close

ट्रुकलरमा कृषि विकास बैंकको नाम देखेपछि झुक्किएर जनप्रतिनिधिले केही मिनेटमै गुमाए ३ लाख

टेकपाना टेकपाना

कात्तिक २५, २०८१ १६:०

ट्रुकलरमा कृषि विकास बैंकको नाम देखेपछि झुक्किएर जनप्रतिनिधिले केही मिनेटमै गुमाए ३ लाख

 

काठमाडौं । केही दिनअघि नागार्जुन नगरपालिकाका एक वडा सदस्यको फोनमा सेभ नगरेको नम्बरबाट कल आयो । नम्बर सेभ नगरेको भए पनि ट्रुकलरले त्यो नम्बर कृषि विकास बैंक लिमिटेडको हो भन्ने देखाइएको थियो । त्यसपछि ती वडा सदस्यले फोन उठाए ।

फोन उठाएपछि कल गर्ने व्यक्तिले आफू कृषि विकास बैंकको प्रतिनिधि भएको जानकारी दिए । ट्रुकलरमै नम्बर र नाम देखिएपछि ती वडा सदस्य पनि ढुक्क भए र कामको कुरा अगाडि सारे ।

बैंकको नामबाट फोन गर्ने ती व्यक्तिले वडा सदस्यसँग उनको खाता अपग्रेड गर्नु पर्‍यो भन्दै खाता नम्बर, जन्ममिति मागे । त्यसपछि वडा सदस्यसँग ओटीपी पिन र पासवर्ड पनि मागे । अनि फोन राखे । त्यसको केही मिनेटमै ती वडा सदस्यको अकाउन्टबाट तीन लाख रुपैयाँ ट्रान्सफर भइसकेको मेसेज आयो ।

लगत्तै वडा सदस्यले बैंकलाई खबर गरे । यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि यस घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीका अनुसार यो एउटा प्रतिनिधि घटना मात्र हो ।

पछिल्लो समय बैंकको कर्मचारी बोलेको भन्दै झुक्काएर संवेदनशील जानकारी चोरी गर्ने गिरोह नै सक्रिय छ । “अर्कैको नाम र सिम प्रयोग गरेर बैंक अकाउन्ट र सिम बनाउने रहेछन्,” बोगटीले घटनाको प्रारम्भिक अनुसन्धानबारे जानकारी दिंदै भने, “पैसा अन्तिममा भारतबाट निकालिएको देखिन्छ ।”

प्रहरी उपरीक्षक बोगटीले यस्ता घटनामा सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेका छन् । “बैंकबाट फोन गरेको भन्दैमा विश्वास गरेर सबै विवरण दिनु हुँदैन,” बोगटीले भने, “कसैले कुनै प्रलोभन देखाएर विवरण माग्यो भने पनि सचेत हुनुपर्छ ।”

वडा सदस्य ट्रुकलरकै नम्बरबाट झुक्किएर लाखौं रुपैयाँ गुमाउन पुगे । ट्रुकलरमा भएको नाम नै शतप्रतिशत साँचो नाम हो भन्ने कतिपयको मान्यता छ । भेरिफाइड मार्क छ भने पनि त्यो वास्तविक अकाउन्ट नहुन सक्छ । सजिलै ईमेल राखेर अकाउन्ट बनाएको खण्डमा ट्रुकलरले अकाउन्ट भेरिफाइ गरिदिन्छ ।

त्यस्तै ह्वाट्सएपमा पनि कुनै व्यक्ति वा संस्थाको नाम, फोटो वा लोगो दुरुपयोग गरी ठगी गर्ने घटना देखिएका छन् । ट्रुकलर जस्तै ह्वाट्सएपमा पनि जसले जोकोहीको नाम र फोटो राख्न सक्छ । त्यसैले ह्वाट्सएप वा ट्रुकलरमा नम्बर देखिएकै भरमा विश्वास गरेर संवेदनशील जानकारी उपलब्ध गराउनु मूर्खता हो । यसबाट महत्त्वपूर्ण विवरण बाहिरिनुका साथै बैंक अकाउन्ट रित्तिने जोखिम हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८१ १६:७