काठमाडौं । नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले स्मार्टफोनबाट फोटो खिचेरै पखालाको परजीवी थाहा पाउन सकिने प्रविधिको विकास थालेको छ । पखालाको प्रकोप रोकथामका लागि उपयोगी हुने गरी नामीले त्यस्तो प्रविधि विकास गर्न लागेको हो ।
'एआई एसिस्टेड स्मार्टफोन माइक्रोस्कोपी' नाम दिएर नामीले यस परियोजनामा काम गरिरहेको छ । यसका लागि नामीलाई लाकुना फन्डले आर्थिक सहायता उपलब्ध गराएको छ । त्यस्तै नामीले यस परियोजनाका लागि काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (केआईएएस), प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुर (पीपीएचएल), न्याय हेल्थ नेपाल-अछाम, काठमाडौं बाल स्वास्थ्य संस्था (केआईओसीएच)-झापा र न्याय स्वास्थ्य नेपाल-बयालपाटा, अछामसँग सहकार्य गरेको छ ।
हाल यो प्रविधि विकासको चरणमा नै छ । तर यसअन्तर्गत नामीले केही महत्त्वपूर्ण सफलता भने हात पारिसकेको छ । जसमा क्रिप्टोस्पोरिडियम र जियार्डिया जस्ता पखालाका कारक परजीवीहरूलाई पत्ता लगाउन आवश्यक पर्ने डेटासेट नामीले तयार पारेको छ ।
उक्त डेटासेटमा नेपालका तीन ठाउँबाट सङ्कलन गरिएका नमुनाहरूको चार लाख बढी फोटो राखिएको नामीले जनाएको छ । यसका लागि पानी, तरकारी, मानव मलबाट नमुना लिइएको थियो ।
अब डेटा सुद्धिकरणको काम गरेपछि सोही डेटासेट एआई तालिमका लागि प्रयोग हुनेछ । त्यसले गर्दा भविष्यमा कसैले फोटो खिच्ना साथ पखालाको परजीवी भए/नभएको थाहा लाग्ने नामीले बताएको छ ।
यसले नेपाल जस्ता न्यून तथा मध्यम आय भएका देशहरूमा झाडापखालाको प्रकोपलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने नामीका सह-संस्थापक तथा निर्देशक डा विशेष खनालले बताए ।
किनकि कुनै पनि जलस्रोत अथवा खाद्यान्नमा क्रिप्टोस्पोरिडियम र जियार्डिया जस्ता पखालाका कारक भए/नभएको जाँच्ने उपकरण (माइक्रोस्कोपी) खरिद गर्न लाखौं रुपैयाँ पर्छ । तर यदि यस प्रकारको प्रविधि (स्मार्टफोन माइक्रोस्कोपी) बनाए केही हजारमा नै यो काम गर्न सकिने डा खनाल सुनाउँछन् ।
उक्त प्रविधि विकास भएपछि साधारण स्मार्टफोनलाई पनि माइक्रोस्कोपीमा रूपान्तरण गर्न सकिन्छ । यसका लागि स्मार्टफोनको क्यामेरामा अतिरिक्त बल लेन्स (ball lens) र माउन्टिङ प्लेट भने राख्नु पर्ने हुन्छ । त्यसपछि फोटो खिच्ना साथ यदि उक्त स्रोतमा क्रिप्टोस्पोरिडियम र जियार्डिया जस्ता पखालाका कारक भए तुरुन्तै पहिचान हुन्छ । यसका लागि भने माथि उल्लिखित डेटासेट प्रयोगमा आउँछ ।
सामान्य रूपमा बुझ्दा यो त्यस्तो परियोजना हो, जसले जोकोहीलाई पखालाको परजीवी पहिचान गर्न सक्षम बनाउनेछ । यो प्रविधि नेपालको लागि मात्र नभएर विश्व समुदायका लागि नै उपयोगी हुने नामीको दाबी छ । लाकुना फन्डको आर्थिक सहयोग सकिएकाले यस परियोजनामा अब थप काम गर्न दाताको सहयोग खोजी भइरहेको डा खनाल सुनाउँछन् ।
यस प्रविधिलाई मूर्त रूप दिन अझै अनुसन्धान र विकासका काम बाँकी रहेकाले ठ्याक्कै यसलाई कहिले सार्वजनिक गर्ने भन्ने निश्चित नभएको उनी सुनाउँछन् । तर आफूहरू प्रक्रियामा स्पष्ट रहेकाले वित्तीय स्रोत जुटे चाँडै काम सम्पन्न हुने उनी विश्वास दिलाउँछन् ।
यो प्रविधि बजारमा आएपछि पखाला जस्तो ज्यानमारा रोगको स्रोतको पहिचान सुरुमै गर्न सस्तो र पहुँचयोग्य उपकरण उपलब्ध हुने उनको भनाई छ ।