close

बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

टेकपाना टेकपाना

कात्तिक २२, २०८१ १२:६

बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राज्य अमेरिकामा ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य १० प्रतिशतले वृद्धि भई ७६ हजार १०६ डलर (करिब एक करोड दुई लाख रुपैयाँ) बराबर पुगेको छ ।

ट्रम्पको क्रिप्टो सम्बन्धी धारणा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको भन्दा निकै फरक देखिन्छ । बाइडेन प्रशासनले क्रिप्टो कम्पनीहरूमा व्यापक दमन गर्दै आएको बताइन्छ । यता ट्रम्पले भने अमेरिकालाई 'विश्वको बिटक्वाइन सुपरपावर' बनाउने वाचा गरेका छन् ।

निर्वाचन अभियानका क्रममा ट्रम्पले अमेरिकी नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष गेरी गेन्स्लरलाई हटाउन सक्ने सङ्केत दिएका थिए । गेन्स्लरले धेरै क्रिप्टो कम्पनीहरूमाथि कानुनी कारवाही गरिरहेका छन् ।

ट्रम्पले सरकारको अनावश्यक खर्चको अडिटका लागि अर्बपति एलन मस्कलाई जिम्मा दिने योजना पनि सार्वजनिक गरेका छन् ।

मस्क लामो समयदेखि क्रिप्टोकरन्सीका समर्थक रहँदै आएका छन् । उनले चलाएको कम्पनी टेस्लाले सन् २०२१ मा १.५ अर्ब डलर बिटक्वाइनमा लगानी गरेको थियो । यद्यपि यो डिजिटल मुद्राको मूल्य अत्यन्तै अस्थिर रहन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८१ १२:६