजिलो बनाउने टिप्पी टाइप

काठमाडौं । लामो नङ राख्नु कसै कसैका लागि शोखको विषय हुन सक्छ । तर, लामो नङले धेरै काम गर्न भने बाधा पुर्‍याइरहेको हुन्छ । उदाहरणका लागि, टाइपिङ । 

लामो नङ भएका व्यक्तिले तुलनात्मक रूपमा ढिलो टाइप गर्छन् । ‍अनि, उनीहरूले धेरै समयसम्म टाइप गरी रहन सक्दैनन् । 

चाहे स्मार्टफोनमा होस् अथवा भौतिक किबोर्डमा नै किन नहोस्, लामो नङ हुँदा टाइप गर्न असाध्यै गाह्रो हुने गर्छ । किनकि, टाइपिङ नङले गरिँदैन । औंलाको टुप्पो तिरको भागले गर्ने गरिन्छ । 

तर, लामो नङ हुँदा ‘कि’मा औँलाको भागले राम्रोसँग सम्पर्क बनाउन सक्दैन । अनि ‘कि’मा नङले थिच्दा नङ पनि त दुख्छ । 

 

स्रोतः टिप्पी टाइप

यो समस्याको समाधान टिप्पी टाइपले दिन सक्छ । मध्यमदेखि लामो नङ भएका व्यक्तिहरूका लागि टाइपिङ गर्न सजिलो बनाउने एक प्रकारको सिलिकन किबोर्ड कभर नै टिप्पी टाइप हो । यो किबोर्डलाई ढाक्ने खोल हो  । तर, पूरै किबोर्ड नै भने होइन । 

यसमा अलि उँचो खाले बेलनाकार ‘कि’हरू हुन्छन् । अग्ला र फराकिला ‘कि’ले नै लामो नङ भएका व्यक्तिहरूलाई स्वाभाविक रूपमा टाइपिङ गर्न सम्भव बनाउँछन् । किनकि यसबाट नङले नभइ औंलाको टुप्पोबाटै टाइप गर्न सकिन्छ ।

स्रोतः टिप्पी टाइप

 

यसबाट टाइप गर्दा दु:खाइ महसुस हुँदैन । अनि यदि तपाईंले सौन्दर्यका लागि नङमा खर्च गर्नु भएको छ, त्यसलाई पनि यसले जोगाइ दिन्छ । भन्नुको तात्पर्य, टाइपिङ गर्दा नङ भाँचिने समस्या भोग्न अथवा टाइप गर्न नङ नै काट्नु पर्दैन ।

तर, सुरुमा यस प्रकारको किबोर्डमा टाइप गर्न अलि अप्ठ्यारो हुने द भर्जकी पत्रकार भिक्टोरिया सङले बताएकी छिन् । उनका अनुसार ल्यापटपको किबोर्डभन्दा यसमा टाइप गर्न अलि बढी बल लगाउनु पर्ने हुन्छ । 

स्रोतः द भर्ज

यसमा सिलिन्डर आकारका ‘कि’हरू हुने भएकाले तिनलाई थिच्न थोरै मात्र ठाउँ दिइएको छ । किनकि सामान्यतः किबोर्डमा हुने ‘कि’को आकार वर्गाकार अथवा आयातकार हुने गर्छ । यद्यपि, लामो नङ भए पनि यसलाई प्रयोग गरेर टाइप गर्दा सकारात्मक नतिजा आफूले पाएको उनले उल्लेख गरेकी छिन् । 

त्यस्तै धेरै लामो लङ राख्ने व्यक्तिलाई भने टिप्पी टाइप पनि ठीक नहुने उनले जनाएकी छिन् । तर, औसत लम्बाइको नङ राख्ने व्यक्तिका लागि भने यो एउटा राम्रो विकल्प हुन सक्ने उनको भनाइ छ । यद्यपि, अहिले यो उत्पादन म्याकलाई मात्र हुने गरी बनाइएको छ । तर कम्पनीले भने लेनोभो, एचपी र डेलमा ठीक हुने गरी समेत टिप्पी टाइप बनाउने बताएको छ ।


 

पछिल्लो अध्यावधिक: साउन २८, २०८१ १७:३९