close

ट्रम्प राष्ट्रपति हुँदा एलन मस्कलाई केके हुन्छ फाइदा ?

टेकपाना टेकपाना

कात्तिक २३, २०८१ ७:१५

ट्रम्प राष्ट्रपति हुँदा एलन मस्कलाई केके हुन्छ फाइदा ?

काठमाडौं । डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो पटक ह्वाइट हाउसमा फर्किंदैछन् । मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा निकट प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी कमला ह्यासिरलाई हराएर उनी अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । २० जनवरी २०२५ मा ट्रम्प सपथ ग्रहण गर्दै राष्ट्रपतिको पद सम्हाल्नेछन् ।

ट्रम्प राष्ट्रपति भएसँगै उनका सबैभन्दा ठूला समर्थकमध्येका एक एलन मस्कका लागि यो सुनौलो अवसरका रूपमा देखा परेको छ । निर्वाचनअघि तन, मन र धनले सहयोग गरेका मस्कले निर्वाचन दिन र रात ट्रम्पसँगै फ्लोरिडाको एक रिसोर्टमा बिताएका थिए । 

“अमेरिकी जनताले आज राति डोनाल्ड ट्रम्पलाई परिवर्तनको लागि एकदम स्पष्ट जनादेश दिएका छन्,” ट्रम्पको जीत लगभग निश्चित हुन थालेपछि मस्कले सामाजिक सञ्जाल एक्स लेखेका थिए ।

जित्ने पक्कापक्की भइसकेपछि ट्रम्पले पाल्म बिच कन्भेन्सन सेन्टरमा आयोजित विजयी सभामा मस्कको खुलेर तारिफ गरे । मस्कको कम्पनी स्पेसएक्सले पुनः प्रयोग गर्न सकिने रकेटको क्षेत्रमा पाएको सफलताबारे आफ्नो धारणा दिएका थिए । 

गत जुलाईमा ट्रम्पमाथि गोली हानी हत्याको प्रयास भए लगत्तै मस्क उनको समर्थनमा उभिएका थिए । उनले मतदाता रिझाउन दैनिक १० लाख डलर चिठ्ठामार्फत उपहार दिने घोषणा नै गरे । ट्रम्पको चुनावी अभियानलाई सघाउन मस्कले अमेरिका पीएसी समूह स्थापना गरेर आर्थिक सहयोग गरे । बीबीसीका अनुसार त्यस अवधिमा मस्कले ट्रम्पको अभियानमा ११ करोड ९० लाख डलर दान दिएका थिए । 

निर्वाचन अघिको एक साता मस्क ट्रम्पसँगसँगै चुनावी अभियानमा हिंडे । मस्कले मतदातालाई चिठ्ठा बापत १० लाख डलर उपहार दिने निर्णय नै विवादित बनेको थियो । पछि अदालतले मस्कको पक्षमा आदेश दिएपछि उनले त्यसलाई ५ नोभेम्बरसम्मै निरन्तरता दिएका थिए । 

ट्रम्पलाई दोस्रो पटक राष्ट्रपति बनाउन मस्कले आफ्नो नाम, पैसा, प्लेटफर्म सबै समर्पित गरे । ट्रम्पले यसअघि नै आफ्नो दोस्रो कार्यकालमा सरकारको फजुल खर्च कटौती गर्न मस्कलाई आफ्नो प्रशासनमा निम्तो दिने प्रतिवद्धता दिएका थिए । 

‘डज’ (DOGE) मस्कले यसअघि  चर्चित बनाएको क्रिप्टोकेन्सी र मिम हो । ट्रम्पको पुनरागमनसँगै मस्कले सम्हाल्ने निकाय त्यही नाम ‘डज’ अर्थात् 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी' हुने बताइएको छ । यसले सरकारी काम कारवाहीलाई छिटो छरितो बनाउन भूमिका खेल्नेछ । 

ट्रम्पको राष्ट्रपति पदको फाइदा मस्कले आफ्नो स्पेस कम्पनी स्पेसएक्समार्फत पनि उठाउन सक्छन् । यसअघि नै स्पेसएक्स अन्तरिक्षमा स्याटलाइट पठाएर सरकारी निकायमाथि हाबी बनेको थियो । यसमा पनि मस्कले अब विभिन्न परियोजनामा आफ्नो कम्पनीलाई अगाडि सार्न सक्छन् । 

मस्क बोइङ लगायतका आफ्ना प्रतिद्वन्दीको आलोचना गरिरहेका हुन्छन् । खासगरी ती कम्पनीले सरकारसँग गरेको सम्झौता अनुसार समयमै काम नगरेको मस्कको आरोप छ । 

उनी सरकारसँगको सम्झौताहरूको संरचनाले परियोजना समयमै र बजेटअनुसार पूरा गर्नको लागि प्रोत्साहन नगर्ने बताउँछन् ।

बीबीसीका अनुसार स्पेसएक्सले पनि गुप्त उपग्रहहरू निर्माणमा हात हालेको छ । ठीक त्यही समयमा पेन्टागन र अमेरिकी गुप्त एजेन्सीहरूले तिनमा अरबौं डलर लगानी गर्ने तयारी गरिरहेका छन् । 

यसैबीच ट्रम्पले मस्कलाई जिम्मा दिने प्रशासनमा ‘सबैभन्दा कम नियामक बोझ’ हुने बताएका थिए । यसबाट मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले पनि राम्रै फाइदा उठाउन सक्छ । गत महिना सडक सुरक्षा नियन्त्रण गर्ने अमेरिकी एजेन्सीले टेस्लाको स्वचालित ड्राइभिङ सफ्टवेयर परीक्षण गर्ने जनाएको थियो । मस्कले यसमा पनि फाइदा उठाउन सक्छन् । 

मस्कले टेस्ला कर्मचारीहरूलाई युनियन बनाउनबाट रोक्न खोजेको भन्दै आलोचना गरिएको थियो । अमेरिकी अटो वर्कर्सले ट्रम्प र मस्कविरुद्ध असमान श्रमिक अभ्यासको आरोप लगाएको छ । एक्स‍स्पेसको एक संवादका क्रममा मस्कले हडताल गरिरहेका कर्मचारीहरूलाई निकाल्ने कुरा गरेका थिए । यस विषयमा पनि ट्रम्पले मस्कलाई सघाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८१ ७:१५