काठमाडौं । यदि तपाईँ निश्चित डेटा प्याक लिएर चलाउने गर्नु हुन्छ भने फोनमा डेटा खपत कम गर्न जरुरी हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि यसरी डेटा बचत गर्ने विभिन्न तरिकाहरू छन् । आज हामी तपाईँलाई त्यस बारेमा बताउँदै छौं ।
१. डेटा सेभर मोड प्रयोग गर्ने
अचेलका अधिकांश एन्ड्रोइड फोनहरूमा डेटा सेभर मोड हुने गर्छ, जसले डेटा बचत गर्न धेरै डेटा खपत गर्ने सेवाहरूलाई रोक्ने काम गर्छ । यो मोडले खासगरी इन्स्टल गरिएका एपहरूका लागि ब्याकग्राउन्ड डेटा बन्द गर्छ र व्यक्तिगत हटस्पट चालु गर्ने क्षमतालाई निष्क्रिय तुल्याउँछ ।
एन्ड्रोइड फोनमा डेटा सेभर मोड अन गर्नका लागि सेटिङबाट मोबाइल नेटवर्क हुँदै डेटा युजेजमा जानुहोस् । अब तल स्क्रोल गर्नुहोस् र 'Data Saving' अथवा 'Data Saver' मा थिचेर त्यसलाई अन गर्नुहोस् ।
भविष्यमा डेटा सेभिङ मोड बन्द गर्नु पर्यो भने यही ठाउँमा आएर डेटा सेभिङ टोगललाई बन्द गर्न सक्नु हुन्छ । यदि तपाईंको मोबाइलमा त्यस्तो एप छ, जसका लागि तपाईँ यो मोडले डेटा निषेध नगरोस् भन्ने चाहनु हुन्छ भने त्यस्ता एपलाई अपवादको रूपमा राख्न सक्नु हुन्छ ।
यसका लागि 'Data Saving' अन्तर्गत 'Unrestricted Apps' अथवा 'Unrestricted data' मा दबाउनु होस् र आफूले चाहेको एपसँगै रहेको टोगल बटन अन गर्नुहोस् ।
२. आफूलाई मनपर्ने एपको लाइट भर्सन प्रयोग गर्ने
गुगल प्ले स्टोरमा थुप्रै एन्ड्रोइड एपका लाइट भर्सन पनि उपलब्ध छन् । जुन स्ट्यान्डर्ड भर्सनकै सरलीकृत भर्सन हुन्, जसले तपाईँलाई आफ्नो मन पर्ने प्लेटफर्म प्रयोग गर्ने क्रममा डेटा बचत गर्ने विकल्प दिन्छन् ।
उदाहरणका लागि तपाईंले फेसबुक, स्पोटिफाई, टिकटक जस्ता एपहरूका लागि छुट्टाछुट्टै लाइट भर्सन पाउन सक्नु हुन्छ ।
३. निश्चित एपहरूका लागि मोबाइल डेटा डिसेबल गर्ने
तपाईंको फोनमा रहेका केही एपहरू अत्यधिक डेटा खपत गर्ने किसिमका हुन्छन् । तपाईं मोबाइल डेटा चलाउने क्रममा त्यस्ता एपहरूलाई रोक्न सक्नु हुन्छ ।
यसो गर्दा यी एपहरूले तपाईंको सेलुलर मोबाइल डेटा प्रयोग गर्दैनन्, केवल तपाईं वाई-फाई नेटवर्कमा भएको अवस्थामा मात्रै इन्टरनेटमा कनेक्ट हुन्छन् । यसका लागि आफ्नो एन्ड्रोइड फोनको सेटिङबाट मोबाइल नेटवर्क हुँदै डेटा युजेज भित्र रहेको नेटवर्क एक्सेस अथवा डेटा म्यानेजमेन्टमा जानुहोस् र सूचीमा रहेको कुनै एपमा थिच्नुहोस् ।
त्यहाँबाट वाई-फाईमा मात्रै चल्ने बनाउने कि मोबाइल डेटामा समेत चल्ने बनाउने भन्ने कुरा तय गर्न सक्नु हुन्छ ।
४. एपहरूका लागि मिडियाको अटो डाउनलोड बन्द गर्ने
ह्वाट्सएप जस्ता थुप्रै एपहरूले मोबाइल डेटा प्रयोग गरिरहेको बेला समेत च्याटबाट मिडिया फाइलहरू स्वतः डाउनलोड गरिरहेका हुन्छन् । वास्तवमा तपाईं आफ्ना एपहरूलाई सेलुलर मोबाइल डेटामा रहेको बेला यस्ता मिडिया फाइलहरू डाउनलोड नगर्ने बनाउन सक्नु हुन्छ ।
ह्वाट्सएपमा यसका लागि एपभित्र माथि दायाँ कुनामा रहेको ३ थोप्ले बटनमा थिच्नुहोस् र सेटिङमा प्रवेश गर्नुहोस् । अब स्टोरेज एन्ड डेटामा जानुहोस् अनि मिडिया अटो-डाउनलोड खन्डमा गएर 'When Using Mobile Data' मा थिच्नुहोस् ।
