close

ड्रोन उडाउँदै हुनुहुन्छ ? कारबाहीबाट जोगिन थाहा पाइराख्नुहोस् नेपालको कानुनी व्यवस्था

टेकपाना टेकपाना

कात्तिक ११, २०८१ १५:१८

ड्रोन उडाउँदै हुनुहुन्छ ? कारबाहीबाट जोगिन थाहा पाइराख्नुहोस् नेपालको कानुनी व्यवस्था

काठमाडौं । सुन्दर हरियाली पहाड, हिमाली दृश्य, सांस्कृतिक सम्पदा । अहिले यी सबै कैद गर्न ड्रोनको प्रयोग बढ्दो छ । चाहे व्यक्तिगत रूपमा होस् वा व्यावसायिक परियोजनामा, ड्रोनमार्फत भिन्न र आकर्षक दृश्य सजिलै खिच्न सकिन्छ ।

तर ड्रोन उडाउनुअघि केही महत्त्वपूर्ण कानुनी कुरा थाहा पाउनु जरुरी छ । नत्र त तपाईंको ड्रोन जफत हुनेदेखि तपाईंले केही दु:ख समेत पाउनुहुन्छ । आज हामी नेपालमा ड्रोन उडाउनुअघि गर्नुपर्ने कामबारे जानकारी दिने छौं: 

ड्रोनलाई नेपालमा मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि २०७५ ले नियमन गर्छ । कुन स्थानमा उडाउन नपाउने, कुन समयमा उडाउने, दर्ता, उडान अनुमति जस्ता सबै कुरा यस कार्यविधि अन्तर्गत हुने गर्छ । यस कार्यविधि अनुसार जुनसुकै उद्देश्यले प्रयोगमा आउने उडान उपकरणहरू नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गर्नुपर्ने हुन्छ । यसपछि तपाईंले उडान दर्ता नम्बर (युनिक आइडेन्टिफिकेसन नम्बर- यूआईएन) पाउनुहुन्छ ।  

यसपछि निषेधित स्थानबाहेकका ठाउँमा दुई केजीसम्म तौल भएका ड्रोनहरू जमिनको सतहबाट २०० फिटसम्मको उडान अनुमतिपत्रका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र अन्यको हकमा गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ । यो काम केहि दिनमा सम्पन्न हुन्छ । यति गरेपछि तपाईंले उक्त स्थानमा ड्रोन उडाउन सक्नुहुन्छ । तर यति सूचना र प्रक्रिया पर्याप्त छैन  । थप विषयबारे तल चर्चा गरिएको छ: 

के उडान अनुमति बिना ड्रोन उडाउनै पाइन्न त ?

अवश्य पाइन्छ । यसका लागि निश्चित सीमाहरू तोकिएका छन् । कुनै शैक्षिक अध्ययन केन्द्र वा विश्वविद्यालयको परिधिभित्र सम्बन्धित शैक्षिक संस्थाको पूर्व स्वीकृति लिएर बढीमा दुई केजीसम्म तौल भएका ड्रोनलाई अधिकतम २०० फिट उचाइसम्म उडाउन अनुमति आवश्यक पर्दैन ।

यद्यपि यस्तो क्षेत्रमा उडान गर्नुअघि नजिकैको प्रहरी वा सुरक्षा इकाईलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने हुन्छ । साथै व्यक्तिगत गोपनीयतामा आँच पुग्नेगरी उडान गर्न चाहिँ पाइँदैन ।

यस्तै व्यक्तिगत तवरबाट आयोजना गरिने कार्यक्रम, सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व एवम् उत्सवहरूमा मनोरञ्जन प्रयोजनका लागि आफ्नो घर वा क्षेत्रभित्र स्थानीय प्रहरीलाई जानकारी गराएर २५० ग्रामसम्म तौल भएको ड्रोनलाई बढीमा ४० फिटमाथिसम्म उडाउन पाइन्छ ।

सुरक्षा निकायले माग गरेको खण्डमा ड्रोनमार्फत खिचिएको भिडिओ तथा फोटो उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

व्यावसायिक रूपमा ड्रोन उडाउने पाइलटको लाइसेन्स

नेपालको कानुन अनुसार ड्रोन उडान गर्न जोकसैले पाउँदैनन् । यसका लागि १८ वर्ष उमेर पूरा गरेको र रेडिओ फ्रिक्वेन्सी सम्बन्धी आधारभूत ज्ञान तथा तालिम प्राप्त गरेको हुनुपर्छ । 

