close

त्रिवि विज्ञान प्रविधि सङ्कायको रङ्गीबिरङ्गी नयाँ वेबसाइट, तपाईँलाई कस्तो लाग्यो ?

टेकपाना टेकपाना

कात्तिक २७, २०८१ १५:५०

त्रिवि विज्ञान प्रविधि सङ्कायको रङ्गीबिरङ्गी नयाँ वेबसाइट, तपाईँलाई कस्तो लाग्यो ?

काठमाडौं । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी)ले नयाँ र पुरानो गरी दुई वेबसाइट सञ्चालन गरिरहेको छ । जसमा iost.tu.edu.np नयाँ हो भने tuiost.edu.np पुरानो वेबसाइट हो । 

०८१ लागेयता आईओएसटीले नयाँ वेबसाइटमार्फत आधिकारिक सूचना प्रवाह गर्दै आइरहेको छ । तर वेबसाइट खोलेर हेर्दा यो आधिकारिक होइन कि भन्ने भान हुन्छ । यसको कारण वेबसाइटमा प्रयोग भएको ग्राफिक्स हो । 

अहिले वेबसाइट खोल्दा भद्दा खालका दुई ओटा रोडब्लक देखिन्छन् । जसमा प्रयोग भएको अधिक रङ्गले सूचना पढ्नै हम्मेहम्मे बनाउँछ । स्मार्टफोनबाट वेबसाइट खोल्न त झनै गाह्रो छ ।

यूआई/यूएक्स सम्बन्धी काम गर्नेहरू रोडब्लकले वेबसाइटको गुणस्तर कम गर्ने बताउँछन् । रोडब्लक राम्रो डिजाइनमा हुँदा र बढीमा एउटासम्म हुँदा ठीकै हुन्छ । तर आईओएसटीको वेबसाइटमा राखिएका रोडब्लकले जोकोहीलाई दिक्क बनाउँछ । 

अझ मध्य भागमा राखेको इन्फोग्राफिक्स स्लाइडले वेबसाइटलाई थप भद्दा बनाइदिएको छ । इन्फोग्राफिक्समा सङ्काय सम्बन्धी विभिन्न जानकारी छन् । तर ती हेर्दा कुनै सिकारु ग्राफिक्स डिजाइनरले बनाएको जस्तै लाग्छ ।

यूएक्स/यूआईमा विगत १३ वर्षदेखि काम गर्दै आएका मनिष ओझा आईओएसटीको वेबसाइट छिर्नासाथ दिगमिग लाग्ने बताउँछन् । आईओएसटीले प्रयोग गरेको डिजाइन हेर्दा डिजाइनरमा डिजाइन सम्बन्धी आधारभूत कुरा पनि थाहा नभएको महसुस हुने उनी सुनाउँछन् ।

“थाहा भएका सबै रङ्ग प्रयोग गरिएको छ । कतै पनि विवरणहरू पढ्न सकिँदैन । टाइपोग्राफीको हाइरार्की केही मिलेको छैन । यस्तो डिजाइनले त आईओएसटीले दिन खोजेका सन्देशहरू प्रयोगकर्ताले पढ्दैनन्,” उनी भन्छन्, “कति महत्त्वपूर्ण सूचना पनि बच्चाले एमएस पेन्टमा गरेजस्तो रंगीन बनाइएको छ । कुनै नयाँ प्रयोगकर्ता आएर वेबसाइट हेर्दा पनि डिजाइन यस्तो देख्यो भने यो त आधिकारिक वेबसाइट हैन होला भनेर गम्भीरतापूर्वक नलिन सक्छ ।”

यसैगरी वेबसाइटमा भएका अन्य इलिमेन्टहरू पनि प्रयोगकर्तामैत्री छैनन् । उदाहरणका लागि वेबको तल्लो खण्डमा बारम्बार सोधिने प्रश्नहरूको खण्ड छ । तर त्यसमा जम्मा तीन प्रश्न राखेर काम टारिएको छ । 

त्यस्तै होम बटन छेवैमा क्यालेन्डरको आइकन राखिएको छ । तर झट्ट हेर्दा त्यो क्यालेन्डर जस्तो देखिन्छ । क्यालेन्डर खोले पनि त्यसमा मिति बाहेकका अन्य कुनै पनि जानकारी छैन । यसका साथै वेबसाइटको कुनै मेनुमा गएर पछाडि फर्कँदा राखिएको मेन मेनुको आइकन झट्ट हेर्दा देखिँदैन । खोज्नु पर्ने हुन्छ । अनि सामाजिक सञ्जालको आइकन राखिए पनि तिनले काम गर्दैनन् ।

त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतका वेबसाइटहरूमा समानता ल्याउन एउटै डिजाइन अपनाइरहेको छ  । यही अनुरूप आईओएसटीको नयाँ वेबसाइट बनाइएको हो । 

तर वेबसाइटमा राख्ने ग्राफिक्स/फोटो भने सम्बधित निकायले राख्ने गर्छन् । आईओएसटीका एक प्रतिनिधिले सङ्कायकै कर्मचारीले डिजाइन बनाउने गरेको र जस्तो भएपनि वेबसाइटमा अपलोड गर्ने गरेको बताए ।

सङ्कायले डिजाइनका लागि दक्ष जनशक्ति राख्न नसक्दा यस्तो समस्या देखिएको छ । विज्ञान प्रविधि पढाउने देशकै प्रमुख निकायको वेबसाइट हरिबिजोग देख्दा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।​

स्क्रिनशट राख्दै 'आस्क बडी' नामक फेसबुक ग्रुपमा एक प्रयोगकर्ताले 'नर्सरीको बुक जस्तो' भनेर आईओएसटीप्रति व्यङ्ग हानेका छन् । अर्का फेसबुक प्रयोगकर्ता अक्कल बिस्टले 'आईओएसटी जस्तो संस्थाको वेबसाइट यस्तो दीपावलीको बत्ती जस्तो धपक्क बलेको बनाएर के गर्न खोजेको' भनेर प्रश्न गरेका छन् । 

हाल संस्थान अन्तर्गत ४१ ओटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । देशभर कुल १२८ शैक्षिक संस्थाहरूले ती कार्यक्रम सञ्चालन गर्छन् । स्नातक तहमा मात्रै आईओएसटीका ३० हजार बढी विद्यार्थी छन् ।

सिमिलर वेबका अनुसार आईओएसटीको वेबसाइटमा मासिक २६ हजार बढी ट्राफिक आइरहेको छ । यसको अर्थ आईओएसटीको वेबसाइट धेरैका लागि महत्त्वपूर्ण छ । तर भद्दा डिजाइनले प्रयोगकर्तामा नकारात्मक भावना पैदा गराउने जानकारहरू बताउँछन् ।

यता आईओएसटी भने आफूसँग ग्राफिक्स डिजाइनर नभएको भन्दै पन्छिँदै आइरहेको छ । यतिसम्म कि यसअघि डिजाइनकै कारण बढी आलोचना हुँदा आईओएसटीले फेसबुक पेजमा कमेन्ट अफ गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ १६:९