काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पटक मात्र हेरियोस् भनेर पठाइएको फोटोको स्क्रिनशट लिन वा स्क्रिन रेकर्ड गर्न नमिल्ने भएको छ । प्लेटफर्ममा सेक्सटर्सन (अश्लील फोटोको आडमा ब्ल्याकमेल गर्ने काम)का घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ मेटाले यस्तो सुविधा ल्याउन लागेको हो ।
प्लेटफर्ममा किशोरकिशोरीलाई सुरक्षित राख्न मेटाले बिहीबार प्रोटेक्सन फिचरको घोषणा गरेको छ । ‘भ्यु वन्स’ फिचर प्रयोग गरी इन्स्टाग्राममा फोटो पठाउँदा त्यो फोटो एकपटक मात्र हेर्न मिल्छ । यदि उक्त फोटो अश्लील भएको खण्डमा स्क्यामरले त्यसैको स्क्रिनशट लिई ब्ल्याकमेलको हतियार बनाउँछन् ।
इन्स्टाग्राममा पठाइएका नग्न फोटोलाई ब्लर (मधुरो) देखाउने फिचर यसअघि इन्स्टाग्रामले परीक्षण गरेको थियो । त्यस्तो फोटो जसलाई पठाइयो, त्यो अकाउन्टबाट फोटो पठाउनेको अकाउन्टमा भएका फलोअर नदेखिने बनाइएको थियो ।
सामाजिक सञ्जालका प्लेटफर्मले बालबालिकालाई ती प्लेटफर्ममा सुरक्षित राख्न नसकेको खण्डमा जरिवाना तिराउने बेलायती निकाय ‘अफकम’ले चेतावनी दिएको थियो । त्यसलगत्तै मेटाले यस्तो फिचरमा काम गर्न लागेको हो ।
यस्तो फिचर मेटाका अन्य प्लेटफर्म मेसेन्जर र ह्वाट्सएपमा पनि ल्याउन पहल गरिएको छ । विभिन्न देशका कानुनी निकायले सामाजिक सञ्जालका प्लेटफर्ममा किशोर किशोरीलाई लक्षित हुने सेक्सटर्सनका घटना बढेको बताउँदै आएका छन् । बेलायतको इन्टरनेट वाच फाउन्डेसनका अनुसार सन् २०२३ मा केटाहरूमाथि मात्र ९१ प्रतिशत सेक्सटर्सनका घटना भएका थिए ।
‘भ्यु वन्स’ मार्फत पठाइएका फोटो र भिडिओ एक पटक हेरिसकेपछि स्क्रिनशट लिन वा स्क्रिनरेकर्ड गर्न नमिल्ने तथा रिप्ले गर्न नमिल्ने बनाउन इन्स्टाग्राममा आउने नयाँ टुलले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यो फिचर इन्स्टाग्रामको वेब भर्सनमा पनि लागू हुने बताइएको छ ।
त्यसबाहेक सेक्सटर्सनका घटनाबारे बालबालिका र अभिभावकलाई सचेत बनाउने अभियान समेत कम्पनीले थालेको छ ।