काठमाडौं । अब मिडियाको रूपमा दर्ता नभएका फेसबुक पेज र युट्युब च्यानललाई समेत प्रेस काउन्सिलले निगरानीमा राख्ने भएको छ । मङ्गलवार सामाजिक सञ्जालको प्रयोगबारे विशेष अपिल जारी यस्ता पेजलाई निगरानीमा राख्ने जनाएको हो ।
पछिल्लो समय त्यस्ता पेजहरूबाट प्रचलित कानुनअनुसार दर्ता भई स्थापित भएका सञ्चारमाध्यमप्रति वितृष्णा फैलाउने काम भइरहेको काउन्सिलको भनाइ छ । त्यस्तै विज्ञापनका लागि अनावश्यक दबाब दिने, बार्गेनिङ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवं व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन/प्रसारण गर्ने गरेको पाइएको काउन्सिलले उल्लेख गरेको छ ।
यदि पेज र युट्युब च्यानल उपर उजुरी आए वा स्वअनुगमनबाट गल्ती देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही हुने बताइएको छ । यसका साथै अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो) मा पत्राचार गरिने काउन्सिलले जनाएको छ ।
काउन्सिलले युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालका पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको छ ।