काठमाडाैं । अब देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालायहरूलाई पत्राचार गर्दै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
योसँगै सरकारी तथा सार्वजनिक निकायहरूमा बसेर अब शेयर कारोबार गर्न नपाइने भएको छ । कार्यालय समयमा टीएमएस चलाएको/नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न समेत निर्देशन दिइएको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा टीएमएस नचलाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको थियो । त्यसैका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो व्यवस्था कार्यान्वन गर्न निर्देशन दिएको हो ।
हेर्नुहोस् सूचना
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्न कानुनी दृष्टिले अमान्य भएकाले टीएमएसमाथि प्रतिबन्ध लगाएको बताएका छन् ।
सामाजिक सञ्जालमा ओली लेख्छन्, "सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।"