सबै अप्सनबाट टिक हटाउनुहोस्, ताकि एपले कुनै पनि कुरा डाउनलोड गर्ने छैन । अन्तिममा 'OK' छान्नुहोस् ।
५. भिडिओलाई कम गुणस्तरमा चलाउने
थुप्रै भिडिओ स्ट्रिमिङ एपहरूमा डिफल्ट रूपमा नै उच्च गुणस्तरमा चल्नेगरी राखिएको हुन्छ । जसले तपाईँको थुप्रै मोबाइल खपत गरी दिन्छन् ।
तपाईँले मोबाइल डेटा खपत कम गर्न आफ्नो फोनमा रहेका यस्ता एपभित्र गएर भिडिओको गुणस्तर केही मात्रामा घटाउन सक्नु हुन्छ । उदाहरणका लागि युट्युबमा गएर कुनै एउटा भिडिओ बजाउनु होस् ।
भिडिओको माथि दायाँ कुनामा रहेको गियर आइकनमा थिच्नुहोस् र 'Quality' भित्र रहेको 'डेटा सेभर' रोज्नुहोस् । यसैगरी म्यानुअल किसिमले भिडिओ कुन गुणस्तरमा चलाउने भन्ने कुरा तय गर्न त्यहाँ रहेको 'Advanced' मा जानुहोस् र कुनै एउटा रोज्नुहोस्, उदाहरणका लागि 360p ।
६. मोबाइल डेटामा क्लाउड ब्याकअप बन्द गर्ने
यदि तपाईं गुगल ड्राइभ, ड्रपबक्स, गुगल फोटोज जस्ता क्लाउड स्टोरेज एप प्रयोग गर्नु हुन्छ भने मोबाइल डेटा चलाइरहँदा यी एपहरूको ब्याकअप विकल्प बन्द राख्न सक्नु हुन्छ । अन्यथा यी एपले तपाईंको फोनबाट मोबाइल डेटाबाटै नियमित रूपमा क्लाउडमा डेटा अपलोड गरिरहेका हुन्छन् ।
यसलाई रोक्नका लागि उदाहरणको रूपमा गुगल ड्राइभमा जानुहोस् र ह्यामबर्गर मेनु (तीन ओटा समानान्तर धर्सा) हुँदै सेटिङमा जानुहोस् र 'Transfer Files Only Over Wi-Fi' छान्नुहोस् । गुगल फोटोजमा यस खाले परिवर्तन गर्न एपभित्र रहेको प्रोफाइल तस्विरमा थिच्नुहोस् अनि फोटोज सेटिङमार्फत ब्याकअप हुँदै 'Mobile Data Usage' र 'No Data' छान्नुहोस् ।
७. म्याप अफलाइन मोडमा चलाउने
यदि तपाईं नेभिगेसनका लागि गुगल म्याप जस्ता एप चलाउनु हुन्छ भने त्यस्ता एपलाई मोबाइल डेटा प्रयोग गर्न नदिन आफू जानु अघि सम्बन्धित क्षेत्रको म्याप डाउनलोड गर्नुहोस् । यसले तपाईंले छानेको क्षेत्रमा मोबाइल डेटाको प्रयोग बिना नै तपाईंलाई नेभिगेट हुने मौका दिन्छ ।
यसका लागि आफू वाई-फाई नेटवर्कमा भएको बेला गुगल म्याप खोल्नुहोस् । एपमा आफूले डाउनलोड गर्न चाहेको क्षेत्रमा नेभिगेट गर्नुहोस् र एपको माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल तस्विरमा थिचेर 'Offline Maps' रोज्नुहोस् ।
अब अफलाइन म्याप पेजमा 'Select Your Own Map' रोज्नुहोस्, त्यसपछि एपले तपाईंले नेभिगेट गरेको क्षेत्रलाई हाइलाइट गर्नेछ । यहाँबाट तपाईं आफूले चाहेको क्षेत्रमा यताउति गर्न पनि सक्नु हुन्छ । जब तपाईं तयार बन्नु हुन्छ, म्याप डाउनलोड गर्न तल रहेको 'Download' बटनमा ट्याप गर्नुहोस् । यसरी म्याप डाउनलोड भइसकेपछि तपाईंले अफलाइनमा समेत त्यसलाई प्रयोग गर्न सक्नु हुन्छ ।
माथि उल्लिखित विधिले तपाईंलाई मोबाइल डेटा बचत गर्न निकै सघाउ पुर्याउने छन् । यस बाहेक भिडिओ कल नगर्ने, लामो समयसम्म वेब ब्राउजिङ नगर्ने लगायत अन्य टिप्सहरू पनि तपाईँले अपनाउन सक्नु हुन्छ ।