close

एमजी ईभीका ग्राहकलाई सर्भिसिङका लागि डेढ महिनासम्म कुर्नुपर्ने बाध्यता !

टेकपाना टेकपाना

भदौ २०, २०८१ २०:१३

एमजी ईभीका ग्राहकलाई सर्भिसिङका लागि डेढ महिनासम्म कुर्नुपर्ने बाध्यता !

काठमाडौं । एमजी ईभीका ग्राहकलाई सर्भिसिङका लागि कम्तीमा डेढ महिनासम्म कुर्नुपर्ने बाध्यता आइलागेको छ । सीमित सर्भिस सेन्टर र सर्भिसिङ गराउने विद्युतीय गाडीको चाप धेरै हुँदा ग्राहकले पालो पाउन लामो समय कुर्नुपर्ने भएको हो ।

फेसबुक ग्रुप ‘इलेक्ट्रिक भेहिकल ग्रुप-नेपाल’मा सन्दीप सरवगी नामका एमजी सवारीधनीले सर्भिसिङका लागि ४५ दिनसम्म कुर्नु परेको गुनासो गरेका छन् । उनले भनेका छन्, “यदि तपाईं आज सर्भिसिङका लागि जानुभयो भने उनीहरूले तपाईंलाई ४५ दिनपछि आउनु भन्छन् । यसरी हामी आफ्नो गाडी कसरी समयमै सर्भिसिङ गर्न सक्छौं ?”

कम्पनीले सवारी बिक्री गर्ने क्रममा सर्भिसिङ क्षमतालाई ध्यान नदिंदा यस्तो समस्या आएको उनको आशय छ । उनले अगाडि भनेका छन्, “जब तपाईंको गाडीमा समस्या आउँछ, त्यतिबेला उनीहरू तपाईंले गाडी समयमै सर्भिसिङ गर्नु भएन भन्नेछन् ।”

समयमै सर्भिस गराउन नसक्दा पछि केही समस्या आयो भने त्यो वारेन्टी कन्डिसनमा नआउने भन्दै वारेन्टी लागू नहुने सम्भावना रहेको उनको तर्क छ । 

सन्दीपलाई समर्थन गर्दै थुप्रै व्यक्तिले आफ्नो धारणा राखेका छन् । रोजित श्रेष्ठ लेख्छन्, “मेरो चाहिं २८ दिनपछि पालो आएको थियो, त्यो पनि एक जनाको क्यान्सिल भएर । सर्भिस गराउन जाँदा हाम्रै गाडी पनि हेर्न दिंदैन अझ ।”

हामीले ग्राहक बनेर बिहीवार कम्पनीका ग्राहक प्रतिनिधिलाई सम्पर्क गरेका थियौं । त्यस क्रममा ग्राहक प्रतिनिधिले एउटा सिट कात्तिक १४ गते अर्थात् ५५ दिनपछि खाली भएको जानकारी दिइन् ।

नेपालमा एमजीको विद्युतीय सवारी पायोनिर मोटो कर्पले बिक्री गर्दै आएको छ । कम्पनीका प्रतिनिधिका अनुसार सर्भिसिङका लागि आउने गाडीको चाप बढी भएकाले सवारीधनीले केही समय पर्खिनु परेको हो ।

“सर्भिस पिरियड अलि ढिलो भइरहेको छ । गाडी धेरै बिक्री भएको र अन्य ब्रान्ड थपिएको अवस्था छ,” ती प्रतिनिधिले भने, “जहाँसम्म गुनासो वारेन्टी पिरियड सकियो भने के हुन्छ भन्ने छ त्यसमा हामीसँग सबै रेकर्ड हुन्छ । उहाँले वारेन्टी पिरियडमै भन्नु भएको छ र पालो पाउँदा वारेन्टी पिरियड सकियो भने पनि हामी त्यसलाई वारेन्टीमै समावेश गर्छौं ।”

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले दशैंअघि दुई ओटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने ती प्रतिनिधिले बताए । उनका अनुसार कम्पनीले एउटा अत्याधुनिक सर्भिस सेन्टर भक्तपुर सल्लाघारीमा र अर्को काठमाडौं सुकेधारामा सञ्चालनमा ल्याउँदैछ । “कम्पनीको तर्फबाट ढिलो भए पनि वारेन्टी दाबी गर्नका लागि ग्राहकलाई त्यसको मार कहिल्यै पर्दैन,” ती प्रतिनिधिले भने ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८१ २०:१६