close

नेपालमा टाटाको पञ्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ

टेकपाना टेकपाना

भदौ ११, २०८१ ११:२१

नेपालमा टाटाको पञ्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । भारतीय कार निर्माता कम्पनी टाटाको विद्युतीय कार पञ्च ईभीको नेपाली मूल्य सार्वजनिक भएको छ। मङ्गलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो शोका क्रममा नेपालका लागि कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो ईभीको मूल‍्य घोषणा गरेको हो । 

कम्पनीका अनुसार विद्युतीय प्लेटफर्ममा बनेको टाटाको पहिलो ईभी पञ्चको सुरुवाति मूल्य नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीका अनुसार पञ्च ईभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पञ्च ईभी इम्पावर्ड एलआईको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सन् २०२४ को सुरुवातमा टाटाले भारतीय बजारमा पन्च ईभी सार्वजनिक गरेको थियो ।

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँग नेपालको मार्केट लिडरको रूपमा आबद्ध हुन पाउँदा गौरवको अनुभूति हुने गरेको सुनाए । पञ्च ईभीले नेपाली बजारमा नेतृत्व गरिरहेको टाटाको बजार हिस्सालाई अझ उकास्ने विश्वास व्यक्त गर्दै उनले उत्पादन मात्र नभएर ग्राहकलाई पूर्ण मोबिलिटी सोलुसन उपलब्ध गराउन जरुरी भएको बताए ।

"लगातार रूपमा टाटाले नेपालको बाटोघाटोलाई सुहाउने प्रोडक्ट दिइराखेको छ," पञ्च ईभी सार्वजनिकीकरण कार्यक्रममा उनले भने, "त्यस सँगसँगै यसलाई चाहिने इकोसिस्टम राम्रोभन्दा राम्रो होस् भन्ने पनि हामी चाहन्छौं । हाम्रा ग्राहकले यो गाडी किन किनिएछ भनेर नराम्रो रूपमा लिनु नपरोस् ।" सिप्रदीका अनुसार नेपालका मुख्य राजमार्गहरूमा ५० देखि ६० किमि दुरीमा फास्ट चार्जर राख्ने योजना अनुरूप २६ ओटा चार्जर राख्ने काम सम्पन्न भइसकेको छ ।

"यसले गर्दा हाम्रा ग्राहकलाई नेपालभर जहाँ जाँदा पनि पहिलाको जस्तो चार्जिङ एन्जाइटी हुने छैन भन्ने विश्वास छ," श्रेष्ठले भने, "त्यस सँगसँगै हामीसँग १५० भन्दा बढी एसी फास्ट चार्जरहरू पनि इन्स्टल भइसकेका छन् ।" यसका साथै गाडी जहाँ जाँदा पनि सर्भिसको सुनिश्चितताका लागि देशका विभिन्न १६ ओटा स्थानमा ईभीको सम्पूर्ण काम गर्न मिल्ने सर्भिस सेन्टर समेत विस्तार गरिसकेको सिप्रदीले जनाएको छ ।

टाटाका अरू विद्युतीय गाडी आईसीई प्लेटफर्ममा बनेका हुन् । सो ईभी प्लेटफर्मलाई कम्पनीले 'एक्टी डट ईभी' नाम दिएको छ । यो गाडीमा दिइएका कतिपय फिचरहरू टाटाको नेक्सन ईभीमा पनि पाउन सकिन्छ । अन्य केही फिचर भने कम्पनीले पन्च ईभीलाई मात्र केन्द्रित गरेर ल्याएको छ ।

टाटाका अन्य ईभी मोडेलभन्दा भिन्नै भएकाले पनि पन्च ईभीको चार्जिङ पोर्ट विशेष छ । सामान्यतः टाटाका गाडीको चार्जिङ पोर्ट पेट्रोलियम गाडीको पेट्रोल हाल्ने ठाउँमा दिइएको हुन्छ । 

