काठमाडौं । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा एक सरकारी कम्प्युटर अधिकृत विरुद्ध विशेष अदालतमा भष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मी विरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आरोपी रेग्मीले सेवाग्राहीबाट २० हजार रुपैयाँ लिएर सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्याएका थिए । उनले यसरी विवरण सच्याएको भिडिओ सञ्चारमाध्यममा समेत आएको थियो ।
यो विषयमा अख्तियारले अनुसन्धान गर्दा सेवाग्राहीले अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न चाहेको, तर त्यसका लागि प्रयोगात्मक परीक्षामा (इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टम) फेल भएको खुल्न आएको छ । सिस्टमबाट उक्त परीक्षा स्थिति सच्याउन रेग्मीले २० हजार घुस मागेको पुष्टि भएकाले उनी विरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
कम्प्युटर अधिकृत रेग्मी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग गरिएको छ ।