साथै उडान उपकरण सम्बन्धी आधारभूत ज्ञान समेत हुन आवश्यक छ । व्यावसायिक रूपमा ड्रोन उडान गर्न चाहने व्यक्तिको योग्यता पुगेको वा नपुगेको विषयमा नागरिक उड्डययन प्राधिकरणले मूल्याङ्कन र परीक्षण गर्ने व्यवस्था छ ।

रातको समयमा उडाउन पाइन्न ड्रोन

ड्रोन उडाउने समय समेत निर्धारण गरिएको छ । जसअनुसार सूर्योदयदेखि सूर्यास्तसम्मको दिउँसोको समयमा मात्रै ड्रोन उडाउन सकिने कानुनी व्यवस्था छ । 

यसका साथै ग्राउन्ड भिजिबिलिटी पाँच किलोमिटर र क्लाउड सिलिङ ४५० मिटर न्यूनतम हुनुपर्छ । यस बाहेक पानी, असिना, हिमपात, चट्याङ नभएको अवस्था हुनुपर्छ भने हावाको बहाव १० केनोट्सभन्दा बढी हुनुहुँदैन । 

यी क्षेत्रमा उडाउन पाइँदैन ड्रोन

कार्यविधिले सरकारी निकाय, कुटनीतिक नियोग, प्रतिष्ठान रहेको इलाका, अस्पताल, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्त्वको इलाका, हवाई मार्ग तथा हवाई उड्डययन सञ्चालन क्षेत्र, सैनिक तथा सुरक्षा निकाय रहेको क्षेत्रलाई ड्रोन उडानका लागि संवेदनशील क्षेत्रको रूपमा राखेको छ । 

यसैगरी बस्ती, समुदाय, संरक्षित तथा आरक्षित क्षेत्रलाई मध्यम र मानव बस्तीरहित, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुल्ला क्षेत्रलाई सामान्य क्षेत्रको रूपमा वर्गीकरण गरेको छ । 

यस हिसाबले विमानस्थल, उचाइ सुरक्षित गरिएका हवाई मार्ग र अन्तर्राष्ट्रिय सीमानाको पाँच किलोमिटर क्षेत्रमा ड्रोन उडाउन पाइन्न । साथै काठमाडौं उपत्यकाको माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र लगायतका धार्मिक तथा पुरातात्त्विक सम्पदा क्षेत्रमा समेत ड्रोन उडाउन पाइँदैन । 

सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट पदाधिकारीहरूको कार्यालय तथा निवास रहेको क्षेत्रको एक किलोमिटर वरपरसम्मलाई पनि ड्रोनका लागि नियन्त्रित क्षेत्रमा राखिएको छ ।

सुरक्षा निकायको मुख्यालय तथा तालिम केन्द्र रहेको स्थानबाट एक किलोमिटरको दूरी र अन्य सुरक्षा इकाईबाट आधा किलोमिटरको दूरीमा समेत ड्रोन निषेध छ । 

उपत्यका बाहिरको हकमा स्थानीय प्रशासन तथा अधिकार प्राप्त निकायले निर्धारण गरेका धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा नियन्त्रित क्षेत्रहरूमा ड्रोन उडाउन रोक लगाइएको छ । 

अनुमति बिना ड्रोन उडाए के हुन्छ कारबाही ?

सरकारी नियम विपरीत ड्रोन उडाएको खण्डमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनसक्छ । अनुमति नलिई ड्रोन उडान गरेको खण्डमा अनधिकृत ड्रोन जफत गरिने व्यवस्था ड्रोन सम्बन्धी कार्यविधिमा छ । 

साथै ड्रोन उडानबाट कुनै व्यक्तिको गोपनीयताको हक हनन् भएको खण्डमा वा वैयक्तिक रूपमा क्षति पुगेको भए पीडित पक्षको निवेदनमा कानुन अनुसार कारबाही हुन सक्छ । यसका साथै निषेधित क्षेत्रमा ड्रोन उडाए जफत हुने र धनी अथवा पाइलट कानुनी कारबाहीमा पर्न सक्छन् । 

यी त भए मुख्य-मुख्य कानुनी कुरा । तपाईंले यसबाहेक ड्रोनको बीमा गर्ने, नो-फ्लाइट जोनबारे जानकारी लिने, ड्रोन उडाउने ज्ञान सम्बन्धी थप जानकारी लिए राम्रो हुन्छ । अझ ड्रोन किन्नु अगावै तपाईंले यस कार्यविधि अध्ययन गर्नु भएको राम्रो हुन्छ । यसले तपाईंलाई ड्रोन सम्बन्धी कानुनी कुराबारे जानकारी प्रदान गर्छ । कार्यविधि पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८१ १६:५६