काठमाडौं । पृथ्वीको सबैभन्दा अग्लो शिखर हो, सगरमाथा । नेपालको पूर्वी हिमाली क्षेत्रमा पर्ने यो चुचुरो समुद्री सतहदेखि ८८४८.८६ मिटर माथि रहेको छ ।
करिब पाँच करोड वर्षअघि भारतीय उपमहाद्वीप युरेसिया प्लेटसँग ठोक्किंदा हिमालय पर्वतशृङ्खलाको जन्म भएको मानिन्छ । तिनै प्लेटको चालले गर्दा प्रायः हिमालहरूको उचाइ निरन्तर बढिरहन्छ ।
तर, सगरमाथाको सन्दर्भ भने केही फरक छ । अन्य केही यस्ता कारणहरू छन्, जसले गर्दा अपेक्षा गरेभन्दा सगरमाथाको उचाइ बढाउन भूमिका खेलिरहेका छन् । लामो समयसम्म अनुत्तरित सगरमाथाको उचाइ बढ्नुको रहस्य हालै मात्र वैज्ञानिकले बाहिर ल्याएको छन् ।
युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का अनुसन्धानकर्ताले सोमबार एक शोधपत्र प्रकाशित गर्दै सगरमाथाको उचाइ बढ्नुमा अरुण नदीको मुख्य भूमिका रहेको खुलाएका हुन् । उनीहरूको उक्त शोधपत्र ‘नेचर जिओसाइन्स’ जर्नलमा प्रकाशित छ ।
वैज्ञानिकका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा भूक्षय हुँदा सगरमाथाको उचाइ प्रत्येक वर्ष ०.२ देखि ०.५ मिलिमिटरले बढ्ने क्रम देखिएको छ । पूर्वी नेपालको हिमाली क्षेत्रमा बग्ने अरुण नदीले आफ्नो पिँधमा भएका चट्टान र माटो खियाउँदै गइरहेको छ । यसैको कारणले ८९ हजार वर्षको अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ १५ देखि ५० मिटरले बढेको हुन सक्ने वैज्ञानिकको अध्ययनले देखाएको छ ।
यो भू-वैज्ञानिक प्रक्रियालाई ‘आइसोस्टाटिक रिबाउन्ड’ भनिन्छ । यसमा पृथ्वीको सतहमा रहेको भार घटेपछि क्रस्ट माथि उठ्ने प्रक्रिया समावेश हुन्छ । क्रस्ट, पृथ्वीको तातो अर्ध-तरल चट्टानको तहमा तैरिरहेको हुन्छ ।
यस अवस्थामा अरुण नदीले कोशी नदीलाई आफूमा मिसाइरहेको छ । लामो समयदेखि चलेको यस प्रक्रियाका कारण नदीको मार्ग पनि परिवर्तन भइरहेको छ । यसले गर्दा तीव्र गतिमा भूक्षय भइरहेको छ । भूक्षयका कारण ठुलो मात्रामा चट्टान र माटोलाई बगाएर लगिरहेको छ । यसले सगरमाथा नजिकको क्षेत्रमा भएको भारलाई घटाइ दिएको छ ।
जसका कारण तीव्र गतिमा सगरमाथाको उचाइमा वृद्धि भएको हो । वैज्ञानिकहरूका अनुसार माथितिर धकेल्ने बलका कारण सगरमाथासहित विश्वका सर्वोच्च चौथो र पाँचौं अग्ला हिमालहरू क्रमशः ल्होत्से र मकालुको उचाइ पनि त्यसरी नै बढिरहेको छ । छेउछाउमा रहेका अन्य हिमालमा पनि त्यस्तै अवस्था देखिएको छ ।
“कुनै तैरिने वस्तुबाट त्यसको तौल घटाइ दिने हो भने त्यस वस्तुले आफ्नो स्थान एड्जस्ट गर्न थाल्छ । यसैलाई आइस्टेटिक रिबाउन्डसँग जोड्न सकिन्छ,” सोमबार प्रकाशित अध्ययनका प्रमुख मध्येका एक बेइजिङस्थित चाइना युनिभर्सिटी अफ जिओसाइन्सका भूवैज्ञानिक जिन-जेन दाइले भनेका छन्, “जब कुनै ठुलो तौल भएको वस्तु जस्तै बरफ वा कमजोर हुँदै गइरहेको चट्टान पृथ्वीको क्रस्टबाट निकालियो भने कार्गो अनलोड गर्दा पानीमा डुङ्गा तैरिए जस्तै तलको जमिन विस्तारै माथि उठ्छ ।”