तर, यो गाडीमा कम्पनीले अगाडिपट्टि टाटाको लोगो भएको भागमा चार्जिङ पोर्ट समावेश गरेको छ । उक्त पोर्टमा स्लो चार्जर र फास्ट चार्जर दुवैको विकल्प देख्न सकिन्छ । कम्पनीका अनुसार यो गाडीले ५० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ । 

कम्पनीले यो गाडी मिडियम र लङ रेन्ज गरी दुई भेरियन्टमा ल्याएको छ । मिडियम रेन्जलाई एमआर नाम दिइएको छ भने लङ रेन्जलाई एलआर भन्ने गरिएको छ ।

यो गाडी एलआर (लङ रेन्ज) र एमआर (मिडियम रेन्ज) गरी दुई मोडेलमा उपलब्ध छ भने स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, एम पावर्ड र एम पावर्ड प्लस भेरियन्टमा यो गाडी खरिद गर्न सकिनेछ ।

मिडियम रेन्जमा कम्पनीले २५ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध गराएको छ भने लङ रेन्जमा ३५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार मिडियम रेन्जले ८० बीएचपीको पावर उत्पादन गर्न सक्छ भने लङ रेन्जको पावर १२० बीएचपी रहेको छ । त्यस्तै एमआरमा ११४ न्युटन मिटर टर्क छ भने एलआरमा १९० न्युटन मिटर टर्क रहेको छ । 

सिङ्गल चार्जमा एमआरले ३१५ किलोमिटर र एलआरले ४२१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई तीन तरिकाले चार्ज गर्न सकिन्छ । सामान्यतः ३.५ किलोवाट एसी वाल चार्जरले पनि यसलाई चार्ज गर्न मिल्छ ।  उक्त चार्जरबाट एलआर साढे नौ घण्टा र एमआर साढे १३ घण्टामा फुल चार्ज हुने कम्पनीको भनाई छ । 

त्यस्तै ७.२ किलोवाट चार्जरको सहायताले एमआर भेरियन्टलाई साढे तीन घण्टा र एलआरलाई साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ । त्यस्तै ५० किलोवाट डीसी फास्ट चार्जरले गाडीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ । 

मोटरको कुरा गर्नु पर्दा यसको तल्लो भर्सनमा ६० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनाइज मोटर राखिएको छ । त्यस्तै लङ रेञ्जमा ९० किलोवाट आवर क्षमताको मोटर छ । बेस भर्सनलाई शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्न १३.५ सेकेन्ड लाग्छ भने लङ रेञ्ज भेरियन्टले ९.५ सेकेन्डमै उक्त वेग भेट्न सक्छ । 

फ्रन्ट प्रोफाइल 

फ्रन्ट प्रोफाइलको कुरा गर्दा सबैभन्दा पहिले अगाडि नै चर्चा गरिसकेको चार्जिङ पोर्ट आउँछ । त्यसपछि कम्पनीले परिवर्तन गरेको अगाडिको डिजाइन आँखामा पर्छ । चार्जिङ पोर्ट रहेको ठाउँको तल ३६० डिग्री एचडी क्यामेरा जडान गरेको देख्न सकिन्छ । यसलाई कम्पनीले सराउन्ड भ्यु सिस्टम नाम दिएको छ । यस्तो क्यामेरा पछाडिपट्टि पनि राखिएको छ ।

अगाडिपट्टि हेर्ने हो भने बोनेटको तल भेन्टिलेटरका लागि राखिएको ग्रिल देख्न सकिन्छ । र, छेउछाउमा पनि भेन्टिलेटर राखिएको छ । जसले ब्याट्री र टायरलाई चिसो बनाइरहने कम्पनीले जनाएको छ । 

गाडीको अगाडि बोनेटमा इन्डिकेटर लाइट पनि समावेश छ । यस लाइटले तीन ओटा काम गर्छ । एउटा डेटाइम रनिङ ल्याम्प (डीआरएल), अर्को इन्डिकेटर र गाडी चार्ज भएअनुसार कति प्रतिशत पुग्यो, त्यति नै लाइट बल्छ । 

