काठमाडौं । बालअधिकार समूह ‘सेभ द चिल्ड्रेन’ले दक्षिण कोरियामा ‘डिलिट द चिल्ड्रेन’ अभियान सुरु गरेको छ । एआईबाट सिर्जित अश्लील सामग्रीको संकटबीच बालबालिकाका तस्बिरहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्न उक्त संस्थाले यो अभियान थालेको हो ।
बिना अनुमति बालबालिकाका तस्बिरहरू अश्लील डिपफेक सामग्री बनाउन प्रयोग भइरहेको भन्दै दबाब सिर्जना गर्न अभियान सुरु गरेको सेभ द चिल्ड्रेनले जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले बालबालिकाको व्यक्तिगत जानकारी अनलाइनबाट हटाउने अधिकारको लागि जनचेतना बढाउने प्रयास गरेको जनाएको छ ।
सेभ द चिल्ड्रेनले गरेको एक सर्वेक्षण अनुसार १० देखि १८ वर्षका ८५.५ प्रतिशत बालबालिकाले आफ्नो व्यक्तिगत जानकारी अनलाइनबाट हटाउन पाउने अधिकारको पक्षमा रहेको बताएका छन् । सर्वेक्षणमा ९८ प्रतिशत बालबालिकाले आफ्नो अनुमति बिना राखिएका तस्बिरहरू हटाउनुपर्छ भन्नेमा मत दिएका छन् ।
दक्षिण कोरियाको निजी सूचना संरक्षण आयोगले गत वर्ष ‘इरेजर सेवा’ सुरु गरेको थियो, जसले बालबालिकाको व्यक्तिगत जानकारी हटाउन वेबसाइट सञ्चालकहरूलाई अनुरोध गर्न सक्थ्यो । तर, यो सेवा केवल व्यक्तिले आफैंले पोस्ट गरेको जानकारी हटाउन सीमित रहेको छ ।
सेभ द चिल्ड्रेनले बालबालिका र तिनीहरूका अभिभावकहरूलाई कुनै पनि अनलाइन जानकारी, विशेषगरी डिजिटल रूपमा परिवर्तन गरिएका तस्बिरहरू हटाउन अनुरोध गर्ने अधिकारको माग गर्दै अभियान चलाइरहेको छ ।
अभियानको क्रममा बालबालिकालाई उनीहरूको व्यक्तिगत जानकारी कसरी प्रयोग हुन्छ भन्ने बारेमा निर्णय लिने अधिकार दिन सरकारलाई आग्रह गरिएको छ ।