काठमाडौं । साथीभाइ, आफन्तसँगको रमाइलो जमघट होस् वा आनन्दले ब्याकग्राउन्डमा गीत सुन्दै आफ्नो समय अर्थात ‘मी टाइम’ बिताउन । दशैँतिहारको बेला रमाइलो गीत सुन्नका लागि होस् वा देउसी भैलोमा जान, पोर्टेबल वायरलेस स्पिकरले तपाईंलाई राम्रो साथ दिनसक्छ ।
अहिले त झन् प्रतिस्पर्धाले गर्दा कम्पनीहरूले कम मूल्य ठूलो अनि राम्रो अडिओ दिने ब्लुटुथ स्पिकरहरू बिक्री गरिरहेका छन् । यस्तोमा कुन किन्ने होला भन्ने दुविधा हुनु स्वाभाविक नै हो । त्यसैले आज हामी यस लेखमा पाँच हजार रुपैयाँभन्दा मुनिका राम्रा पाँच ब्लुटुथ स्पिकरहरूको विषयमा चर्चा गर्ने छौं ।
तर त्यसअघि ब्लुटुथ स्पिकर किन्दा ध्यान दिनुपर्ने कुराहरू बुझ्न जुरुरी छ ।
ब्लुटुथ स्पिकर भनेपछि ब्लुटुथ भर्सनबाटै सुरु गरौं । किनभने वायरलेस स्पिकर हामीले प्रयोग गर्नुको पहिलो कारण नै कुनै तारसँग जोडिएर बस्न नपरोस्, रिमोट्ली पनि स्पिकरको मज्जा लिन सकियोस् भन्ने नै हो ।
त्यसैले ब्लुटुथ भर्सनमा ध्यान दिनु आवश्यक छ । अहिले बजारमा सबैभन्दा पछिल्लो ब्लुटुथ भर्सन ५.४ चलिरहेको छ । यसकारण सकेसम्म पछिल्लो ब्लुटुथ भर्सन भएको स्पिकर हेर्दा राम्रो । अर्को कुरा ब्याट्री क्षमता हो । कति लामो समयसम्म बज्छ भनेर हेर्नु पनि जरुरी छ । सँगै स्पिकरको पोर्टहरू, एक्स इन (AUX-in) छ कि छैन, चार्जिङ पोर्ट कुन हो जस्ता कुरा भने तपाईंको आवश्यकताले पनि निर्धारण गर्ने कुरा हो ।
त्यसपछि साउन्डमा आउँदा कस्तो बज्छ, बेस साउन्ड कस्तो छ, फुल भोल्युममा आवाज फाट्छ फाट्दैँन जस्ता कुराहरू पनि ख्याल गर्नुपर्छ ।
अब लागौं मुख्य विषयतिर:
अल्टिमा साउन्डबक्स एक्स २० (Ultima soundbox s20)
सुरु गरौं अल्टिमा साउन्डबक्स एस २० बाट । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइल्सले यही दशैँमा नयाँ साउन्डबक्स सिरिज सार्वजनिक गरेको थियो । जसमा एस २० र एस ५० छन् ।
एस २० हामीले राखेको बजेट भित्र नै आउँछ । हामीलाई यसको बेस साउन्ड राम्रो लागेको थियो । ब्लुटुथ ५.३ भर्सन भएकाले यस स्पिकरले १० मिटरसम्मको रेन्ज दिन्छ । ३६०० एमएएचको ब्याट्री भएको यो स्पिकरमा ५० प्रतिशत भोल्युममा राखेर सुन्दा ७ घन्टाको प्लेब्याक टाइम पाइने कम्पनीको दाबी छ ।
अर्को राम्रो पक्ष भनेको यो साउन्डबक्स एस २० मा तपाईंले अर्को साउन्डबक्स एस २० कनेक्ट गरेर बजाउन सक्नुहुन्छ । अनि फेरी यसको डिजाइन पनि पोर्टेबल नै छ ।
बोक्नको लागि भनेर एउटा स्ट्राप पनि कम्पनीले दिएको छ । मुल्यको कुरा गर्नुपर्दा ७ हजार ९९९ मूल्य तोके पनि कम्पनीले हाल साउन्ड बक्स एस २० ३ हजार ४९९ रुपैयाँमा नै दिइरहेको छ ।
