काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सामाजिक सञ्जालले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा प्रत्यक्ष हानी नपुर्याउने तर्क गरेका छन् । द भर्जसँगको अन्तर्वार्तामा जुकरबर्गले सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको कुनै क्याजुअल सम्बन्ध नभएको बताएका हुन् ।
विभिन्न अनुसन्धानले यी दुईबीच सम्बन्ध नदेखाएको उनले तर्क गरेका छन् । गत जनवरीमा बालसुरक्षा विषयमा कांग्रेसमा भएको सुनुवाइमा समेत जुकरबर्गले यही कुरा बताएका थिए ।
उनले अभिभावकलाई आफ्ना बच्चालाई सामाजिक सञ्जालको प्रयोग सीमित गर्न आवश्यक उपकरणहरू दिनु सही भएको भनाइ राखे । साथै उनले एपले भन्दा पनि नोटिफिकेसहरूले मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको धारणा व्यक्त गरे ।
हालै मात्र इन्स्टाग्रामले सबै किशोरकिशोरीलाई अझ प्राइभेट अकाउन्टमा सार्ने, डीएम (डाइरेक्ट मेसेज) सीमित गर्ने र रातमा नोटिफिकेसन सीमित गर्न ‘स्लिप मोड’ ल्याउने घोषणा गरेको छ । त्यस्तै मेटाले गत वर्ष इन्स्टाग्राम र म्यासेन्जरमा प्यारेन्टल कन्ट्रोल फिचर सार्वजनिक गरेको थियो । यसबाट अभिभावकले प्लेटफर्ममा आफ्ना बच्चाहरूले के गरिरहेका छन् भन्ने जानकारी लिन सक्थे ।
सन् २०२१ मा फेसबुक पेपर्स सार्वजनिक भएपछि किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभावबारे बहस थप छेडिएको थियो । त्यो पेपरमा उनीहरूमा इन्स्टाग्रामले नकारात्मक प्रभाव पार्ने उल्लेख थियो । त्यसपछि अमेरिकी सांसदहरूले सामाजिक सञ्जालहरूमा उमेरमा आधारित प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन् । एक सर्जनले त सञ्जालहरूमा सुर्तीजन्य चेतावनीजस्तो लेबल राख्नुपर्ने माग राखेका थिए ।
यता जुकरबर्गले भने आफूजस्तो प्लेटफर्मले नभई प्लेस्टोर र एपस्टोरका मूल कम्पनीहरूले उमेर प्रमाणीकरण गर्नुपर्ने तर्क गरेका छन् । साथै बालसुरक्षा सम्बन्धी कुनै कानुन पारित भए मेटाले सरकारको निर्देशन र कानुनहरू पालना गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।