काठमाडौं । आजदेखि भौतिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । बागमती प्रदेश सरकारले नागरिक एपको डिजिटल लाइसेन्सलाई मान्यता दिएसँगै यस्तो व्यवस्था सुरु भएको हो ।
यसअघि १८ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीलाई लाइसेन्स स्क्यान गर्ने विशेष किसिमका स्मार्टफोन (डिभाइस) उपलब्ध गराएको थियो । “हामीले सुरुवाती चरणमा एक हजार स्मार्टफोन मागेका छौं,” टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन कार्कीले भने, “अहिले केही डिभाइस प्राप्त गरेका छौं । ती सबै डिभाइस उपलब्ध भइसकेपछि पूर्ण रूपमा लागू हुनेछ । हामी प्रविधिलाई अवलम्बन गर्दै गइरहेका छौं ।”
हालै मात्र नागरिक एपमा नयाँ अपडेट आएको छ । नयाँ अपडेट आएसँगै लाइसेन्स लिङ्क गरेको छ भने त्यसको तल क्यूआर कोड देखिन्छ । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ । चालकको एपमा देखिएको क्यूआर कोड ड्युटीमा रहेका ट्राफिक प्रहरीले स्क्यान गर्दा त्यसमा चालकको सबै विवरण देखिन्छ ।
सवारी नियम उलङ्घन गरेको खण्डमा प्रहरीले एपबाटै चिट काट्छन् । त्यसपछि यात्रुले तत्कालै ईसेवा वा खल्ती जस्ता डिजिटल वालेटबाट जरिवाना तिर्न सक्छन् । डिजिटल वालेट नभएको खण्डमा भने चिट नम्बर कसैलाई पठाएर भुक्तानीका लागि अनुरोध गर्न सकिन्छ ।
जरिवाना नतिरेको खण्डमा भने एपमा क्यूआर कोड देखिंदैन । क्यूआर कोड नदेखिए लाइसेन्सको जरिवाना तिरेको छैन भन्ने बुझिन्छ । त्यस्तै कक्षा लिनुपर्ने किसिमको सवारी नियम उलङ्घन गरेको खण्डमा भने अनलाइनबाट कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । “अहिले काठमाडौं उपत्यकामा सुरु भएको छ,” उनले भने, “विस्तारै नेपालभर यो व्यवस्था सुरु हुनेछ ।”
त्यस्तै नागरिक एप प्रयोग नगर्ने प्रयोगकर्ताको सन्दर्भमा भने उनीहरूले भौतिक लाइसेन्स नै देखाउनु पर्ने हुन्छ । ट्राफिक नियम उलङ्घन गरेको खण्डमा प्रहरीले लाइसेन्स लिन्छन् । उक्त लाइसेन्स लिन चालक सम्बन्धित कार्यालयमा पुग्नुपर्ने हुन्छ । सबै चालक स्मार्टफोन प्रयोग नगर्ने भएकाले डिजिटल लाइसेन्स प्रणाली पूर्ण रूपमा लागू हुन केही समय लाग्ने उनले जानकारी दिए ।