close

स्टार्टअप अवार्ड आयोजना गर्दै युवा उद्यमी मञ्च, पहिलो हुनेले ४ लाख पाउने

टेकपाना टेकपाना

कात्तिक ९, २०८१ १३:३३

स्टार्टअप अवार्ड आयोजना गर्दै युवा उद्यमी मञ्च, पहिलो हुनेले ४ लाख पाउने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले चौथो संस्करणको स्टार्टअप अवार्ड्स आयोजना गर्ने भएको छ । ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ नाम दिएर मञ्चको काठमाडौं च्याप्टरले यस कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्नु कार्यक्रमको उद्देश्य रहेको छ । यसले उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्न, उद्योगका हस्तीहरूसँग सम्बन्ध बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन एउटा प्लेटफर्मको रूपमा काम गर्ने बताइएको छ । 

यस कार्यक्रममार्फत युवाहरूलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गरिने छ । यो कार्यक्रममार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्सपोजर, मेन्टरशिप र लगानीको अवसर समेत दिइनेछ । तर अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर पाँच वर्ष नकटेको हुनु पर्नेछ । 

कार्यक्रममा सहभागी स्टार्टअप कम्पनीहरू मध्येबाट प्रारम्भिक चरणमा २० स्टार्टअप छानिनेछन् । आयोजकले उनीहरूलाई मार्गदर्शन, विज्ञहरूको सत्र र व्यवसाय विकास गर्न सहयोग प्रदान गर्नेछ ।

त्यसपछि प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ । जहाँ सात जना फाइनलिस्टहरूले निर्णायकहरूको सामु आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्नेछन् । उनीहरूमध्येबाट उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः चार लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

डाक्टर्स अन कल, करोबार एप, गल्ली म्याप्स, पेट मामा, डेलिश डेरी जस्ता स्टार्टअपहरू विगतका संस्करणहरूमा विजेता बनेका हुन् । अहिले यसमा सहभागी हुन आवेदन खुला भइसकेको छ ।

योग्य स्टार्टअपले १५ नोभेम्बरसम्म आवेदन दिन सक्नेछन् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८१ १३:४२