काठमाडौं । गुगल मेसेजमा अब गुणस्तर नघटाई फोटो पठाउन सकिने भएको छ । गुगलले आरसीएस प्रविधिको मद्दतले वास्तविक गुणस्तरमै फोटो पठाउन मिल्ने सुविधा दिन लागेको हो ।
एन्ड्रोइड पुलिसका अनुसार यो सुविधा ह्वाट्सएप र मेसेन्जरमा देखिएका एचडी फोटो पठाउने फिचरजस्तै हुनेछ । यसले प्रयोगकर्तालाई फोटो पठाउनुअघि एचडी वा एचडी प्लसको विकल्प चयन गर्न दिनेछ ।
एचडी विकल्पमा पठाउँदा फोटोको आकार र गुणस्तर घट्न सक्छ भने एचडी प्लसमा फोटो पूरै वास्तविक गुणस्तरमा पठाइनेछ । हाल गुगल मेसेजमा अल्ट्रा एचडीआर फोटो पठाउन सकिने फिचर बेटा भर्सनमा उपलब्ध छ । यो फिचर एन्ड्रोइड १४ सँगै सुरु गरिएको थियो ।
गुगल मेसेजमा नयाँ फिचर आएसँगै गुणस्तर फोटो पठाउन अन्य विकल्प प्रयोग गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।