close

ईभीमा २०-८० प्रतिशत चार्जिङ रेसियो: यस्तो छ ब्याट्री लाइफसँग जोडिएका यथार्थ र भ्रम

टेकपाना टेकपाना

कात्तिक ३, २०८१ ११:४८

ईभीमा २०-८० प्रतिशत चार्जिङ रेसियो: यस्तो छ ब्याट्री लाइफसँग जोडिएका यथार्थ र भ्रम

काठमाडौं । सामान्यतया विद्युतीय सवारी चालकले आफ्नो सवारी साधनको ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म मात्र चार्ज गर्ने गर्छन् । यसो गर्नाले गाडीको ब्याट्री लाइफ बढ्ने, चार्जिङ टाइम घट्ने र रेन्ज पनि बढी प्राप्त गर्न सकिने विश्वास लिइन्छ ।

कतिपय ईभी कम्पनीहरूले नै गाडीको चार्ज २०-८० प्रतिशतको बीचमा राख्नुपर्ने सल्लाह दिएको पाइन्छ । तर के साँच्चै हरेक विद्युतीय गाडीमा यो २०-८० रेसियो नियम फाइदाजनक हुन्छ ? के यसले ब्याट्री लाइफ, रेन्ज, चार्जिङ टाइम वा अन्य कुनै पक्षमा उल्लेख्य फाइदा पुर्‍याउँछ ? यस सामग्रीमा हामी यिनै विषयवस्तुहरू बारेमा सविस्तार चर्चा गर्नेछौँ:

चार्जिङ टाइम र रेन्जमा पर्ने असर

२०-८० को रेसियो कायम गर्दा चार्जिङ टाइम र तत्पश्चात प्राप्त गर्न सकिने रेन्जमा कस्तो किसिमको असर देख्न सकिन्छ ? यसलाई बुझ्नु पूर्व थाहा पाउनुपर्ने कुरा के छ भने विद्युतीय गाडीको ब्याट्री रेखीय रूपमा चार्ज हुँदैन । अर्थात्, ईभीको ब्याट्री चार्ज हुने गति चार्जिङ अवधिभर स्थिर हुँदैन । धेरैजसो ईभीहरूले २० देखि ८० प्रतिशतसम्म बढी विद्युतिय शक्ति खपत गर्ने गर्छन्, जसकारण ८० प्रतिशतभन्दा माथि ब्याट्री चार्ज गर्दा तुलनात्मक रूपमा बढी समय लाग्छ ।

डीसी फास्ट चार्जिङको समयमा यो भिन्नता उल्लेखनीय रूपमा महसुस गर्न सकिन्छ । टाटा टियागोलाई लिएर भारतमा भएको एक अध्ययनअनुसार ८ प्रतिशतदेखि ७५ प्रतिशतसम्म ब्याट्री चार्ज गर्दा सरदर ५० एम्पियर बिजुली गाडीले लिएको देखिन्छ भने ८० देखि १०० सम्म पुग्दा ७ देखि ३९ एम्पियर मात्र बिजुली गाडीले लिएको देखिन्छ ।

जसकारण २० देखि ८० प्रतिशत चार्ज हुन ४३ मिनेट लगाएको टियागो ईभीले ८० देखि १०० प्रतिशतसम्म थप १९ मिनेट लिन्छ । यो अधिक समय चार्ज गर्नुको साटो ब्याट्री ८० प्रतिशत मात्र चार्ज गरेर यात्रा सुचारु गर्दा गन्तव्यमा चाँडो पुग्न सकिने सम्भावना अवश्य रहन्छ, तर यसको मतलब ८० प्रतिशत चार्ज गर्दा बढी रेन्ज प्राप्त गर्न सकिन्छ भन्ने होइन ।

ब्याट्री लाइफ बढाउँछ ?

बिजुलीको माध्यमबाट गाडी चार्ज गर्दा यसले ब्याट्रीको तापक्रम पनि बढाउने हुँदा यसले ब्याट्री सेलमा पुर्‍याउन सक्ने हानी र आगलागीको खतरालाई न्यूनीकरण गर्नका लागि उत्पादकहरूले नै ८० प्रतिशतपछि ब्याट्री ढिलो चार्ज हुने बनाएका हुन्छन् । यो विषय ब्याट्री लाइफसँग जोडिने कुरा हो ।

ईभीको ब्याट्रीलाई लामो समयसम्म उच्च भोल्टेज दिइराख्दा यसले ब्याट्रीमा दबाव बढाउने हुँदा ८० प्रतिशतसम्म चार्ज गर्दा ब्याट्री लाइफमा केही सकारात्मक असर देखिने विश्वास गरिन्छ । तर यसो भनिरहँदा १०० प्रतिशत चार्ज गर्दा ब्याट्री लाइफ उल्लेखनीय मात्रामा घट्छ भन्ने होइन ।

ब्याट्री लाइफ चार्जिङ 'ह्याबिट'सँग मात्र नभएर चार्ज साइकल, गाडीमा जडान भएको ब्याट्री म्यानेजमेन्ट सिस्टम लगायतका कुराहरूमा पनि भर पर्ने भएकाले चार्जिङ पद्धतिलाई मात्र ब्याट्री लाइफ मापनको आधारको रूपमा लिन सकिँदैन ।

सबै ईभीमा २०-८० रेसियो कायम गर्दा राम्रो हुन्छ ?

हाल प्रयोगमा रहेका धेरै ईभीहरूमा लिथियम आयन ब्याट्री जडान गरिएका हुन्छन् । लिथियम आयन ब्याट्री जडित ईभीहरूमा यो रेसियो कायम गर्नु फाइदाजनक भए तापनि सबै ईभीमा यसको पालन गर्नु पर्छ भन्ने हुँदैन । साथै, हालका दिनहरूमा ईभीमा अत्याधुनिक ब्याट्री म्यानेजमेन्ट सिस्टम पनि जडान हुन थालेको छ । यस्तो किसिमको म्यानेजमेन्ट सिस्टम जडित ईभीहरूमा पनि यो रेसियो कायम गर्नु पर्छ भन्ने हुँदैन ।

डीसी फास्ट चार्जिङ गर्दा मात्र २०-८० रेसियो कायम गर्नुपर्ने हो ?

२०-८० चार्जिङ रेसियोको नियम एसी स्लो चार्जिङ वा डीसी फास्ट चार्जिङ दुवै गर्दा कायम गर्न सकिन्छ । तर सामान्यतया डीसी फास्ट चार्जिङको समयमा यो नियम पालन गर्नु उपयुक्त हुने जानकारहरू बताउँछन् । डीसी फास्ट चार्जिङको समयमा ब्याट्रीमा छोटो समयमा नै धेरै दबाब पर्ने र बढी तापक्रम उत्पन्न हुने भएकाले फास्ट चार्जिङको समयमा यो रेसियो कायम गर्ने सुझाव दिइएको हो ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८१ १२:७