close

मङ्गल ग्रहमा पानी रहेको प्रमाण भेटिएको चिनियाँ वैज्ञानिकको दाबी

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ २०:१८

मङ्गल ग्रहमा पानी रहेको प्रमाण भेटिएको चिनियाँ वैज्ञानिकको दाबी

काठमाडौं । चिनियाँ  रोभरले रातो ग्रहका नामले चिनिने मङ्गल ग्रहमा पानी रहेको प्रमाण फेला पारेको छ । हालै मात्र नेचर डटकमा प्रकाशित वैज्ञानिक रिपोर्टका अनुसार चिनियाँ रोभर चुरोन (Zhuron) ले विशेष गुण भएको अवशेष फेला पारेको हो । 

यसले मङ्गल ग्रहको युटोपिया प्लानिटिया क्षेत्रमा धेरै पहिले समुन्द्र रहेको सङ्केत गरेको छ । यो क्षेत्र मङ्गल ग्रहको उत्तरी गोलार्धमा पर्छ । वैज्ञानिकहरूले लेखेको शोधपत्र अनुसार त्यस क्षेत्रमा पानी बग्ने आकारका खाल्डाखुल्डी र अन्य आकृति छन् । 

उनीहरूका अनुसार मङ्गल ग्रहको युटोपिया प्लानिटिया क्षेत्रमा पानीसँग सम्बन्धित अन्य विशेषताहरू पनि देखिएका छन् । यद्यपि पत्ता लागेका यी विभिन्न विशेषताले त्यहाँ पहिले महासागरको अस्तित्व भएको विषयलाई शत प्रतिशत  प्रमाणित नगर्ने वैज्ञानिकले उल्लेख गरेका छन् । 

यी संरचना पानी बिना पनि बन्न सक्ने उनीहरूको भनाई छ । केही मानिसहरूले यस अध्ययनका दाबीहरूमा आशङ्का व्यक्त गरेका छन् । तियानमेन वन स्पेसक्राफ्ट मिसन अन्तर्गत चीनले १५ मे २०२१ मा मङ्गल ग्रहको युटोपिया प्लानिटिया क्षेत्रमा चुरोन रोभर प्रक्षेपण गरेको थियो । 

यो क्षेत्र समथर छ । त्यसैले सो क्षेत्रमा यान सुरक्षित रूपमा अवतरण हुने सम्भावना बढी हुन्छ । त्यसैले पनि वैज्ञानिक अनुसन्धानका लागि यो ठाउँ छनोट गरिएको हो । युटोपिया प्लानिटिया मङ्गल ग्रहको उत्तरी समथल क्षेत्रमा अवस्थित छ, जुन ठुलो युटोपिया इम्प्याक्ट बेसिन भित्र पर्छ । 

यो सूर्यमण्डलमा सबैभन्दा ठुलो भनेर चिनिने इम्प्याक्ट क्रेटरहरू मध्येको एक हो । यसको क्षेत्रफल हजारौं किलोमिटरमा फैलिएको छ । र, यसको व्यास लगभग दुई हजार माइल रहेको अनुमान गरिएको छ । युटोपिया प्लानिटियाका केही भागको सतहमा विभिन्न आकारका ढाँचाहरू देखिन्छन् । 

यी ढाँचाले कुनै समय त्यहाँ फ्रिज-थाव साइकल (freeze-thaw cycles) भएको सङ्केत दिएको छ । यो सम्भवत: भूमिगत हिम पानीसँग सम्बन्धित हुन सक्ने अनुमान वैज्ञानिकहरूको छ । मङ्गल ग्रह पहिले पानीले ढाकिएको थियो भन्ने धारणा धेरै वर्षदेखि अस्तित्वमा छ । 

तर, त्यसलाई प्रमाणित गर्ने यथेष्ट प्रमाण भने कसैले सङ्कलन गर्न सकेका छैनन् । यस ग्रहले आफ्नो कमजोर चुम्बकीय क्षेत्रका कारण समयसँगै वायुमण्डलको ठुलो हिस्सा गुमाएको छ । पातलो वायुमण्डलले सतहमा तरल पानीलाई स्थिर राख्न नसकेकाले पानी सोझै हिउँबाट वाष्पमा परिणत भएको विश्वास गरिन्छ ।

केही विश्लेषकहरूले मङ्गल ग्रहमा सम्भावित महासागर लगभग ३.७ अर्ब वर्ष पहिले बाढीका कारण बनेको हुन सक्ने औँल्याएका छन् । र, यो ३.४ अर्ब वर्ष अघि जमेर गायब भएको उनीहरूको आशङ्का छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ २०:१८