काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा केही समययता नयाँ ट्रेन्ड भाइरल भइरहेको छ । ‘जस्ट गिभ मी माई मनी’ नामको यो ट्रेन्डले सामान्य मानिसदेखि सेलिब्रेटी र खेलाडीहरूलाई समेत तानिरहेको छ । अनि अरुले बनाएका भिडिओ हेरेर मनोरञ्जन लिनेहरू धेरै हुने नै भए ।
यो ट्रेन्डमा दुई वा दुईभन्दा धेरै व्यक्ति गोलो वा लाइनमा उभिन्छन् र पालैपालो क्यामेरातर्फ हेरी ‘जस्ट गिभ मी माई मनी’ भन्छन्, त्यो पनि रमाइलो र नाटकीय शैलीमा । यसो भनिरहँदा अरु सहभागीले जोशपूर्ण ताली बजाउँदै हुटिङ गर्छन् । जसलाई प्र्याङ्क गर्न खोजिएको हो, उसलाई अन्त्यमा बोल्न लगाइन्छ । तर उसले यो वाक्य बोल्दा सबै चुप रही कुनै प्रतिक्रिया दिँदैनन् । प्र्याङ्कको शिकार भएको व्यक्ति केही समय अलमलमा पर्छ र त्यसपछि मात्रै आफू प्र्याङ्क भएको थाहा पाउँछ ।
साथी वा परिवारको एक सदस्यलाई मजाक गर्नमात्रै यो भिडिओ बनाउने गरिन्छ । तर केही बालबालिका भने भिडिओ बनाउने क्रममा परिवारका अन्य सदस्यहरू चुप लाग्दा निराश हुँदै रुन थालेको देखिन्छ ।
हालसम्म #givememymoney ह्यासट्यागमा एक लाख २२ हजार र #justgivememymoney ह्यासट्यागमा एक लाख १४ हजारभन्दा बढी टिकटक भिडिओहरू बनाइएका छन्, जसमा चर्चित सेलिब्रेटीहरूले पनि प्र्याङ्क गरेको देखिन्छ ।
नेपालमा पनि सामान्यदेखि सेलिब्रेटीसम्मले यो ट्रेन्ड पछ्याएको पाइन्छ ।
‘जस्ट गिभ मी माई मनी’ ट्रेन्डको सुरुवात अस्पष्ट छ । धेरैले यसको सुरुवात चर्चित स्ट्रिमर काई सेनाटसँग जोडेर हेर्छन्। जनवरी २०२४ मा र्यापर ड्रिमडोलसँगको लाइभस्ट्रिमको क्रममा सेनाटले उक्त वाक्यांश प्रयोग गरेको विश्वास गरिन्छ, जुन २००२ को फिल्म 'पेड इन फुल' को एक दृश्यसँग मिल्दोजुल्दो देखिन्छ । टिकटकमा भने एक महिनाअघि देखि प्र्याङ्कको नाममा यो रमाइलो ट्रेन्ड सुरु भएको हो ।
टिकटक जस्ता प्लेटफर्ममा यस्ता ट्रेन्डहरू प्रायः कसैको रमाइलो भिडिओबाट सुरु हुन्छ, जुन धेरै प्रयोगकर्ताले पुनःनिर्माण गर्छन् र यसरी नै भाइरल बन्दै जान्छ । ‘जस्ट गिभ मी माई मनी’ प्र्याङ्क पनि यस्तै क्रममा विश्वभरका टिकटक प्रयोगकर्तामाझ फैलिएको छ ।