टायर

अन्य ईभीभन्दा टाटाले यो ईभीको टायरलाई विशेष बनाएको छ । टायरमा कम्पनीले ‘डायमन्ड कट एलोए’ राखेको छ । यो प्लास्टिकले नभइ विभिन्न धातुको मिश्रणले बनेको छ । त्यस्तै टायर एपोलोको एम्पिरियट टायर राखिएको छ । यो टायर विशेषगरी ईभीका लागि बनाइएको बताइएको छ । यो ईभीका लागि तयार पारिएकाले धेरै टिकाउ हुने भनिएको छ । 

यो गाडीको चार ओटै टायरमा डिस ब्रेक राखिएको छ । तर, यो टप भेरियन्टका लागि मात्र उपलब्ध छ । अन्य भेरियन्टमा भने अगाडि डिस र पछाडि ड्रम ब्रेक दिइएको छ । 

गाडीको ढोकामा ईभीको लोगो राखिएको छ भने साइड मिररमा ३६० डिग्री क्यामेरा दिइएको छ । प्यासेन्जर साइडमा रहेको डोर नबमा रिक्वेस्ट सेन्सर राखिएको छैन । यो ड्राइभर साइडको ढोकामा मात्र छ । 

पछाडिपट्टिको ढोका खोल्नका लागि पेट्रोलियम पन्च भेहिकलको जस्तो डोर नब राखिएको छ । चार ओटै ढोका ९० डिग्री कोणसम्म खोल्न सकिन्छ । 

कम्पनीले यसको डाइमेन्सन र डिजाइन पेट्रोलियम पन्च होल गाडीमा जस्तै राखेको छ । यसको ग्राउन्ड क्लियरेन्स भने १९० एमएम रहेको छ । पछाडिपट्टि टाटाको लोगो र त्यसको तल पन्च डट ईभी लेखेको देख्न सकिन्छ । पछाडिपट्टिको इन्डिकेटर भने एलईडी नभएर हेलोजनको छ । 

गाडीको बुटस्पेस पनि स्तरीय नै देखिन्छ । कम्पनीका अनुसार यसको आकार ३६६ लिटर छ । बुटस्पेसको तल पनि युटिलिटी स्पेस (मर्मतसम्बन्धी आवश्यक सामग्री राख्ने ठाउँ) छ । त्यसमा चार्जरको ब्याग राख्न समेत सकिन्छ । तर यसमा स्पेयर ह्विल भने दिइएको छैन । 

सिट

गाडीको सिटको कुरा गर्नु पर्दा लेदर र फेब्रिकबाट बनेको सिट देख्न सकिन्छ । कम्पनीले यसलाई ‘लेदरेट अल्ट्रा कम्फर्ट सिट’ नाम दिएको छ । पछाडिपट्टि तीन ओटा सिट र सिटबेल्ट राखिएको छ । बीचको भागलाई सिट नभई ‘हेन्ड रेस्ट’ (हातलाई आराम दिने स्थान) बनाउन पनि सकिन्छ । 

पछाडिपट्टि सिटमा चार्जिङका लागि वा अन्य प्रयोजनका लागि राखिने यूएसबी पोर्टहरू छैनन् । अगाडिपट्टिको सिटको कुरा गर्नुपर्दा ढोका खोल्दा रिक्वेस्ट सेन्सरमा ट्याप गरेर ढोका खोल्न वा बन्द गर्न सकिन्छ । 

ढोका खोल्ने बित्तिकै भेन्टिलेटेड सिटको विकल्प देख्न सकिन्छ । यसमा सिट हाइट एडजस्टमेन्टको सुविधा पनि दिइएको छ । 

इन्टेरियर भाग

पन्च होल ईभीमा हार्मोन कम्पनीले निर्माण गरेको २६.०३ सीएम एचडी इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । नेक्सन र पन्च होल दुवैमा उस्तै किसिमको स्टार्टिङ एनिमेसन छ । स्टेरिङलाई लेदरले ढाकिएको छ । 

