काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट डाउन भएको छ । अत्यधिक ट्राफिक (भिजिटर) आएसँगै पनिकाको वेबसाइट (tuexam.edu.np) दुई दिनयता बन्द भएको हो ।
अनपेक्षित रूपमा अत्यधिक ट्राफिक आउँदा वेबसाइटको सर्भरले धान्न नसकेको पनिकाका प्रशासन प्रमुख नविन्द्रप्रसाद भण्डारीले जानकारी दिए । उनले वेबसाइटमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए ।
पनिकाले ३० साउनमा व्यवस्थापन संकायतर्फको बीबीएस दोस्रो वर्षको नियमित तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।
त्यस्तै ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम)को तेस्रो सेमेस्टर, ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन इन फाइनान्स (बीबीएएफ)को पहिलो र तेस्रो सेमेस्टर, ब्याचलर अफ म्यानेजमेन्ट स्टडिज (बीएमएस)को पहिलो र तेस्रो सेमेस्टर, ब्याचलर अफ पब्लिक एड्मिनिस्ट्रेसन (बीपीए)को पहिलो सेमेस्टरको नतिजा पनि सार्वजनिक भएको थियो ।
तर नतिजा देखाउने त्रिविको वेबसाइट नै नचल्दा विद्यार्थीले यो सिस्टममार्फत नतिजा हेर्न पाएका छैनन् ।
“करिब ८० हजार बढी विद्यार्थीको नतिजा प्रकाशित भएको छ । यसले वेबसाइटको ट्राफिकलाई प्रभावित पारेको छ,” पनिकाका प्रशासन प्रमुख भण्डारीले भने, “यसबाहेक पनि अन्य समस्या छन् कि भनेर होस्टिङ प्रोभाइडर मर्कन्टाइल कम्युनिकेसन्स र यहाँ (पनिका)का कर्मचारीले काम गरिरहनु भएको छ ।”
वेबसाइटमा समस्या आएपनि विद्यार्थीले एसएमएस मार्फत परीक्षाफल हेर्न सक्नेछन् । यसअन्तर्गत बीबीएसका विद्यार्थीले फोरबीबीएस सिम्बोल नम्बर (जस्तै: 4BBS 1234567 ) टाइप गरी ३३६२४ मा एसएमएस पठाउनुपर्ने छ ।