close

के हो विन्डोज कम्प्युटरमा हुने फ्याट ३२, जसमा ३० वर्षपछि आउँदैछ बदलाव

टेकपाना टेकपाना

भदौ १, २०८१ १३:२८

के हो विन्डोज कम्प्युटरमा हुने फ्याट ३२, जसमा ३० वर्षपछि आउँदैछ बदलाव

काठमाडौं । अन्तत: माइक्रोसफ्टले विन्डोजमा भएको फ्याट ३२ (FAT32)को सीमा हटाउने भएको छ । माइक्रोसफ्टले यो परिवर्तन ३० वर्षपछि विन्डोज ११ मार्फत गर्न लागेको हो ।

फ्याट ३२ ले धेरै समयदेखि २ टेराबाइटसम्म सपोर्ट गर्ने भए पनि अहिलेसम्म माइक्रोसफ्टले केवल यसमा ३२ जीबीमात्र सपोर्ट दिएको थियो । माइक्रोसफ्टले त्यसैलाई परिवर्तन गर्न लागेको हो । यसर्थ फ्याट ३२ को स्टोरेज अब ३० वर्षपछि २ टेराबाइट पुग्नेछ ।

यसबारे माइक्रोसफ्टले एक ब्लगमार्फत आधिकारिक रूपमा जानकारी दिइसकेको छ । अब कमान्ड लाइन प्रयोग गरी डिस्क (कुनै पनि स्टोरेज डिस्क) फर्म्याट गर्दा फ्याट ३२ ले २ टेराबाइटसम्म सपोर्ट गर्छ । तर, माइक्रोसफ्टले अपडेट नगरेसम्म फर्म्याट बक्समा ३२ जीबी नै देखिने छ । 

अहिले भएको फ्याट ३२ को सीमा ३० वर्षअघि विन्डोज ९५ बनाउँदा नै तय गरिएको थियो । जसलाई विन्डोजका तत्कालीन डेभलपर डेभ प्लमरले बनाएका थिए । उनैले फर्म्याट डायलग पनि बनाएका थिए । 

प्लमरका अनुसार त्यसबेला ३२ जीबीको सीमा राख्नु आवश्यक निर्णय भएको उल्लेख गरेका छन् । तर लामो समयसम्म माइक्रोसफ्टले यसबारे केही पनि अपडेट नदिँदा कतिपयले कम्पनीले यो फिचर नै बिर्सेको भनेर व्यङ्ग्य गरेका थिए । 

किनकि यसअघिसम्म फ्याट ३२ क्रियट गर्न अन्य थर्ड पार्टी टुल प्रयोग गर्नु पर्ने हुन्थ्यो । जबकि माइक्रोसफ्टले फ्याट ३२ मा २ टेराबाइटसम्म पढ्न सक्ने क्षमता भने दिएकै थियो । अब भने विन्डोज ११ मा आउने नयाँ अपडेटमा क्रियट गर्न सक्ने क्षमता पनि माइक्रोसफ्टले बढाउने भएको हो । 

तर, फ्याट ३२, एक्सफ्याट (exFAT) जस्तो व्यापक प्रयोगमा भने छैन । तर कतिपय पुराना यूएसबी ड्राइभर अथवा एसडी कार्डमा भने फ्याट ३२ नै प्रयोग भइरहेका छन् । 

के हो फ्याट ३२ ?

फ्याट ३२ एक प्रकारको फाइल सिस्टम हो । विशेषगरी यूएसबी ड्राइभ अथवा एसडी कार्ड जस्ता स्टोरेज डिभाइसमा डेटा व्यवस्थित गरिराख्न फ्याट ३२ को प्रयोग हुने गर्छ । 

यसलाई पुरानो मध्येको एक फाइल सिस्टम भनिन्छ । जुनै अवस्थामा पनि तपाईंले आफ्नो कम्प्युटरमा भएका स्टोरेज डिभाइसमा कुनै पनि फाइलहरू सजिलै फेला पार्न सक्नुहुन्छ । त्यो मिलाउने काम नै फ्याट ३२ ले गर्ने गर्छ ।

पछिल्लो अध्यावधिक: भदौ १, २०८१ १३:३२