close

‘अनलाइन भुक्तानीमा अतिरिक्त शुल्क लगाउँदा डिजिटल सेवा महँगो भयो’

टेकपाना टेकपाना

भदौ ६, २०८१ १७:३७

‘अनलाइन भुक्तानीमा अतिरिक्त शुल्क लगाउँदा डिजिटल सेवा महँगो भयो’

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई भ्याट छुटको दायराबाट हटाउँदा सेवाग्राहीमाथि अतिरिक्त आर्थिक भार परेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), फोनपे लगायतका डिजिटल सेवा प्रदायकहरूलाई भ्याट छुटबाट हटाएपछि सेवाग्राहीका लागि डिजिटल सेवा महँगो भएको धारणा राखिन् ।

एनसीएचएलले कारोबारमा अधिकतम ८ रुपैयाँ शुल्कसहित १३ प्रतिशत भ्याट लगाउन थालेको उल्लेख गर्दै उनले यसबाट बैंक र उपभोक्ताहरूको लागत बढेको र डिजिटल कारोबार महँगो भएको भनाइ राखिन् ।

ईसेवा, खल्ती लगायतका डिजिटल वालेटहरूमा पनि अतिरिक्त शुल्क लगाइएपछि उपभोक्ताका लागि डिजिटल सेवा महँगो हुँदै गएको उनको धारणा छ । निःशुल्क हुने सरकारी लेनदेनहरूमा समेत भ्याट थपिएपछि सार्वजनिक सेवाको लागत बढेको उल्लेख गर्दै गौतमले डिजिटल कारोबारमा भ्याट छुटबारे पुनः विचार गर्नुपर्ने बताइन् ।

उनले उपभोक्ताका लागि १० प्रतिशत भ्याट फिर्ता गर्ने नीति प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइन् । 

सांसद गौतमले नगदरहित अर्थतन्त्रलाई समर्थन गर्ने गरी कर नीतिहरू परिमार्जन गर्न सरकारलाई आग्रह गरिन् ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १८:८