काठमाडौं । सरकारले सार्वजनिक बसमा सीसीटीभी र जीपीएस जडान गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्राचार गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
२८ असारमा नारायणगढ-मुग्लिन सडक खण्डको सिमताल पहाडमा लेदोसहितको पहिरो आएपछि दुई ओटा यात्रुसहितका बस त्रिशुलीमा बेपत्ता भएका थिए । सो घटनाको सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले सार्वजनिक यातायातमा सीसीटीभी र जीपीएस जडान गर्न निर्देशन दिएको हो ।
साथै, सवारीमा गति सीमित गर्ने डिभाइस राख्न पनि निर्देशन दिइएको छ ।
मन्त्रालयले सबै यात्रुलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गराउनुपर्ने र त्यसका लागि अनलाइन टिकट प्रणालीको विकास र कार्यान्वयन गर्न सुझाव दिएको छ ।