काठमाडौं । धेरैका लागि आईफोन खरिद गर्नु प्रतीक्षाको विषय हुन सक्छ । यसको कारण हो, महँगो शुल्क । तर नयाँ आईफोन खरिद गर्नु भएको छ भने त्यसपछि गर्नुपर्ने केही कुरा तपाईंले थाहा पाउन जरुरी हुन्छ ।
किनकि एन्ड्रोइड स्मार्टफोनको तुलनामा आईफोनले अलि फरक तरिकाले काम गर्छ । यसैले आईफोनमा राम्रो पर्फर्मेन्स पाउन तपाईंले केही काम गर्नुपर्ने हुन्छ । आज हामी त्यहीबारे चर्चा गर्ने छौं:
एप्पल आईडी बनाउने
यदि उक्त आईफोन तपाईंको लागि पहिलो एप्पल प्रोडक्ट भए सबैभन्दा सुरुमा एप्पल आईडी बनाउनु पर्ने हुन्छ । एप्पल आईडी बिना तपाईंले कतिपय फिचरहरू प्रयोग गर्न सक्नुहुन्न । यसकारण आफ्नो मुख्य ईमेलमार्फत एप्पल आईडी बनाउनुहोस् । त्यसमा तपाईंले आफ्नो फोन नम्बर पनि राख्नुहोस् ।
जब तपाईंले नयाँ आईफोनमा एप्पल आईडी बनाउनुहुन्छ, त्यसपछि एप्पल स्टोर, आईक्लाउड जस्ता अन्य प्रोडक्टमा पहुँच बनाउन सक्नुहुन्छ । साथै प्रत्येक एप्पल आईडीमा आईक्लाउडको ५ जीबीसम्म स्टोरेज पनि पाइन्छ ।
ह्वाट्सएपको डेटा सार्ने
यदि तपाईं एन्ड्रोइडबाट आईओएसमा सर्नु भएको छ भने ह्वाट्सएपको डेटा पनि सार्नुहोस् । किनकि एक पटक आईफोन पूर्ण रूपमा सेटअप भइसकेपछि डेटा ट्रान्सफर गर्न सक्नुहुन्न । त्यसका लागि पुन: आईफोन रिसेट गर्नुपर्ने हुन सक्छ ।
यसमा ह्वाट्सएपमा भएको डेटा अनुसार समय लाग्ने गर्छ । ह्वाट्सएपले ब्याकअपका लागि एन्ड्रोइडमा गुगल ड्राइभ र आईफोनमा आईक्लाउड प्रयोग गर्ने गर्छ । यसो हुँदा आईफोन कन्फिगर भइसकेपश्चात एन्ड्रोइडमा रहेको ह्वाट्सएपको डेटा आईफोनमा ट्रान्सफर गर्न गाह्रो हुने गर्छ ।
मन पर्ने एप तथा गेम इन्स्टल गर्ने
आईफोनमा एपहरू चलाउन सशुल्क पैसा तिर्नुपर्छ भनेर धेरैले भन्ने गर्छन् । तर यो कुरा धेरै हदसम्म साँचो छैन । एन्ड्रोइडमा जस्तै धेरै एपहरू आईओएसमा नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।
एन्ड्रोइडबाट आईफोनमा सर्दा त्यहाँ भएका धेरै कुरा आईफोनमा पनि पर्छन् । तर तपाईंले एपहरू भने म्यानुअल्ली डाउनलोड गर्नुपर्ने हुन सक्छ ।
एप्पल टिभी र एप्पल म्युजिक सब्सक्राइब गर्नु
अहिले एप्पलले नयाँ आईफोन खरिद गर्ने ग्राहकलाई एप्पल टिभीमा तीन महिना र एप्पल म्युजिकमा एक महिनाको सब्सक्रिप्सन दिने गरेको छ । यी प्लेटफर्ममा पैसा खर्च गर्नुअघि यीबारे जाँच गर्न सक्नुहुन्छ ।
स्क्रिन प्रोटेक्टर र बीमा
अब डिभाइसमा राम्रै रकम खर्च गरेपछि तपाईंले केही रकम स्क्रिन प्रोटेक्टरमा खर्च गर्दा खेर जाँदैन । हुन त पछिल्लो समयमा आईफोनको स्क्रिन राम्रो बन्दै गइरहेको छ, तथापि तपाईंले यसो गर्दा डिभाइस थप सुरक्षित हुन्छ । त्यस्तै, तपाईंले आफ्नो फोनको बीमा पनि गर्न सक्नुहुन्छ । नेपालमा सीमित कम्पनीले यो सेवा दिइरहेका छन् ।