close

२७६ खर्बको सम्पत्ति सहित मार्क जुकरबर्ग बने विश्वका दोस्रो धनी व्यक्ति

टेकपाना टेकपाना

असोज १८, २०८१ १०:४४

२७६ खर्बको सम्पत्ति सहित मार्क जुकरबर्ग बने विश्वका दोस्रो धनी व्यक्ति

काठमाडौं । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य बनेका छन् । २०५ अर्ब डलर सम्पत्ति रहेको अमेजनका जेफ बेजोसलाई एक अर्ब डलर बढीले पछि पार्दै जुकरबर्ग दोस्रो स्थानमा चढेका हुन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति २०६ अर्ब डलर (२७६ खर्ब रुपैयाँ) कटेको छ, जुन शीर्ष धनाढ्य एलन मस्कभन्दा ५० अर्ब डलरले कम हो ।

मेटामा जुकरबर्गको १३ प्रतिशत शेयरहिस्सा रहेको छ । २०२४ यता मेटाको शेयरमूल्य बढ्दा जुकरबर्गसँग ७८ अर्ब डलरको सम्पत्ति थपिएको छ । 

सन् २००४ मा सामाजिक सञ्जाल फेसबुक ल्याएका ४० वर्षीय जुकरबर्गको अधिकांश सम्पत्ति मेटाका प्लेटफर्मको शेयरमा निर्भर छ । समाचार माध्यम सीएनएनका अनुसार बिहीबार मेटाको शेयर अहिलेसम्मकै उच्च बिन्दु (५८२.७७ डलर) मा पुगेको थियो । जसले जुकरबर्गलाई धनाढ्यको सूचीमा दोस्रो स्थानमा पुग्न भूमिका खेलेको छ ।

त्यस्तै जुकरबर्गको सम्पत्ति बढ्नुमा कर्मचारी कटौती, ओरियन ग्लास जस्ता नवीनतम प्रविधिमा सफलता मिल्नु, एआईमा लगानीकर्ता आकर्षित हुनु आदिलाई पनि कारण मानिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८१ १०:५५