एरोज आरजीबी रक (Arrows RGB rock)
माथिल्लोभन्दा पनि अझ पोर्टेबल अनि एउटा हातमै मज्जाले अट्ने स्पिकर हेर्ने हो भने एरोज लाइफस्टाइलको एरोज आरजीबी रक स्पिकर ठीक हुन्छ । हेर्दा चिटिक्क देखिने यो स्पिकरमा ५.३ ब्लुटुथ भर्सन, ५२ एमएमको ड्राइभर, टीडब्लुएस फङ्सन, एलईडी आरजीबी लाइट लगायतका फिचर छन् ।
२००० एमएएच ब्याट्री भएको यो स्पिकरले ६ घण्टाको प्लेब्याक टाइम दिन्छ । सँगै यसमा एफएम पनि सु्न्न मिल्छ । हाल यो स्पिकर १६०० मूल्यमा नै खरिद गर्न सकिन्छ ।
बोट स्टोन ३५० (Boat stone 350)
अब ‘अफर्डेबल’ ब्रान्डको कुरा गर्दा बोटलाई बिर्सिने त कुरै भएन । भारतीय ब्रान्ड बोटको स्टोन ३५० स्पिकर पनि
टक्क हातमा नै अटाउन मिल्ने खाल्को छ । आवाजको कुरा गर्ने हो भने यसले पनि आवाज राम्रो नै दिन्छ ।
अनि फेरी यसमा भएको टीडब्लुएस टेक्नोलोजी प्रयोग गरेर दुईओटा स्पिकर कनेक्ट गरी एकैचोटि पनि बजाउन सकिन्छ, जसले थप ठूलो आवाजमा गीत सुन्न भने मज्जा आउछ । बेसको कुरा गर्ने हो भने ठिकठाकै छ ।
तर ब्याट्री क्षमताको कुरामा भने २२०० एमएएचको ब्याट्री छ अनि कम्पनीले १२ घण्टा टिक्ने दाबी गरेको छ । अक्स पोर्ट, टाइप सी पोर्ट र एउटा एसडी कार्ड पोर्ट भएको स्पिकर अहिले तीन हजार २९९ रुपैयाँ मा नै किन्न सकिन्छ ।
मिभी रोम टू (Mivi rome 2)
बजारमा अर्को एउटा पोर्टेबल स्पिकर छ, मिभी ब्रान्डको रोम टु । यो वर्गाकार भएकाले बोकेर हिड्न एकदम मज्जाको छ । ब्लुटुथ भर्सन भने यसमा ५.० मात्र छ । तर बेस म्युजिक भने यसको राम्रो छ ।
५० प्रतिशतसम्मको भोल्युममा सुन्ने हो भने २४ घण्टासम्म बज्ने कम्पनीको दाबी छ । कम्पनीले यो स्पिकरमा २००० एमएएचको ब्याट्री दिएको छ । तर यसमा पनि टीडब्लुएस फिचर भने छुटेको छैन । नेपालमा यो स्पिकर अहिले दुई हजार ४९९ रुपैयाँमा नै किन्न सकिन्छ ।
एक्सेज मिनि पड (Xage mini pod)
यस्तै चिटिक्क परेको सानो साइजको अनि कम मूल्यको अर्को स्पिकर हो एक्सएजको कन्भी मिनिज पडको एक्सबीएस ०८ (XBS08) मोडेल । मात्र एक हजार ९० रुपैयाँ पर्ने यो स्पिकर ६ घण्टासम्म लगातार प्रयोग गर्न सकिन्छ ।
यसमा बेस म्युजिक भन्दा पनि स्थानीय भाका वा क्षेत्रीय गीत अझ भनौं बेस कम भएका गीतहरू सुन्नको लागि ठिकै हुन्छ । यसमा पनि रेडियो भने सुन्न सकिन्छ । सँगै अन्य स्पिकरमा जस्तै यसमा डीडब्लुएस फिचर पनि उपलब्ध छ ।
अन्त्यमा, हामीले दिएका यी विकल्पहरू बाहेक पनि बजारमा अन्य थुप्रै विकल्प छन् । यी सूचिमा चित्त नबुझे ब्लुटुथ स्पिकर किन्दा ध्यान दिनु पर्ने कुरालाई ख्यालमा राखेर तपाईंले अन्य विकल्प पनि हेर्न सक्नुहुने छ ।