स्टेरिङको बायाँपट्टि मिडिया कन्ट्रोल र दायाँपट्टि क्रुज कन्ट्रोल (स्पिड कन्ट्रोल गर्ने प्रणाली) बटन राखिएको छ । त्यसको अगाडिपट्टि २६ सेन्टिमिटरको मल्टी इन्फरमेसन डिस्प्ले (एमआईडी) छ । अर्थात् गाडीमा इन्फोटेनमेन्ट र मल्टी इन्फरमेसन डिस्प्ले छ । 

इन्टेरियर डिजाइनको कुरा गर्दा स्टेरिङको तलपट्टि नब्सको साटो कन्ट्रोल प्यानल दिइएको छ । बुट स्पेस खोल्न, हजार्ड लाइट (Hazard Lights) कन्ट्रोल गर्न, डोर लक गर्न, ३६० डिग्री क्यामेरा कन्ट्रोल गर्न उक्त प्यानलमा दिएका सङ्केतमा टच गरे पुग्छ । 

त्यसको तलपट्टि १२ भोल्टको सकेट राखिएको छ । त्यसको छेउमा टाइप-सी र यूएसबी पोर्ट दिइएको छ । त्यसको अलि तलपट्टि भने वायरलेस चार्जिङको सिस्टम राखिएको छ । 

गाडीमा स्मार्ट डिजिटल चार्जिङ इन्डिकेटर, स्मार्ट डिजिटल ह्विल स्टेरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम रहेको छ ।

अगाडिका दुई ओटा सिटको बीचमा (ड्राइभरको बायाँपट्टि) ह्यान्ड रेस्टका लागि एउटा भाग राखिएको छ । त्यसको ठीक अगाडि इलेक्ट्रोनिक पार्किङ ब्रेक कन्ट्रोल र अटो होल्डको अप्सन छ । 

त्यसको छेउमा दुई ओटा कप होल्ड गर्न मिल्ने स्थान छुट्याइएको छ । त्यसको अगाडिपट्टि डायलर रहेको छ भने त्यसमा स्पोर्ट्स मोड र इको मोडका लागि बटन राखिएका छन् । 

माथिपट्टिको भागमा सनरुफ दिइएको छ । यसलाई कम्पनीले ‘भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ’ नाम दिएको छ । अर्थात् इलेक्ट्रिक सनरुफलाई आवाजबाटै नियन्त्रण गर्न सकिन्छ । त्यसको अलि तल केही बटनहरू दिइएका छन् । त्यहींको बटनबाट पनि रनरुफ खोल्न र बन्द गर्न सकिन्छ । त्यसको विपरीत भागमा आपतकालीन अवस्थामा कल गर्न सकिने एसओएस कल बटन छ । 

कल बटनभन्दा तलपट्टि अटो डिमिङ आईआरभीएम लाइट राखिएको छ । गाडीमा छ ओटा एयरब्याग छन् ।

इन्फोटेनमेन्ट सिस्टम 

गाडीमा २६ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसमा एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा छ । अर्थात् डिभाइसलाई इन्फोटेनमेन्टमा वायरलेस कनेक्ट गर्न सकिन्छ । तपाईंले इन्फोटेनमेन्ट डिस्प्लेमै म्याप्स प्रयोग गर्न सक्नुहुन्छ । 

त्यस्तै मुड लाइट लगायत अन्य कुराहरू त्यहीँबाट कन्ट्रोल गर्न सकिन्छ । कम्पनीका अनुसार यो गाडीमा केही एपहरू पहिले नै इन्स्टल भएका हुन्छन् । गाडीको उक्त सिस्टममा भिडिओ स्ट्रिमिङ, म्युजिक र गेमिङ एपहरू देख्न सकिन्छ । 

एप्पल कार प्ले अथवा एन्ड्रोइड अटोको जानकारीलाई इन्फोटेनमेन्टबाट एमआईडी (स्टेरिङको अगाडिपट्टि रहेको डिस्प्ले) मा सार्न पनि सकिन्छ । 

पछिल्लो अध्यावधिक: भदौ ११, २०८१ ११:५८